प्रविधिमैत्री विद्यालय घोषणा

घोराही उपमहानगरपालिका–२ स्थित गङ्गा माध्यमिक विद्यालय, रामपुरलाई प्रविधि मैत्री विद्यालय घोषणा गरिएको छ । अब उक्त विद्यालयमा कम्प्युटरका माध्यमबाट स्मार्ट बोर्ड प्रयोग गरी पठनपाठन गरिनेछ ।

नेपाल सरकारले प्रत्येक प्रदेशका एक÷एक विद्यालयलाई प्रविधि मैत्री बनाउने नीतिअनुरुप प्रदेश ५ मा उक्त विद्यालयलाई प्रविधि मैत्री स्मार्ट विद्यालय बनाइएको हो । प्रदेश सरकारको सिफारिसमा नेपाल टेलिकमले उपलब्ध गराएका सबै सामग्री विद्यालयमा जडान गरिएको छ । विद्यालयमा ६० थान कम्प्युटर, १६ थान सीसी क्यामरा, १२ थान स्मार्ट बोर्ड, १४ थान मल्टिमिडिया प्रोजेक्टरलगायत सामग्री जडान गरिएको छ ।

“सबै सामग्री कक्षा कोठामा जडान गरिएको छ”, विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष जगतप्रसाद चौधरीले भन्नुभयो । घोराही उप–महानगरपालिकाका प्रमुख नरुलाल चौधरीले प्रविधि मैत्री शिक्षण सिकाइले सहयोग पुग्ने बताउनुभयो । नेपाल टेलिकमका वरिष्ठ लेखा अधिकृत केशवराज देवकोटाले प्रविधिबारे जानकारी दिन विद्यालयका शिक्षकलाई तालीम प्रदान गरिएको बताउनुभयो ।