‘छुटेको जुत्ता’ भित्रका पाइनदार कविताहरू

समालोचना – पेशल आचार्य


१.पृष्ठभूमि ः
संसारका सबै मानिसमा भावना हुन्छ । भावनाका हिसाबले कबोल्ने हो भने सांसारिक मानिसहरू सबै कवि हुन् तर फरक छ आफ्ना भावनालाई कलात्मक रूप दिने कामचाहिँ कविले मात्र गर्छ । शब्दलाई कुँदेर, खिपेर, काटेर, मोरेर, साँघु¥याएर अनि खुकुल्याएर एउटा असल कविले कविताको विम्ब रचना गर्छ । सोही विम्बबाट उसले प्रकारान्तरमा कविता सिर्जना गर्छ । कविता लेखनलाई आमाले सन्तान जन्माएको प्रसङ्गसँग सहजै तुलना गर्न सकिन्छ । अन्य मानिसहरू केवल गुन्गुनाउँछन् तर कविलाई शब्द कोरल्दा प्रशव पीडाको दारुण अनुभूति हुन्छ । शब्दका शिखाहरूलाई कसिलो बन्धनमा बाँधेर लोकहितार्थ कविले अनेकन प्रयासका बाबजुद् एउटा निख्खर र चखिलो कविता सिर्जना गर्छ । सरल भाषामा बेजोड कविता निखन्न जोकोही कविलाई हम्मेहम्मे परिरहेको हुन्छ । तर एउटा जन्मजात कविलाई आफ्ना पारिवेशिक क्षणपलका घटनाले अनेक सन्दर्भमा कविताको जन्म गराउँदछ ।
फलतः संसारमा कविताको यतिविधि व्यतिरेकी विश्लेषण गरिएको छ । सभ्यतालाई नमन गर्ने पहिलो कार्य नै कविता हो । संस्कृतिको संवाहक पनि कविता हो र हो कविता जनजीवनको असमेल धुकधुकी र मुच्र्छना । कविता लेखन जब कुनै कविलाई लत बनेर दिमागमा बस्दैन तबसम्म उसले कुनै कालजयी कविताको अविर्भाव गर्नै सक्दैन । माहिर र सार्वकालिक कविताका सर्जकहरू यो भनाइमा पूर्णरूपेण सहमत छन् ।
यहाँनेर कविताको अन्य वाङ्मयिक विधोपविधामा अभिभावकत्वको भूमिका रहेको देखिन्छ । डोहो¥याएको छ –कविताले अन्य असमेल भावका विषयातिरेकहरूलाई । विश्व कविता र केही कालजयी नेपाली कविताहरूको पठन र मननबाट यो अभिमतमा स्वीकारोक्ति गर्न सकिने स्थिति बनेको छ ।
व्यशन नै कविता कर्म बनेपछि कविता लेख्नु सरल छ । सहज छ । जिम्मेवारी बोधका पहाडले थिचेजस्तो हुन्छ । लेखे पछि केही हलुङ्गो हुने गर्छ । कवितामा रमाएका केही प्रतिनिधि कविहरूको सामूहिक स्वीकारोक्ति हो –यो । सामुद्रिक यात्रा तय गरेझैँ हो –कविता लेखनवृत्ति । नसकिने । नरोकिने । जसको कुनै न आदि छ न अन्त्य नै । सामवेश्य भाव निखन्नका लागि अहोरात्र एउटा कवि चिर नूतन सत्यका पछि लागिरहन्छ –जीवनभर ।
त्यसैले त भनिन्छ –वर्तमान समय कवि र कविता लेखनका लागि जोखिमयुक्त छ । गजबारहरू तेर्सिएका छन् –जीवन भोगाइमा । रोकटोकहरू अविछिन्न झुल्किरहन्छन् –व्यवहारमा । तैपनि अनेक विषयतिरेक भाव र भङ्गिमामा कविहरू जोखिम मोलेरै विविध हाँच र प्रकारका कविता रचना गरिहेछन् । श्रुतिस्मृति परम्पराको अट्टालिकालाई केलाएर हेर्दा पौरस्त्य सभ्यतामा आदिकवि ब्रह्मा र आदिकविता भनेर वेदलाई