(उदयपुर जिल्लाको गाईघाटमा स्थायी ठेगाना भई हाल होटल विनायक प्रा.लि. बर्दिवासको व्यवस्थापक रहेका सुजन आचार्य स्थानीय विद्यालयमा +२ मा समेत अध्यापन गराउनु हुन्छ । पछिल्लो समय बर्दिबासको कोरोना क्वारेन्टिनमा बसेकाहरुलाई निःशुल्क खाना खुवाएर होटल बिनायकले चर्चा कमाई रहेको छ । यसै सन्दर्भमा आचार्यसँग संवार्ताकार उद्धव अविचलले गर्नुभएको कुराकानीको सम्पादित अंश –प्रधान सम्पादक)
स्वागत छ यहाँलाई यो कुराकानीमा ।
धन्यवाद सर ।
तपाई त राम्रो चलेको होटलको म्यानेजर, के यो लकडाउनमा होटल व्यवसायीहरु फस्टाउन सक्लान् अब ?
अहिले विश्व नै यो कोरोनाको महामारीमा छ । यस्तो अवस्थामा निश्चय नै होटल तथा पर्यटन व्यवसायीलाई सहज अबस्थामा आउन कम्तीमा पनि एक वर्ष लाग्छ नै । त्यस पछिको समयमा पनि बाह्य पर्यटक आउन कठिन छ । अब हामी सबैले आन्तरिक पर्यटकको भर पर्नु पर्ने अवस्था छ ।
सरकारले पनि आन्तरिक पर्यटन प्रवद्धन गर्न ठोस नीति ल्याएन भने पर्यटन व्यवसायी नै धरासायी हुने अवस्था आउन सक्छ । तसर्थ, व्यवसायी पहिलेकै स्थितिमा फर्कन तत्काल गार्हो छ । कोरोना भाइरसको मेडिकल्ली ट्रिटमेन्ट हुने अवस्था आउँदा र फेरि पहिलेकै अवस्थामा देश फर्किने हो भने केही हुने सम्भावना छ ।
यतिबेला होटल विनायकले क्वारेन्टिनमा बसेकाहरुलाई निःशुल्क खाना खुवाइरहेको भन्ने कुरा आइरहेको छ, के त्यो सस्तो लोकप्रियताका लागि हो कि मानवीय धर्मका लागि ?
मानव जाति भनेको विवेकशील प्राणी हो । एउटा मानवलाई दुःख पर्दा अर्को मानवले सहयोग गर्नु हाम्रो मानवीय धर्म हो । अहिले यो जुन कोभिड १९ ले ल्याएको राष्ट्रिय संकट छ, यस्तो अवस्थामा सबै व्यक्तिलेहरुले आ–आफ्नो क्षेत्रबाट सकेको सहयोग गर्न जरुरी छ । हामीले पनि जे सक्याँै त्यो गरिरहेका छौ ।
तसर्थ, यो कार्य सस्तो लोकप्रियताको लागि हुँदै होइन । लोकप्रियताकै लागि हुन्थ्यो भने त अरु पनि समाहित हुन आइहाल्थे नि ? यसलाई विल्कुल मानव धर्म भनेर चिनाँै ।
जब अन्नपूर्ण पत्रिकामा प्रकाशित क्वारेन्टिनको फितलो व्यवस्थापन सम्बन्धी समाचार पढेपछि हाम्रो होटलका सञ्चालक विष्णुबहादुर खड्कालाई केही सहयोग गराँै भन्ने उर्जा आएछ, त्यस पछि यस बर्दिबास नगरपालिकासँग समन्वय गरेर हामीले स्वस्थकर खाना, खाजा, तथा संक्रमण नफैलियोस् भनेर प्रत्येक व्यक्तिलाई हिटिङ् जग, जारको पानी लगायत आवश्यक सामग्रीको व्यवस्था गरेका छौ । यसलाई सबैले मानव धर्मको रूपमा बुझ्दा राम्रो हुन्छ होला ।
तपाईं होटल म्यानेजमेन्टको शिक्षक भइरहँदा के लाग्छ, यो महामारी पछि होटल व्यवसाय पूर्ववत् अवस्थामा फर्केलान ? या आफू केही नयाँ पेशा अंगाल्नु हुन्छ ?
