कट्फर जिन्दगी

आत्मपरक निबन्ध

तासमा मात्र होइन, जिन्दगीमा पनि हुने रै’छ –कट्फर ।
‘खानका लागि बाँच्ने कि बाँच्नका लागि खाने ?’ वहुधा मानिसहरू अल्झने भनेको यसैमा हो । आफ्नो जीवन कुन र कस्तो शैलीमा बाँच्ने भन्ने छुट सबैलाई हुन्छ । मानिस बन्धनमा होइन स्वतन्त्र भएर जिन्दगी जिउन चाहन्छ । सफा नीलाकाशमा स्वच्छन्द वेग हान्दै उड्ने चरी पंक्षीजस्तै हुने रहर उमेरमा जसकसैको हुन्छ । तर जब उमेरका सरहद नाघेर मानिस बुढ्यौलीका फालकमा आइपुग्छन् अनि उसलाई जीवनको माने मतलव थाहा हुँदो रहेछ । उमेरमा अल्छी र बुढेसकालमा जाँगरिला मानिसहरू धेरै देखिन्छन् । सायद् तिनीहरूले भोगेर सिकेको हुनुपर्छ ।
बूढो पोयाका मानिसले बाक्लै भन्ने गरेको सुनेको छु –‘जीवन भन्ने बुझ्दा आधा जीवन बितिसकेको हुन्छ ।’ यसो किन भन्या होला ? अन्तर्यमा के होला यसको ? जीवनलाई त युवा र किशोरवय ननाघ्दै जो कोही मानिसले थोरबहुत बुझ्न थालिसकेका हुन्छन् । मेरो बुझाइ यस्तो रहन्थ्यो तर होइन रहेछ । उमेरमा बुझिने जीवन त बोक्रा मात्र रहेछ । गुदी नभेटिँदाको केवल आवरण ।
मानौ नरिवलको बोक्रा ।
‘बाँदरका हातमा नरिवल ।’ बाँदरले नरिवल पाए पनि खान नसक्ने । काटेर उसलाई कसैले नदिने । गदाहा पच्चिसी उमेरमा मानिसले जीवनलाई बुझ्ने भनेकै बाँदरका हातमा नरिवल लिएर कुनै बाँदरले नरिवलको ठम्याइ गरेजस्तै हो, सायद् । जटा, जटाभित्रको हाड अनि मात्र गुदी भन्ने गूढार्थ न कसैले बाँदरलाई बुझाउन सक्या हुन्छ । न बाँदरले बुझ्ने शक्ति नै प्रकृतिबाट पाएको हुन्छ ।
खेलायो, खेलायो अनि फ्याँकिदियो ।


ड्ड
भाव, अभाव र प्रभावमा औशत मानिसको पूरै जिन्दगी बितेको हुँदोरहेछ ।
यहाँ भाव र प्रभावलाई मीमांशा गर्न खोज्या होइन । मात्र अभावलाई दोहन गर्न लाग्या हो । खाँचो नै मानिसलाई तिखार्ने कर्द हो । अभाव नहुँदो हो त मानिस खाइपिई गरेर लम्पसार गरिरहन्थ्यो । न उसका वागी इच्छाहरू हुन्थे न उसमा अहम्कै सवाल । संसार नै कथाहरूले निर्माण भएको हो । कथा सुखद् वातावरणमा भन्दा दुखद् वातावरणमा अधिक उब्जने गर्छन् । भन्नेले भनेका छन् –‘यो संसारमा जति पानी बग्छ ती भन्दा धेरै मानिसका आँसु बहेका छन् ।’
