(देशले लकडाउनको झमेला झेलिरहँदा केही सर्जकहरु सिर्जनात्मक सुकार्यमा व्यस्त छन् । कतै विभिन्न खालका चेतना अभिवृद्धि गर्ने अभियानहरु पनि चलाइएको छ । यसै गरी महोत्तरीको बर्दिबासमा पनि अहिले छन्द चौतारी नामक अभियान चलाएर छन्द कविताको महत्वलाई आम सर्जक माझ पुर्याउने गरिएको छ । यो अभियानको दीर्घकालिन उदेश्य के हो त ? अभियानका संयोजक प्रेम घिमिरेसँग संवार्ताकार उद्धव अविचलले गर्नु भएको संवादको संम्पादित अंश –प्रधान सम्पादक )
‘छन्द चौतारी’ अभियानको संयोजक हुनुहुन्छ तपार्इँ, यस अभियानको विषयमा पूर्ण रुपमा बताइदिनु होस् ?
सर्वप्रथम त म तपाई र जनता भ्वाइसप्रति कृतज्ञता व्यक्त गर्न चाहन्छु । हामीले यस अभियान भर्खर मात्र सुरु गरेका छौँ । सुरुमा ३ जनाबाट यो अभियान सुरु गरेका हौँ । हामीले सोच्यौँ, देश अहिले लकडाउनमा छ । यो अवस्थामा सबै घर भित्रै बस्नु पर्ने वाध्यतात्मक अवस्थामा हामीले पनि केही सिर्जनशील काम गर्न सक्छौँ भनेर छन्द चौतारी अभियान चलाउन थालेका हौँ । यो बीचमा नेपाली छन्दका धेरै कविता पढ्ने र सुन्ने मौका पनि पाइयो । हामीले सोच्यौँ, अहिले छन्द कविताको माहोल अलि पछाडि धकेलिएको छ । काठमाडांै जस्तो सम्पन्न सहरमा पनि आदरणीय अग्रजहरुले कोठे कवि गोष्ठीबाट छन्द कविताको श्रीवृद्धिमा उल्लेख्य भूमिका निर्वाह गरिरहनु भएको छ । यो यथार्थले हामीलाई झन् उर्जा मिल्यो अनि सोचियो, मोफसलमा किन छन्दको संरक्षण र विस्तारमा काम नगर्ने ? अन्तमा एउटा अभियान नै चलाउने निष्कर्षमा पुग्याँै र अभियानको न्वारन पनि गर्यौं ‘बर्दिबास छन्द चौतारी’ भनेर ।
राष्ट्रियता र सामाजिक परिवर्तनको मूल ध्येयराखि छन्द कवितालाई त्यसको माध्यमबाट अझ शसक्त बनाउन सकियोस् भन्ने यथार्थलाई आत्मसाथ गर्दै यस अभियानको थालनी भएको हो । हामी लैङ्गिक, धार्मिक, आर्थिक र राजनैतिक कुनै पाटोलाई पनि भेदभाव गर्दैनाँै । विशुद्ध छन्द अनुरागीहरुलाई एउटै आगनमा ल्याएर नेपाली कविताको क्षेत्रमा छन्दको मिठासलाई सर्वत्र छर्नकै लागि यो छन्द चौतारीलाई अझ बलियो बनाउने अभियानमा छौं हामी ।
वर्तमान अवस्थाको एकान्तबासमा सर्जकहरुलाई छन्द सिर्जनामा त फाइदा भएको होला हैन ?
मैले अघिनै भनिसकेँ, यो लकडाउन सर्जकहरूको लागि एउटा ठूलो अवसर हो । जो सामान्य मानिस हुनुहुन्थ्यो यो बन्दले उहाँहरु कवि हुनु भएको छ । जो गद्य कवि हुनुहुन्थ्यो, उहाँहरु छन्द कवि हुने मौका जुरेको छ यो बेला । त्यसको अलवा बास्नाको खोजीमा हिँड्नु भएका सर्जकहरुलाई बिना चिनाउने काम छन्द चौतारीले गरिरहेको छ । रात पछि दिन आउँछ भनेर कोही सर्जकले पनि रात लम्बियो भनेर सुतिरहन मिल्दैन टुकी बालेर भएपनि अंध्यारोमा चम्किने सत्कर्म गर्नुपर्छ । हुन त यो एकान्तबास दुनियाँमा कसको लागि चाहीँ सुखद् हुन सक्ला र ? तथापि यो बाध्यात्मक विषम परिस्थितिलाई सर्जकहरुले सकारात्मक सिर्जनाको लागि प्रयोग गर्ने समय बनाउनु पर्छ भन्दा अत्युक्ति नहोला ।
तपाईहरु छन्द र छन्द भन्दै हिँड्नु हुन्छ, यसको मतलब गैर छन्दमा सिर्जित कविता चाहिँ कविता नै हैनन् ?
