डेंगु नियन्त्रण गर्न सरकार असफल, देशैभर महामारी फैलिने जोखिम !

संघ, प्रदेश र पालिकाबीच समन्वय भएन

भदौ ११

हेटौंडा कमलडाँडाकी एन्जिला श्रेष्ठ दुई हप्तादेखि टेकु अस्पतालमा उपचार गराइरहनु भएको छ । डेंगुबाट संक्रमित श्रेष्ठ हेटौंडाका विभिन्न अस्पतालमा उपचार सम्भव नभएपछि टेकु आइपुग्नु भएको हो । श्रेष्ठ मात्रै होइन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा हिजोआज धेरै बिरामी मकवानपुर हेटौंडाकै छन ।

‘कमलडाँडाभरी नै डेंगु फैलिएको छ । डेंगु लाग्ला, डेंगु लाग्ला भनेर सजग हुदाँहुँदै टोकेछ’ मकवानपुरको हेटौडा उपमहानगरपालिका ४ कमलडाँडाकी श्रेष्ठले भन्नुभयो, ‘डेंगु लागेपछि निको हुन समय लाग्ने रहेछ ।’

श्रेष्ठका अनुसार कमलडाँडाका घरपिच्छे डेंगुका बिरामी छन । कपितय घरमा एकै परिवारका सात जनामा पनि डेंगु लागेको छ । डेंगुले गर्दा हेटौंडाका सबैजसो अस्पताल तथा मेडिकलमा बिरामीको चाप छ । बेड नपाएका बिरामी काठमाण्डौ आएका छन् भने कोही चितवनसम्म पुगेका छन् ।

‘हेटौंडामा डेंगुले सबैभन्दा बढी प्रभावित भएको हाम्रै ठाउँ हो’, उहाँले भन्नुभयो, ‘घरैपिच्छे डेंगुका बिरामी छन् । केही ठाउँमा एकै घरका सात जनासम्म बिरामी परेका छन् ।’

यस्तै दाङ तुल्सीपुरका बिनायक बस्नेत पनि उपचारका लागि टेकु आइपुग्नु भएको छ । ट्रकमा सहयोगीको काम गर्ने बस्नेतले दाङकै विभिन्न अस्पतालमा उपचार गराए पनि निको नभएपछि तीन दिनअघि टेकु आइपुग्नु भएको हो ।

‘जति औषधि खाए पनि सञ्चो नभएपछि आएको हुँ’, उहाँले भन्नुभयो, ‘यहाँ आएपछि निको हुँदै गएको छ । चाँडै घर फर्किने आश पलाएको छ ।’

लक्षण : उच्च ज्वरो आउने, टाउको दुख्ने !

‘एडिज’ प्रजातीको लामखुट्टेले टोकेपछि डेंगु लाग्छ । यसलाई डेंगु भाइरस पनि भन्ने गरिन्छ । अरु प्रजातीभन्दा फरक र अनौठो मानिने एडिज लामखुट्टे सफा पानीमा बस्छ । एकैदिन दश जनासम्मलाई टोक्छ ।

डेंगु लागेपछि उच्च ज्वरो आउँछ । रिंगटा लाग्छ । टाउको भारी हुन्छ । फुट्लाझैं गरेर बेस्सरी दुख्छ । हातखुट्टा लल्याकलुलुक हुन्छन । खान मन लाग्दैन ।

‘१०४ डिग्रीसम्म ज्वरो आउँछ । बिहानतिर सबैभन्दा धेरै ज्वरो आउँछ’ हेटौडाकी एन्जिला श्रेष्ठले भन्नुभयो, ‘बेस्सरी टाउको दुख्ने, खान मन नलाग्ने, उठ्नै गाह्रो हुन जस्ता लक्षण देखिन्छन । जति औषधि खाए प्नि सित्तिमित्ति सञ्चो हँुदैन । ज्वरो घट्दैन ।’

यसबाहेक धेरै निन्द्रा लाग्ने । पानी मात्रै पिउन मन लाग्ने । खाना नरुच्ने । रिंगटा लागेर उभिन पनि गाह्रो हुने । आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, शरीरमा विमिरा आउने लगायतका लक्षण देखा पर्छन् ।

यीमध्ये कुने दुई लक्षण देखा परेमा डेंगुको संक्रमण हुन सक्ने डाक्टरहरुको भनाइ छ ।

झापा, सुनसरीदेखि मकवानपुरसम्म महामारी !