आँसुका दुई रूप । संरूप । हर्षाश्रु र दुखाश्रु । नयनाभिरामका दुवै किनारबाट टप्कने मोतिका बुँद । बालवयमा सबैलाई आमाको न्यानो काख र बाबाको ममत्व समान तवरले प्राप्त भएको हुँदैन । भए पनि पर्गेल्ने पामर औ पाइन हुन्न । बालापन सबैको पृथक् र स्मरणीय हुन्छ । बुझ्ने मानिसलाई शनैःशनैः समयले सिकाउँदै जान्छ । नबुझ्ने ढीट र जब्बरलाई न समयले सिकाउनै सक्छ न गुरुले । कालान्तरमा आफैँ सिक्न सक्छ ।
यथार्थमा गुरुत्तर महत्व बोकेका सांसारिक वस्तुहरू हाम्रै वरिपरि अनन्त छन् । पर्गेल्न मात्र सक्नु पर्ने रहेछ । निक्र्यौल ननिकाल्ने मानिसहरूलाई जतिसुकै ज्ञानका अपरिमित पोथी पढाए पनि हात लाग्यो सून्य ।
को बुझ्ने ? को नबुझ्ने ? विषय र वासनालाई कति सन्धान गरिसकेपछि मानिसले बुझ्छ ? त्यसका बाटा र चौरास्ताहरू केकस्ता हुन् ? भावभङ्गिमा कसरी तौतयार गर्ने ? शैली त चराचर जगत्मा सबैको पृथक् हुन्छ । के जीव, के वनस्पति, के जल, के वायु, के अन्तरिक्ष सबैका लयमा स्वत्व हुन्छ । लयले नै स्वको परिचय दिलाउँछ । पथ्य÷अपथ्य, गोचर÷अगोचर, नियामक÷अनियामक र अमर÷नश्वर यी र यीहरूका व्योम र व्यासहरू पृथकादि छन् । स्थुल शरीर र सूक्ष्म आत्माले कति अनुभूतिका पत्रे चट्टानहरूलाई समुद्रका लहरले हानेझैँ गर्दा तिनीहरूबाट उत्सर्जित हुने बालुवा कणहरूले रेगिस्तानमा एक प्रकारका अनौठा विम्बाकृतिहरू तयार गर्दा हूनन् । अभ्रखमिश्रित ती सूक्ष्म कणहरूलाई तृषित मृगमरिचिकाले कतै पानी देख्दा हुन्, कतै भ्रमका दिगन्तता । जीवन भ्रममा पनि आनन्द मिल्छ कताकतै ।
पुराना किताब पल्टाउनु र बूढो पोयाका मानिसहरूसँग कुराकन्था निकाल्नु उस्तैउस्तै हो । किताब पुरानिन्छन् जमानाका जामामा तर तिनका कन्टेन्ट कतैव पुरानिन्नन् । थोरोले त्यसै भनेका होइनन् –‘पुरानो कोट लगाऊ, नयाँ पुस्तक किन ।’ कमोडिटी मार्केटका अनलाइन सपिङ् गुड्स बनेका प्रेमिल किताबहरूमा साइबर सेक्स र पन्याला प्रेमका तिरीमिरी त भेटिएलान् तर दुःखका कहिरन र सकस भेट्नै गाह्रो । मनलाई धुने डिटरजेन्ट उत्तरआधुनिक जमानामा दुःख मात्रै हो भन्ने जिरह पनि आफ्नो तर्फबाट मात्र सत्य हुन सक्ला ! सुखका साइपाटाहरू बाँड्नु पर्ने आवश्यकता बढ्दा छन् । अहिले त झन् सेल्फीको जमानामा सेल्फिसहरू छिचिमिरा बढेझैँ यत्र तत्र सर्वत्र बढिरहेछन् । समाजका अभियन्ताहरूले बढार्नु पर्ने चाहिँ स्वार्थीहरूलाई हो । तर ठिक उल्टो भैरहेछ यहाँ । परार्थी र परमार्थीहरू दिउँसै बत्ती बालेर खोज्नु पर्ने भएका छन् । पथ र पन्थ सबैसबैका छन् । दान, धर्म, पुण्य र सेवामा पनि कित्ताकाट छ । सगोत्री र परगोत्रीको पानी बाराबार छ । आफ्नो मात्र मपाइँ बखानले समाजका अन्तरकुन्तर फोहोर बनेका छन् । सफा गर्ने चिन्ता कसैमा छैन ।
