दिवा खाजा कार्यक्रमले बालबालिकाको पढाइप्रति आकर्षण

बीरगंज , वैशाख ५ गते : पाँच वर्षीया चन्द्रज्योतिकुमारी रामको दैनिकी बाख्रा चराउन, घाँस दाउरा तथा मेलापात गर्नेमा बितिन्थ्यो । तर विद्यालयमा दिवा खाजा कार्यक्रम लागू भएपछि पढाइतर्फ उनको आकर्षण बढेर गयो ।

अन्य विद्यार्थी जस्तै राम पनि छिपहरमाई गाउँपालिका–१ मिर्जापुरमा रहेको श्री देवी स्थान नेपाल राष्ट्रिय प्राथमिक विद्यालय बगमरीमा कक्षा १ मा भर्ना हुन पुगिन् ।

सङ्घीय सरकारले आव २०७५÷७६ देखि प्राथमिक विद्यालयमा शिशु कक्षादेखि ५ कक्षासम्मका बालबालिकालाई विद्यालयतर्फ आकर्षित गर्न दिवा खाजा कार्यक्रम लागू गरेपछि पर्सा जिल्लामा विद्यालय जाने बालबालिकाको सङ्ख्या बढ्दै गएको छ ।

विशेषगरी विद्यालयबाहिर रहेका बालबालिकालाई आकर्षण गर्न सङ्घीय सरकारले यो कार्यक्रम लागू गरेपछि चन्द्रज्योतिकुमारी राम मात्र होइन, दीपकलाकुमारी सुरही पनि घरको दैनिकी काम छाडेर विद्यालय भर्ना भएकी छिन् । प्रधानाध्यापक कपिलेश्वर उपाध्यायले राससलाई भन्नुभयो, “सरकारले यो कार्यक्रम लागू गरेपछि बालवालिकाको सङ्ख्या ह्वातै बढेको छ, यसले कक्षा कोठाको अभावसमेत भएको छ ।”