मानिन्छ । त्यहाँदेखि यहाँसम्मका डिमार्केसनहरू कोर्ने हो भने अनेक नाम र उपनाममा लाखौं कविताहरू लेखिएका छन् । संसारको त्यस्तो कुनै भाषा छैन जसमा कविता कर्म नगरिएको होस् । इतिहासले कालजयी र सार्वकालिक कविताहरूलाई नै युगका पानाहरूमा सुरक्षित तवरले राख्न सकेको छ । सबैका कविताहरू राम्रैराम्रा र सबैका कविताहरू नराम्रै नराम्रा पनि छैनन् । औशतमा एउटा कविले जीवनभर कविता लेखिरह्यो भने केही थान कालजयी कविता लेख्न सक्छ । जीव्रामा चुस्स अडिने खालका कविताहरूका कवि सधैँ जनमानसमा प्रिय रहिरहन्छन् ।
हिजोको समय सुन्ने कविताको थियो । घुमीफिरी आज फेरि सुन्ने कविताको पुनरावृत्ति भैसकेको छ । कविताको इतिहासले यो कुरा कबोलेको छ । देखाएको छ ।
‘शब्द पीडा र शब्द क्रीडा नै कविता हो’ चार दसकदेखि कवितामा पूर्णकालीन रुपमा लागेर शब्दक्रीडामा निमग्न वरिष्ठ कवि महेश प्रसाईं भन्छन् । नेपाली गद्य कविताका शिखरपुरुष कवि भूपी शेरचनले उनको बहुचर्चित कवितासङ्ग्रह ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ मा रचित एउटा लघु कवितामा भनेका रहेछन् –
‘जून, तिमी रून्छौं
तिम्रो आँसु गीत बन्छ ।
तर म रून्छु
मेरो आँसु गीत बन्छ ।’
कविता सनातन संस्कृति अनि समाजको प्रतिछायाँ हो । काल चेतनाको संवाहक हो । कविताले समयलाई लेख्न सक्यो भने कवितासँगै एउटा कवि अजरामर बन्छ । ब्राण्ड बन्छ कवि पनि जसरी लेखनाथ, देवकोटा र सम नेपाली कवितामा ब्राण्डनेम बनिसकेका छन् । विश्व कवितायात्राका वेद, पुराण, उपनिषद्, श्रीमद्भागवत् गीता, रामायण र महाभारत अजेय र उपजीव्य कविताका सोदाहरण हुन् ।
२.विषयप्रवेश ः
चालीसको दसकदेखि विद्यालयीय शिक्षा लिँदै गर्दा कविता कर्ममा लहसिएका कवि भोजराज न्यौपाने पचास र साठीको दसकमा उम्दा गद्य कविता लेख्ने युवा कवि हुन् । त्यसो त उनका रचनाहरू विभिन्न पत्रिकाहरूमा बेलाबेलामा पढ्न पाइन्छन् । २०७१ साल भदौमा पहिलो संस्करणका रूपमा आएको ‘छुटेको जुत्ता’ एकसय पृष्ठमा छापिएको सानो कलेबरमा रमाएको कवितासंग्रह हो । जसमा लामाछोटा गरी ३७ वटा कविताहरू समेटिएका छन् ।
जन्मदातृ आमालाई ‘समर्पण’ गरिएको सद्यपठित कवितासंग्रहमा नेपाली कविताका ब्रेख्त मानिएका कवि श्यामलको बेजोड भूमिका रहेको छ । कवि श्यामल ओजपूर्ण भावमा कवि न्यौपानेका बारेमा भन्छन् –‘भोजराज नेपाली कवितामा साधनारत मझ्यौलो पिँढीका प्रतिनिधि त हुन् नै, लोकतन्त्रका परिचित पहरेदार पनि हुन् ।’ श्यामल अघि लेख्छन् –‘आधुनिक नेपाली आख्यानको पहिलो पुस्ताका प्रतिभा र नेपाली प्रजातान्त्रिक आन्दोलनका सदावहार नायक मानिएका विश्वेश्वरप्रसाद कोइरालाप्रति उनमा अगाध श्रद्धा छ । र, उनी त्यस नामलाई भजिखाने चेक बनाउने होइन, निष्ठा भावले लिन्छन् ।’