तैपनि सबै बुझेका अभिनयमा छन् । लाल बुझक्कड सूत्रधारहरू अझ बढी अभिनय गर्दैछन् । गोल बुझेको । खगोल बुझेको ।
तर आपत त बुझाउनेहरूलाई छ –यहाँ । जो बुझ्झकी छ उसलाई बुझाउनै पर्दैन । जो अबुझ्झकी छ उसलाई जिन्दगीभरि बुझाए पनि बुझ्दै बुझ्दैन । कुराको चुरा कहाँबाट श्रीगणेश गरी कहाँ समापन गर्ने ? आचार्य र गुरुहरु यतिखेर नामेट भैसके । शिक्षक र अध्यापकहरू विलखबन्दमा छन् ।
भालुलाई पुराण सुनाएजस्तो । उखान त्यसै अविर्भाव भएको होइनन् । पुर्खाले भोगे, खेपे, खोजे र अनि मात्र बनाए उखान–टुक्काहरू । भोगाइका बर्काहरूले जबजब मान्छेलाई न्यानोपनका मिठास अनुभवहरू दिलाएर जान्छन् अनि उब्जन्छन् अर्ती र उपदेशहरू । भनिन्छ नि –आफूले थाहा पाएपछि मात्र ‘थ्योरम’हरू अविर्भाव हुन्छन् ज्ञानीका मस्तिष्क केन्द्रबाट ।
अर्तीले नछुने धर्ती छैन् र उपदेशले नभेट्ने देशहरू हुन्नन् । सिको गर्नुपर्छ अनुजहरूले अग्रजहरूको जहाँ बेमिसाल प्रकृति पढेर प्राप्त गरेको काञ्चन ज्ञानगंगा हुने गर्छ । थ्योरम र सूत्रहरू त कक्षाका शिक्षार्थी भएका बेला मात्र काम लाग्ने हुन्छन् । जब मानिस कक्षाको पन्यालो सिरक फ्याँकेर बेबहारको विद्यार्थी भएको ऐलान गर्छ अनि काष्टिङ् हुन्छ रियल लाइफ । जहाँ न कथा बुन्ने कथाकार उपस्थित हुन्छन्, न त निर्देशन गर्ने निर्देशकहरू नै । आफैँ आफ्नो कथा लेख्ने हो –जीवनमा । आफैँ आफ्नो जीवनको निर्देशन गर्ने हो –जीवनमा ।
सबैसबै आफैँ । प्रेम–घृणा, जीवन–मृत्यु, आरोेह–अवरोह, निकाह–तलाक, उधौंली–उभौंली, सपाट–वक्रता ती र तीहरू सन्धिसर्पन भएर आउने रैछन् जीवनादिका रङ र रङ्गमञ्चमा । कहिले दर्शकदीर्घामा चुपचाप बसेरै भलिभाँती सिक्न सकिने । कहिले रोष्ट्रोममा बसेर पनि सिकाउँदा सिकाउँदै सिक्न सकिने । यो सिकाइको चेन पनि दुवैतिर जोडिएको हुने रै’छ ।
वनको काँडालाई तिखार्नु पर्दैन । जमिन र पानी भए पुग्छ –धरामा । प्रकृति नै महत्तम् गुरु हो । संसारको बाठो जीव मनिन्छ –मानिस । तर मानिसलाई नै औपचारिक तवरले सिकाउने पर्ने । अहिले त झन् आमाका काखमा स्तन चुस्तै गरेका दूधमुखेहरूलाई मन्टेश्वरीका नाममा रुवाउँदै स्कुल हाल्ने गरिन्छ । घरमा स्कुलिङ् नभएका ती चिचिले भुराहरूलाई स्कुलले के स्कुलिङ् गर्दा होलान् ? म सोच्छु । खाँचो परेपछि मात्र मानिसले सिक्ने होइन र ? खैर ! पैसो कमाउने बेपार बनेका छन् यतिखेर –मन्टेश्वरीका फेसनादि ।