मेरो प्रोफेसनल्ली पनि मैले के अनुमान गरेको छु भने अबका दीक्षित विद्यार्थीलाई रोजगारको कम अवसर हुन सक्छ । जो हाम्रा हजारौँको संख्यामा विदेशमा रहेका दक्ष जनशक्ति आफ्नै मूलूकमा फर्कन सक्छन् । विश्व बजार नै कोभिड १९ को कारण पुरानो अवस्थामा फर्कन अझ एक वर्ष कम्तीमा पनि लाग्न सक्छ ।
लकडाउन खुलेपछि पनि सचेत नागरिकहरु निश्चित कामको लागि मात्रै घरबाहिर निस्कन्छन् । यस्तो अवस्थामा व्यवसाय माथि ठूलो असर पर्नेछ । झन् नेपालको सन्दर्भमा भन्ने हो भने त, भिजिट नेपाल २०२० लाई लक्षित गरी खुलेका ठूला लगानीका होटलहरुको अवस्था दयनीय छ । यिनीहरुलाई तङ्ग्रिन धेरै समय लाग्न सक्छ । कति त पलायन हुने अवस्थामा छन् । जो स्थापित पुराना होटलहरु छन् ।
तिनीहरुले पनि वैकल्पिक व्यवसाय अंगाल्न सक्छन् । केही होटलहरु सहज समय आए पश्चात पुरानै स्थितिमा फर्कन सक्छन् । हामी पनि सहज वातावरणको पर्खाइमा छौ ।
यस्तो अवस्थामा सरकारबाट के आशा गर्नुहुन्छ ?
अहिले सरकार आफैँ अलमलमा छ । कहिले पनि कसैले नसोचेको संक्रमण जसले सबै क्षेत्रलाई एकैपटक लकडाउनमा पुर्यायो । यो विषम् अवस्थामा सरकार पनि थोरै अत्तालिएको जस्तो अनुमान लगाउन सकिन्छ । यो सबैले धैर्य गर्ने समय हो ।
सरकारले पनि अब व्यवसायीमैत्री प्याकेजको घोषणा गर्नुपर्छ । आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्नु पर्छ । त्यो भन्दा महत्वपूर्ण कुरा धेरै होटलहरूले आफ्नो व्यवसायीलाई व्यवस्थित बनाउन बैँकको ऋण लिएका छन् । यो कुरालाई सरकारले मध्यनजर गर्दै, होटल तथा पर्यटन व्यवसायी पलायन नहुने खालको वातावरण सिर्जना गरिदिनु पर्छ ।
यो सघन अवस्थामा आफ्नो होटलको व्यवस्थापनको पक्षलाई कसरी लैजाँदै हुनुहुन्छ ?
मैले अगाडि पनि भनिसकेको छु, अहिलेको अवस्था सामान्य अवस्था नै छैन । करोडौँ लगानी गरेर खुलेका होटलहरु टाट पल्टिने अवस्थामा छन् । तपार्इं आफैँ अनुमान लगाउनुस् कि, जसले भ्रमण वर्षको आगमनलाई लक्षित गरेर बैङ्कसङ्ग करोडौँ ऋण लिएर होटल खोल्ने तयारी गर्यो, उसले आफ्नो होटल राम्रोसँग ओपनिङ् गर्न समेत पाएन । अब उसको क्षतिको मूल्याङकन गर्नुस् ।
अवस्था वास्तवमा नै भयावह छ ।
अब कुरा आयो हाम्रो होटलको व्यवस्थापनको ।
हाम्रो होटल बर्दिबासको स्थापित होटलहरु मध्येमा पर्छ । यसको मतलब हामीलाई केही असर छैन भन्ने हैन । अन्य संघर्षरत होटलभन्दा हामी केही बढी समस्यासँग जुध्न सक्छाँै मात्र भन्न खोजेको हो । यो अवस्थामा हामीले होटल व्यवस्थापन भन्दा पनि कसरी मानवीय धर्म निर्वाह गर्न सकिन्छ भनेर सेवामूलक कार्यमा बढी ध्यान केन्द्रित गरेका छौँ ।
अब हेरौ अवस्था कुन मोडमा पुग्छ । हामीले हाम्रा ग्राहकको चाहना बमोजिम होटलको व्यवस्थापन गर्ने हो । अहिले त हामी पुरै एकान्तवासमा छौँ । अब यस पछिको माहौल अनुसार हामी व्यवस्थापन गर्ने छौँ । होटल विनायक जहिले पनि आम नागरिकमैत्री व्यवस्थापनमा चुक्ने छैन ।
हवस् यहाँको महत्वपूर्ण समय र संवाद्का लागि धन्यावाद् !
यहाँलाई पनि विशेष धन्यवाद् ।