हाम्रो विचार विल्कुल त्यस्तो हैन । हामी सिङ्गो साहित्यलाई माया गर्छौँ । चाहे त्यो गद्य होस् या पद्य तर हाम्रो अभियान भनेको पद्य कविताको संरक्षण र संवर्धन गर्नु हो । यसको मतलव गद्यलाई विस्थापित गर्ने भन्ने हैन । तपाईले पनि देख्नु भएको पछिल्लो समय नेपाली कविताको क्षेत्रमा गद्य कविताको त बाढी नै आएको छ । यसमा हामी पनि खुसी नै छौँ । तथापि हाम्री आमाहरु गाउँमा ढिकी जाँतो गर्दा कति मिठा श्लोकहरु भन्नु हुन्थ्यो ती सबै छन्दमा हुन्थे । एकदुइ पल्ट अरुले भनेको सुन्दै उहाँहरुलाई याद् हुन्थ्यो । चिरस्मरणीय हुन्थ्यो तर गद्यलाई त्यसैगरी याद गर्न सकिन्न । हाम्रा पुर्खाहरुले गरेको धेरै कामलाई हामी वैज्ञानिक रुपमा पनि सफल मान्छाँै । हाम्रा प्रायः सबै धर्मशास्त्र छन्दमा लेखिएका छन् । तसर्थ हामीले धार्मिक र सांस्कृतिक महत्व बोकेको छन्दको संरक्षण गर्नु आफ्नो कर्तव्य ठानेका छौँ । हामी छन्द कविताको माध्यमबाट नेपाली कविता क्षेत्रको फूलबारीलाई मलजल गर्न चाहान्छाँै ।
पछिल्लो समय स्वछन्दतावादी धारका कविताले युवा पुस्ताको मन जितिरहँदा तपाईहरुको यो छन्द चौतारी सस्तो लोकप्रियता त हैन ?
धेरै कुराहरु मैले भनिसकेको छु । नेपालीमा एउटा उखान छ, ‘अति भयो भने खती हुन्छ ।’ साहित्यमा स्वछन्दता र शासकमा स्वतन्त्रता अति भयो भने अराजकता बढ्छ । राज्यसत्ता कै कुरा गर्नुस् बढी स्वतन्त्रताको कारण हिजोका सडकधारी आज सत्तामा छन् । हिजाका सत्ताधारी आज सडकमा छन् । हिजो स्वतन्त्रताको लडाइँ भयो आज यसकै दुरुपयोग भइरहेकोछ । तसर्थ यो स्वछन्दता पनि सीमित हुनुपर्छ भन्ने हाम्रो ठहर हो । जसकारणले साहित्यमा विकृति नबढोस् । लोकप्रियताको कुरा गर्ने हो भने छन्द आफैमा लोकप्रिय छ । मानिसको ढुकढुकी समेत छन्दमा चलेको छ । तसर्थ छन्दवादमा जीवन्त लोकप्रियता पाइन्छ । हामी हिजाका छन्दकविहरुको स्मरण गरिरहन्छौँ । राज्यले पनि उहाँहरुलाई सम्मान गरेको पाइन्छ । उसो भा यो सबै लोकप्रियता हो त ? तसर्थ छन्द कविताको सम्मान गर्नु सस्तो लोकप्रियता हुनै सक्दैन ।
लेखकहरु पनि पार्टीका कार्यकर्ता भएका छन् नेपालको सन्दर्भमा, लेखक त स्वतन्त्र हुनु पर्ने हैन ?
म सचेत नागरिक भएको नाताले कुनै पार्टीलाई भोट दिन्छु । आवश्यकता अनुसार राजनैतिक बहस गर्न पनि तयार छु । यसो भनिरहँदा झोलामा पार्टीको पर्चा बोकेर साहित्य सिर्जना गर्नुपर्छ भन्ने लाग्दैन । अब क्रान्तिको युग सकियो भने पनि हुन्छ । विकास र संवृद्धिको युग आएको छ । जनता शान्ति र अमन चैन चाहन्छन् । सर्जकले आफ्ना सिर्जना मार्फत् जनतको आवाज र भावनालाई ओकल्नु पर्छ । खराब राजनीति प्रथाको भण्डाफोर गर्नु पर्छ । मैले पनि देखेको छु, सर्जकहरुको पनि संगठन छ । यो हुनै हुदैँन भन्ने पनि हैन तर हाम्रो छन्द चौतारी चाहिँ कुनै पनि पार्टीको गुट् नभएर सबै विचार र आस्था बोक्ने छन्द प्रेमीहरुको साझा चौतारी हो ।
अन्त्यमा, हामीले नसोधेको तर यहाले भन्नै पर्ने केही कुरा थियो कि ?
अन्त्यमा यो छन्द चौतारी सबै खालका सर्जकहरुलाई बराबर शितलता दिने छाहारी हो । यहाँ कसैलाई काखा र कसैलाई पाखाको व्यवहार गरिन्न । हामी पनि छन्द सिक्दै छौँ । यहाँ सिक्ने सिकाउने काम गरिन्छ । तपार्इं सबै साहित्यनुरागी मित्रहरुलाई हामी हाम्रो चौतारीमा आमन्त्रण गर्न चाहान्छौँ । आउनुहोस्, तपाईं हामी सबै मिलेर यो चौतारीमा छन्दको ठूलो मन्दिर बनाउा । भोलिको पुस्ताले यस मन्दिरमा आएर पूजा गर्न सकुन् ।