विषादी परीक्षण स्थगितबारे संसदमा जवाफ दिन मन्त्रीलाई रुलिङ

रामेछाप,असार,२२

प्रतिनिधिसभाले भारत तथा तेस्रो मुलुकबाट आयात हुने तरकारी तथा फलफुलको विषादी परीक्षणको निर्णय स्थगित गर्नुको कारण जानकारी गराउन रुलिङ गरेको छ । आइतबारको संसद बैठकको सुरुमै नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले समय लिएर बोल्दै विषादी परीक्षणबाट पछि हट्नुको कारण माग सरकार संग माग गरेपछि सभामुख कृष्णबहादुर महराले सम्बन्धित मन्त्रीलाई यसबारे जवाफ दिन रुलिङ गरेका हुन् ।
खाँडले विषादी परीक्षण गर्ने निर्णयबाट पछि हटेर सरकारले घुँडा टेकेको र लम्पसारवादी नीति लिएको आरोप लगाएका थिए ।
त्यस्तै सभामुख महराले सर्लाहीको ईश्वरपुर नगरपालिकामा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको विषयमा जवाफ दिन पनि गृहमन्त्रीलाई निर्देशन दिएका छन् । नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीले उक्त घटनाको विरोध गर्दै गृहमन्त्रीले जवाफ दिनुपर्ने बताएपछि सभामुखले त्यस विषयमा पनि जवाफ दिन सरकारलाई रुलिङ गरेका हुन् ।