कवि भोजराज ससाना विषयवस्तुमा पनि कविता लेपन गर्न सिपालु कवि हुन् । कविको यसै सीपबाट अभिप्रेरित भएर भूमिकाकारका रूपमा दरिएका कवि श्यामल अझै अघि भन्छन् –‘विवेकको रचनात्मक प्रयोगले एकजना मानिसलाई अरू करोडौं मानिससँग जोड्छ । अनि, अविवेकी उन्मादले त्यस रसायनलाई भत्काउँछ ।’ यसो भन्नुको तात्पर्य के हो त्यो कवि भोजराजका कविताहरूको गम्भीर पठनबाट मात्रै पत्तो पाइन्छ । एकै बसाइमा उनका कविताहरू खार्न र निखार्न सकिँदो रहेनछ । मझ्यौलो आकारको कृति भएकाले त्यसो गर्न सकिन्छ कि भनेर प्रयास गर्दा हात लाग्यो सून्य हुन्छ । दोस्रो र तेस्रो पटकको पठनमा कविताहरू अन्डरलाइन गर्न मन लाग्ने खालका छन् । ती धेरै स्थानमा लाइनर कविता लेख्न सफल पनि छन् ।
कविताबाटै एउटा कवि अर्को कविको कविताबाट औधी प्रभावित हुन्छ । कहिलेकाहीँ गोष्ठीमा वाचित कविताहरू भन्दा कुनै प्रिय र उम्दो कविको कविता काव्य पढ्दा पउल मज्जा लाग्छ । कवि श्यामल अझै यसो भन्न रूचाउँछन् –‘कविताको भाषा खँदिलो हुन्छ, खुकुलो हुँदैन । कवितामा भाव सघनता हुन्छ, जटिल गुम्फन हुँदैन । थोरै शब्दमा धेरै भन्न सक्नु कविताको अहम् कलाकारिता हो ।’ यही कुरालाई कवि भोजराजकी दिदीले स्कुले जीवनमै भनेकी रहिछन् । सो कुरालाई उनले ‘आफ्नै लय’ शीर्षकमा लेखकीय अभिमतमा राखेका छन् । उनकी दिदीले भनेकी छिन् –‘यसको कविता धोइयो । अब सधैँ राम्रो लेख्छ ।’ गर्ने भन्दा गराउने ठूलो हो । भानुभक्तलाई घाँसीले नहौस्याएका भए उनी नेपाली कविताका भानु हुने थिएनन् । यहाँनेर भोजराजकी दिदी जसले कविता कर्मलाई चिनेरै आफ्नो भावुक भाइलाई हौस्याउने काम गरिन् । ‘लाखौं माइलको यात्रा एक पाइलाबाट शुरू हुन्छ’ भनेझैँ उनी अविराम कवितामै लागेका रहेछन् । कवितात्मक रूपले शब्दखेतीमा समर्पित भावले ।
श्यामलले भनेको एक वाक्यको लिडले मलाई कवितासंग्रहभित्र विचरण गर्न गाइड गरिरह्यो –‘कवितामा सरलता, सरलतामा सुन्दरता कवि न्यौपानेको मान्यता हो ।’ प्रत्येक कविताहरू केही न कही नयाँ विम्ब र प्रतीकमा रमाएका छन् ।
३.कवितागत् संलिष्ठ विषयवस्तुहरू ः
पहिलो पटकको सतही पठनले मात्र एउटा कविको सार्विक अध्ययन गर्नु र कविताहरूमा रेखी हाल्नु दुरूह कार्य हो । उनका संकलित ३७ वटै कविताहरूलाई लिएर गम्भीर अध्ययन गर्दा अध्ययन सरलताका लागि कवितालाई यहाँ पाँच विषयवस्तुगत प्लटमा राखेर अध्ययन गर्न सकिन्छ । जसले उनको लेखनीगत धर्म र कविताका पोष्टमार्टम नै सरल बन्न पुग्छन् ।
क) २०६२ २०६३ को क्रान्तिकालीन कविताहरू ः