जतिजति विज्ञान फड्को मार्दैछ तपाईं हाम्रा जीवनमा उतिउति कथा र लोरीहरू क्रमिक तवरले हराउँदा छन् । बेपत्ता भएका छन् –गाउँखाने कथा र राजकुमार प्रभाकर औ तोतामैनाका कथा । हिजो प्रकृत्ति सिकाउँथ्यो समान तवरले बेधड्क । आज कृतिबाट सिकाउने नाटक जो गरिँदै छ । लोकल ज्ञानले समाजमा आफ्नो पकड जमाउन्जेल ब्रोइलर सिद्धान्त जन्मेकै थिएनन् । जब ब्रोइलर थेसिस बग्रेल्ती आए अनि लोकल ज्ञान ओइलाउन थाल्या हुन् ।
यतिखेर सूत्रज्ञानको जमाना जो छ । सूत्रधारहरू सामाजिक सञ्जाल भए पनि ती मनका थाङ्ग्रा कम र जञ्जाल बढी भएका छन् । हिन्दीमा कहावत् छ –‘मै हू ना । मै चाहूँ तो आकास गिरादुङ्गा ।’ अहिले मानिसका फुइँ हेर्नु छ भने अन्त कतै जानै पर्दैन । केवल सामाजिक सञ्जाल अवकास मिलाएर पसे हुन्छ, फूर्सद मिलाएर बसे हुन्छ ।
अनायाशै अनुज र भान्तेहरूसँग अग्रज र गुरुवरले पो सिक्ने जमाना आए । विधि अनुभवले सिकाउँथ्यो विगत्मा प्रविधि सूत्रले सिकाइ रहेछन् –आज । भन्नलाई निरन्तर सिकाइ । चरैवेती चरैवेती । बाबाआमाबाट सिक्नु, घरपरिवारबाट सिक्नु, दयाँलीदौतरीबाट सिक्नु, छिमेकीजोरीपारीबाट सिक्नु । चाहना मात्र हुनु प¥यो जताततैबाट सिकिन्छ । जल, स्थल र नभ सबै सिकाइका पट हुन् । पाठ्य र सन्दर्भ सामग्री हुन् । पाठयोजना र उद्देश्य हुन् । क्रियाकलाप र मूल्याङ्कन हुन् । सिक्नेका लागि हरपल अनिवार्य छ –चाहना ।
ड्ड
समय अविश्रान्त र अविचल गतिमा चलायमान छ । मानिसहरू आआफ्ना हतारा र बेफुर्सदीहरू भोग्दा छन् । जीवनको लहरो तन्कँदै जाँदा लाम लागेर आउने रहेछन् अनेकादि जिम्मेवारीहरू ।
सकस बन्दो रहेछ आस र अर्थ कम भएपछि जीवनमा । पार्टटाइम जबका खातिर मानिस पेपर मनीका पछि दुगुर्नु परेपछि अनेकानेक पिरहरू पिङ खेल्दै जीवन समिप आइरहने । यो टा¥यो त्यो पुग्दैन । त्यो जिम्मेवारी निभायो यो अभाव मै रल्लिरहने । बच्चाले होम वर्क गरेजस्तै रहेछ –उसका बाबु आमाका जिम्मेवारीरू पनि । शुक्लपक्ष कृष्णपक्ष नभनी भूमिका निर्वाह गर्नु पर्ने । दिनैपिच्छे गर्नु पर्ने । नगरे समयको गाली खाइने ।
जिन्दगी कट्फर । कट्फर जिन्दगी ।
