दोलखामा भुकम्प पछि बनेका ६५ घरमा पहिरोले क्षति

२८ साउन ।

दोलखाको विभिन्न स्थानमा गएको पहिरोले भुकम्प पछि निर्माण गरिएको घरलाई क्षति गरेको छ । दोलखाको ४ वटा गाउँपालिकाको विभिन्न वडाको विभिन्न स्थानमा गएको पहिरोले ६५ घरलाई क्षति गरेको दोलखा प्रहरीले जनाएको छ ।

हाल सम्म पहिरोले बढि क्षति  जिल्लाको गौरिशंकर गाउँपालिकामा गरेको छ । गाउँपालिकाको वडा नम्बर ७ मार्वुमा १९ घर, वडा नम्बर ६ चंखुमा १३ घरलाई पहिरोले क्षति गरेको छ । वडा नम्बर १ जुँगुमा १७ घरलाई पुर्ण क्षति गरेको छ भने ४ घरमा आशिंक क्षति गरेको दोलखाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रेशम बोहराले जानकारी दिए ।

त्यसैगरि विगु गाउँपालिका वडा नम्बर १ लामावगरमा गएको सुख्खा पहिरोले ७ घरमा पुर्ण क्षति गरेको छ । भने कालिन्चोक गाउँपालिका वडा नम्बर ४ हिलेपानीमा ३ घर र शैलुङ गाउँपालिका वडा नम्बर १ विक टोलको २ घरलाई पहिरोले क्षति गरेको छ ।

पहिरोले क्षति गरेको उक्त घर भुकम्प पछि निर्माण गरिएका हुन् । भुकम्पका कारण घरबारविहिन बनेका भुकम्प प्रभावित केहि समय नयाँ घरमा बस्न पाए पनि पुन पहिरोले घरलाई क्षति गर्दा घरबारविहिन बन्न पुगेका छन् । घरविहिन बनेका पहिरो पिडित हाल विद्यालय आफन्त लगाएतकोमा शरण लिई बसोबास गर्दै आइरहेका छन् ।

पहिरोले क्षति गरेको घर संख्या ६५ भए पनि पहिरोको जोखीममा रहेको घर संख्या सयौँ रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।