यस शीर्षकअन्तर्गत ‘आमाको विपना’, ‘फूलहरू’, ‘लाटी विश्वकर्मा’, ‘बाबु’, ‘केही साना सपनाहरू’ (५पृष्ठमा रचित कविता) र ‘युद्धको छायाँ’ जस्ता कविताहरू पर्दछन् । यी सबैजसो कविताहरूले क्रान्तिलाई वैविध्य प्रकारले नियाल्ने काम गरेका छन् । कविले एउटा इतिहासकारले भन्दा बेगल कोणबाट क्रान्तिलाई हेरेर मूल्याङ्कन गरेको हुन्छ । उसको हेराइमा सतहमा जीवन जिउने मानिसको कोण नै आधिक्य रहने गर्छ । भोजराजका कवितामा पनि सो धर्म निर्वाह गरिएको छ ।
ख) घटनाप्रधान कविताहरू ः
यसअन्तर्गत माथि उल्लेखित ‘लाटी विश्वकर्मा’ (पृष्ठ२०–२१), ‘युद्धको छायाँ’ (स्थानीय र राष्ट्रिय घटना –पृष्ठ २९–३०), ‘कपिलवस्तुकी अमृता’ (कपिलवस्तुको नरसंहार सम्बन्धी समाचार पढेपछि लेखिएको कविता–पृष्ठ ३५) आदि कविताहरू पर्दछन् । यी कविताले देशीय राजनीतिक इतिहासलाई लेखोटका रूपमा समेट्ने काम गरेका छन् ।
ग) व्यक्तित्वको सम्झनामा रचित कविताहरू ः
‘एउटा यस्तो धरहरा’ (वीपी कोइराइलाको सम्झनामा रचित कविता, पृष्ठ ४९–५०) संग्रहभित्रको एउटा मात्र त्यस्तो कविता हो जसले नेपाली प्रजातान्त्रिक आन्दोलनका धरोहर विश्वेश्वरप्रसाद कोइरालाका बारेमा आफ्नो आस्था र श्रद्धा व्यक्त गर्ने जमर्को गरिएको छ । सुबोध्य भाव र प्रतीकका माध्यमले कविता बोधगम्य र भावपरक जँच्दछ ।
घ) उच्च संवेदनायुक्त कविता ः
‘नाक’ कविता यो संग्रहकै बेजोड कविता हो । जसमा देश विभाजन गर्नेहरूका विरुद्ध शाब्दिक रूपले धावा बोलिएको छ । देश भनेको भावना हो न कि शारीरिक अवयव भन्ने भावले ओतप्रोत यो कविताले नेपालको भावी कलह र अशान्तिको समेत पूर्वानुमान गरेको छ । हिजो र आजका शासकमा आकास जमिनको पृथक् हुँदै गएको स्थितिलाई कविताले पर्गेलेको छ । शासक हिजो शासक भूमिकामा थिए । जसमा कोही उच्च महिमायुक्त शासकका रूपमा समेत विराजमान थिए भने धेरैजसो शोषकका पर्यायका रूपमा थिए । ती जो हिजो शोषकका आवरणमा थिए तिनैका नयाँ कलेवरका रूपमा आजका जातीय विद्वेष फैल्याउने शासकहरू हुन् भन्ने कविको भाव रहेको छ ।
ङ) प्रकल्पनामा आधारित कविताहरू ः
यी प्लटमा संग्रहका धेरै कविताहरूलाई रेखाङ्कन गर्न सकिन्छ । आशीर्वाद (पृष्ठ ६–७) कवितामा कवि न्यौपाने भन्छन् –
‘बाबु, मान्छेको अनुहार लिएर जन्मँदैमा
कोही मान्छे हुँदैन
यो जन्ममा यस्तै भैहाल्यो
अर्को जन्ममा मेरा सन्तान मान्छे नहोऊन
मान्छेले पुर्खाको अंश खोज्छ
र, पुर्खालाई नै घृणा गर्छ ।’ (रचना २०६० साल)
कवि श्यामलले यही कवितांशलाई मध्यनजर गरेर भनेको हुनुपर्छ –‘कवितामा सरलता, सरलतामा सुन्दरता कवि न्यौपानेको मान्यता हो ।’
त्यसैगरी मानिसको स्वतन्त्रताप्रेमी जन्मजात स्वभावको व्यवहारमा प्रतिगामी चालको अवस्थालाई मूल्याङ्कन गर्दै कवि अर्को कवितामा सशक्त पाराले भन्छन् –
