पानी माग्नको लागि एक लाख पीपलको पातमा राम राम लेखेर सुनकोशीमा बगाइयो

रामेछाप,असार २२,

असारको अन्तिम समयसम्म पनि पानी नपरेर हाहाकार भएपछि काभ्रेको तेमाल गाउँपालिका-१, सर्स्यूँखर्कका किसानहरुले पानी माग्दै पीपलको एक लाख पातमा राम राम लेखेर सुनकोशी नदीमा बगाएका छन् ।

पानीको हाहाकार भएपछि किसानहरुले ‘हर हर महादेव पानी देउ देउ’ भन्दै सुनकोशी किनारा पुगेर पीपलको एक लाखवटा पातमा राम राम लेखेर सुनकोशी नदीमा बगाएका हुन् ।
उनीहरुले कोशी किनारामा पुगेर पीपलको पात बगाउँदै रुद्री पूजा र क्षमा पूजा पनि गरेका छन् ।
पानी नपरेर खेतबारी बाँझै राख्नु परेको र पिउने पानीसमेतको हाहाकार भएपछि पानी माग्दै रुद्री र क्षमा पूजा गरेको स्थानीय विष्णुहरी बडालले जानकारी दिए ।
नगदेबालीबाट पनि राम्रै आम्दानी हुने सर्स्यूँखर्कमा अझै पानी नपरे खेतबारी बाँझै बस्ने र कृषकहरुलाई मर्का पर्ने स्थानीयको भनाइ छ ।