जन्मियो एकठाउँ । हुर्कियो । बढ्यो । पढ्यो । व्यवहार अर्कैठाउँ । अचिनारू मानिससँग संगत गर्दै र बिरानो स्थानमा पुग्नु पर्ने । रहँदै बस्दै जाँदा सबैलाई आफ्नो बनाउनु पर्ने । मानिसको जुनी तासको बुकमा खाँदिएर रहेका तासका पत्ताजस्तै त हुन् । भोगाइ भन्या फिस्ने कला । बाँड्ने भन्या नियति र प्राप्ति भन्या भागमा प¥या तास । मेरा एकजना हितैसी मित्र सुदूरपश्चिममा जन्मे । सुदूरपूर्वमा उच्च अध्ययन गरेर हाल अफ्रिकी मुलुक नाइजेरियामा कार्यरत छन् । तीन दसक अघि हिमाल साउथ पत्रिकाले खोज गरेको थियो –इटालीका मग्यार र नेपालका मगरहरूमा समानता । बीसको दसकमा स्वीसहरू दोलखाको जिरी पस्दा रैथाने जिरेलहरूमा आफ्ना सगोत्री ‘जिरोस’ का अनुहार पढ्थे रे ! सोही अपनत्वलाई ममत्वमा अनुवाद गर्न उनीहरूले जिरेलका लागि अनेक सामाजिक विकासका पथहरू पहिल्याई दिए । कत्रो भ्रातृत्व ? कस्तो महानता ?
जिन्दगीको बेलापतेला (लहरा) वाद, विवाद, प्रतिवाद र संवादमै अघि बढ्न चाहँदो रहेछ । भरथेग भन्या थाङ्ग्रो हो । जस्तो थाङ्ग्रो भयो उस्तै लहरा लहरिने हो । अनि क्रमशः फुल्ने, फल्ने र फतक्क गल्ने । जीवनका तीन औतार । बिहान, मध्यान्न र साँझ । फूल, फल र ओइलाएको अवस्था ।
स्रोतले बिग्रिएका सन्तानका कहिरनहरू धेरै पढिएका छन् –अनाख्यान र आख्यानहरूमा । नाटक गरेर दम्पत्तिहरू नाहकमा सन्तानलाई पहिले पुल्पुल्याउँछन् । निनानसेकमा जब सन्तानले टाउकामा टेक्न थाल्छन् अनि जोरीपारीका आगे कहिरन लगाउँदै दुवै समान तवरले अश्रुविन्दुबाट आँसु टप्काउँछन् । व्यवहार भकुण्डो हिर्काएजस्तै हो । जति बिस्तारै प्रहार गरिन्छ उति बिस्तारै हातमा आउँछ । जति कडा प्रहार उति कडा प्रतिउत्तर ।
नजाने कति बाआमाहरू थाहै नपाएरै सन्तानलाई अब्बल बनाउन जानिरहेका हुँदैनन् र पनि सन्तानले असल मार्ग पहिल्याएर तिनै बाआमाहरूलाई सैयौँ सुख दिइरहेका पाइन्छन् । कति जान्नेहरूले पनि मेलोमेसो नपु¥याएर सन्तान थोते मकैझैँ भएका पाइएका छन् । न पिँध्न मिल्ने न छोडाउन मिल्ने ।
सारमा जिन्दगी जान्दा पनि नहुने । नजान्दा पनि नहुने ।
भनिन्छ नि –‘आविष्कार नै आवश्यकताकी जननी हुन् ।’ झरी परेपछि छाताको जोहो गरेझैँ या चिप्लोमा लौरो खोजिएझैँ । अन्र्तहृदयदेखि कै हुट्हुटीले नै कर्मयोगप्रति मानिसलाई अविचलित बनाउँदो रै’छ । गरिबका घरमा जन्मिएका सन्तानले पनि समय आएपछि भकाभक प्रगति गरेको देखिँदा लाग्छ प्रकृति सबैका लागि बराबर हुन्छ ।
जीवनको लय प्रकृतिको लयमा जब समान तवरले मिल्छ अनि बन्छ सुललित ध्वनि । जसका लागि अनुभूति र भोगाइ नै परम् गुरु हुन् ।
।।समाप्त।।