‘मान्छे नदी जस्तै
स्वतन्त्रताबाट विमुख हुन खोज्छ
र तालजस्तै खुम्चिन खोज्छ ।’ (नदी, ताल र मान्छे, रचनाकाल –२०६०)
नदी बन्नु गतिमान बन्नु हो । मानिसको जीवन तालझैँ खुम्चन खोज्यो भने उसले आफ्नो जिन्दगानीमा सोचेको, देखेको र कल्पेको प्रगति हासिल गर्न सक्दैन । सायद् कविले पनि जीवनमा धेरै दुःखका सुनामीहरू सहेका छन् । अभावका प्रताडनाहरू व्यहोरेका छन् अनि छन् उनका धुमिल कल्पनामा अनेकानेक पारिवारिक विछोडका संकथनहरू । मानिस जीवन लेख्छ । कवि पनि समाजको सदस्य भएकाले आफ्नो जीवनलाई नै कलात्मक चेतसाथ लेख्न खोज्छ । यहाँनेर उभिएर भन्दा उनी आफ्ना जीवनका फाँकीहरू लेख्न खोज्दै छन् । जसका बारेमा उनलाई नै भलिभाँती थाहा हुनु पर्छ ।
‘छुटेको जुत्ता’ यस संग्रहको शीर्षक कविता हो । युद्धमा खुट्टा गुमाउनेहरूको पीडा समाहित भएको यो कवितामा नेपालमा पचासको दसकमा आरम्भ भएर साठीको दसकमा सम्झौतामा समापन भएको जनयुद्धको चेपुवामा परेकाहरूको दुर्दान्त कथालाई सूक्ष्म शैलीमा अभिव्यक्त गरिएको छ । कवि भन्छन् –खुट्टै नरहेपछि जुत्ता किन चाहियो । श्यामव्यङ्ग्य मिश्रित यी र यस्ता भावोद्गारहरूले नै कवितालाई गूढ गम्भीर बनाएको छ ।
उनी ‘छुटेको जुत्ता’ कवितामा भन्छन्–
‘कहाँ छुट्यो गोल्डस्टार जुत्ता ?
सुदूर पहाडको एउटा कुनामा
कहिल्यै नफाटोस् भनेर
तुना कसेको थिएँ
खै, कहाँ छुट्यो ? (पृष्ठ ६८)
गोल्डस्टार जुत्ता युद्धको एउटा प्रतिनिधि प्रतीक हो । यो माओवादी जनयुद्धको कालखण्डभरि यसका सेना र कमाण्डरले लगाएको त्यस्तो सुरक्षा कवच हो जो युद्ध रोकिएर शान्तिवार्तासँगै ओझेलमा परेको छ । प्रहरी र सेनाहरू तिनताक गोल्डस्टार जुत्ता बेच्ने र लगाउने दुवैथरीलाई कर्के नजरले हेर्थे । सरकारी कोपभाजनका सिकार हुने डरले जनसामान्यहरू पनि गोल्डस्टार जुत्ता लगाउन थुर्थुर् काँप्थे । जमानाले पल्टा खायो । अब न गोल्डस्टार जुत्ता लगाउनेहरू रहे । न गोल्डस्टार नै चर्चित भैरह्यो । समयक्रममा यसले नेपाली सामाजिक क्रान्तिको प्रतीक अर्थमा भविष्यमा क्रान्तिका पक्षविपक्षमा अध्ययन गर्न चाहनेहरूलाई सम्झाइरहने छ –आफ्नो कथाव्यथा । समयको उपज क्रान्ति हो । समाजलाई अग्रगामी दिशामा लैजानका लागि हरेक देशका समाजमा क्रान्तिको उपादेयता हुन्छ । बाबु पुस्ताले गरेको अहर्निष दुःख र सन्तापलाई समयचेत भोगेका कविर्मनिषीहरूले यसरी नै निर्धक्क लेखिदिए भने साहित्यका माध्यमबाट संस्कृतिको हस्तान्तरण हुन्छ । यहाँनेर कवि भोजराजको यो कविता कालजयी हुने परिचय बोक्छ ।
उनी सोही कवितामा अझै अघि लेख्छन् –
‘भिडन्तमा बमले उछिट्टिएको
मेरो खुट्टालाई
किन चाहियो जुत्ता ?
चाहिँदैन
कमरेड !
मिल्छ भने लेखिदिनुस्
मेरो खुट्टा गुमेको थियो कसरी । (पृष्ठ ६९–छुटेको जुत्ता)
४. कविताको विहङ्गावलोकन ः
कविता सङ्ग्रहमा संकलित कविताहरूमा ‘नाक’ (पृष्ठ ५८–५९–६०) शीर्षकको कविता बेजोड प्लटमा लेखिएको कविता हो ।
उनी ‘नाक’ कवितामा लेख्छन् –
‘एकादेशमा
नाकहरूले एउटा भेला गरे
र आपसमा निर्णय गरे
हाम्रो नाकको बनावट जस्तै
हामीलाई छुट्टाछुट्टै राज्य चाहियो । (पृष्ठ–५८)
कविताको अन्त्यमा लेख्छन् –
‘यो देशमा
नाकको राजनीति गर्नेहरू बाँकी छन्
तर त्यो देशका नागरिक बाँकी छैनन् ।’ (पृष्ठ –६०)
देश विभाजन गर्नेहरूलाई के थाहा देश एकीकरण गर्नुका सन्तापहरू ? यहाँनेर राष्ट्रकवि माधवप्रसाद घिमिरेको चर्चित खण्डकाव्य राष्ट्रनिर्माताका केही हरफहरू समेत आकर्षित हुन पुगेका छन् । कवि घिमिरे राष्ट्रनिर्मातामा भन्छन् –‘पारिन्छ सत्ता जब खण्डखण्ड, रहन्छ राष्ट्र त्यहाँ के अखण्ड ? थुत्तिन्छ पत्ता जब खातखात, सिद्धिन्छ शोभा अनि फूलबाट ।’ (राष्ट्रनिर्माता, खण्डकाव्य)
समग्रमा, भन्नु पर्दा थोरै कविता लेखेर धेरै चर्चा र चासोमा रहने कवि पंक्तिमा सहजै दरिएका कवि भोजराज न्यौपानेकृत ‘छुटेको जुत्ता’ कवितासंग्रहमा संकलित कविताहरूमा आमाको विपना, लाटी विश्वकर्मा, बाबु, केही साना सपनाहरू, युद्धको छायाँ, कमलरीको माघी, सती, कपिलवस्तुकी अमृता, जङ्गे पिलरमा नागरिकता, नाक र आशीर्वादजस्ता कविताहरू यिनले भविष्यमा लेखिरहे भने आफ्नो नाम नेपाली कविताको इतिहासमा दह्रोसँग राख्न सक्ने छन् भन्ने विश्वास गर्न सकिन्छ ।
विभिन्न समयका साहित्यिक पत्रपत्रिकाहरूमा कविता लिएर आफ्नो सघन उपस्थिति जनाइरहेका न्यौपानेका कविताहरू समय साप्ताहिक, मधुपर्क मासिक, कविता चौमासिक, नेपाल साप्ताहिक, नागरिक दैनिक, हिमाल साप्ताहिक, र शब्दसंयोजन मासिकमा पढ्न पाइएको छ । छोटा कविताहरूका माध्यमबाट आफ्नो दह्रो र प्रतिनिधि उपस्थिति राख्न सफल कवि भोजराज न्यौपाने नेपाली कविहरूका माझमा उम्दा र आस जगाउने कवि हुन् । अहिलेलाई यत्ति बाँकी भविष्य उनले लेख्ने कविता र यात्रा गर्ने जीवनले तय गर्ने सन्दर्भहरू हुन् ।
।।समाप्त।।
सन्दर्भ सूची ः
१) न्यौपाने, भोजराज ः छुटेको जुत्ता ः शब्दहार क्रियशन्स, बालकोट, भक्तपुर, २०७१ साल
२) घिमिरेः माधवप्रसाद ः राष्ट्र निर्माता ः साझा प्रकाशन, पुलचोक, ललितपुर, २०६९ साल
३) अधिकारी, हेमाङ्गराज ः पूर्वीय समालोचना सिद्धान्त ः विद्यार्थी पुस्तक भण्डार, भोटाहिटी, काठमाडौँ, २०६८ साल
४) शेरचन, भूपि ः घुम्ने मेचमाथि अन्धो मान्छे ः साझा प्रकाशन, पुलचोक ललितपुर, २०६९ साल
५) प्रधान, कृष्णचन्द्रसिँह प्रधान सम्पादक, साझा समालोचना, साझा प्रकाशन, पुलचोक, ललितपुर, २०६७ साल
५) मधुपर्क मासिक, कविता चौमासिक, नागरिक दैनिक र कान्तिपुर दैनिकका केही अङ्कहरू ।