डेंगुले केही जिल्लामा महामारीकै रुप लिइसकेको छ । झापा, सुनसरी, मोरङ, चितवन, कास्की र मकवानपुरमा डेंगुले महामारीकै रुप लिएको टेकु अस्पतालले जनाएको छ ।

अहिलेसम्म डेंगुबाट तीन जनाको ज्यान गइसकेको छ भने झण्डै चार हजार बिरामी छन । सबैभन्दा धेरै बिरामी सुनसरीमा तीन हजार २५ जना छन् । ज्यान गुमाउनेमा सुनसरी, मोरङ र चितवनका छन् ।

सुरुमा पूर्वी नेपालको झापा, सुनसरी, धनकुटा, मोरङमा देखिएको डेंगुले पछिल्लो समय चितवन, कास्की र मकवानपुरमा समेत महामारीकै रुप लिएको टेकु अस्पतालका प्रशासकीय प्रमुख रुपनारायण खतिवडाले बताउनुभयो ।

‘डेंगुको संक्रमण फैलिंदै गएको छ । केही जिल्लामा महामारीकै रुप लिएको छ भने केहीमा झन फैलिंदो छ’ उहाँले भन्नुभयो ।

उहाँका अनुसार गएको साउन महिनामा टेकु अस्पतालबाट १७ जिल्लाका ८५ जना बिरामी उपचार गरेर फर्किएका छन् । भदौ पहिलो हप्तामा एकैदिन ८ जनासम्म बिरामी टेकु अस्पताल पुग्ने गरेका पनि खतिवडाले बताउनुभयो ।

नेपालमा डेंगुको विगत

एडिज प्रजातीको लामखुट्टेले टोकेपछि लाग्ने डेंगु नेपालमा पहिलो पटक सन् २००४ मा भेटिएको थियो । त्यतिबेला एक जना विदेशीमा भेटिएको यो रोग त्यसको दुई वर्षपछि तराईका नौ जिल्लामा फैलियो ।

नेपालमा डेंगु भित्रिएको ६ वर्षपछि अर्थात सन् २०१० मा महामारीको रुप लिएको हो । त्यतिबेला चितवन, रुपन्देही, नवलपरासीलगायत देशभरीमा ९ सय १७ जना संक्रमित हुँदा पाँच जनाको डेंगुबाट ज्यान गएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले जनाएको छ ।

चितवनमा बढी देखिएको डेंगु सन् २०१६ मा पूर्वी नेपालको झापा, सुनसरी, धनकुटा लगायतका जिल्लामा पनि फैलियो । त्यतिबेला बिरामीको संख्या बढेर १५ सय २७ पुग्यो ।

सन् २०१७ मा डेंगुबाट संक्रमित हुनेको संख्या २ हजार १ सय ११ पुग्दा चितवन, झापा, रुपन्देही, सर्लाही र महोत्तरीमा महामारीको रुप नै लियो । गएको वर्ष केही घटेर ८ सय ११ जना मात्रै डेंगुबाट संक्रमित हुँदा रुपन्देही र चितवनमा भने महामारी कायमै छ ।

यस वर्ष चितवन, रुपन्देही, झापा, सुनसरी लगायतका जिल्लामा मात्रै नभई मकवानपुरमा समेत डेंगुको महामारी फैलियो । यसपटक तीन जनाको ज्यान जाँदा झण्डै चार हजार मानिस बिरामी छन् ।

अबको जोखिम !

सुरुमा मध्य तथा पूर्वी तराईका जिल्लामा देखिएको डेंगु अहिले पहाड चढेको छ । कास्की र मकवानपुरमा देखिएको एडिज नामको लामखुट्टे झण्डै तीन वर्षअघि काठमाण्डौ आइपुगेको हो ।

तर मकवानपुर र कास्कीमा जस्तो महामारी काठमाण्डौमा फैलिसकेको छैन । तर यस वर्ष बिरामीको संख्या हेर्दा काठमाण्डौैँ उपत्यकामा महामारी फैलिन सक्ने जोखिम भने बढेको छ ।

पहाड चढेसँगै काठमाण्डौ उपत्यका लगायत देशैभर डेंगुुको महामारी फैलिन सक्ने जोखिम बढेको टेकु अस्पतालका प्रमुख रुपनारायण खतिवडा बताउनुहुन्छ ।

‘डेंगु फैलिदो क्रममा रहेकाले जोखिम बढ्दै गएको छ’, उहाँले भन्नुभयो, ‘यही अवस्थामा फैलिंदा नियन्त्रण गर्न सकिएन भने देशैभर महामारीको जोखिम हुन सक्छ ।’

न्युनतम १६ डिग्री सेल्सियसमा पनि डेंगु सार्ने एडिज लामखुट्टे हुर्कन र बढ्न सक्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुका भेक्टर कन्ट्रोल निरीक्षक उत्तमराज प्याकुरेलका अनुसार मंसिर, पुस र माघ बाहेक अरु महिना एडिज लामखुट्टेका लागि अनुकूलको समय हो ।

प्रायः असार, साउन र भदौमा धेरै नै संक्रमण देखिने डेंगु अब बाह्रै महिना सक्रिय हुने र रोग सार्ने जोखिम रहेको प्याकुरेलको भनाइ छ ।

डेंगु नियन्त्रणको सरकारी प्रयास असफल !

गएको वर्ष ८ सय ११ जनामा मात्रै डेंगु देखिएको थियो । तर यस वर्षको असार तथा साउन महिनामै पूर्वी नेपालको तराईमा डेंगुले महामारीको रुप लियो ।
 
सरकारले महामारी नियन्त्रणका लागि चिकित्सकसहितको केन्द्रीय टोली नै परिचालन गरे पनि खासै प्रभावकारी भएन । फलस्वरुप पूर्वी नेपालबाट चितवन हुँदै मकवानपुर र कास्कीमा डेंगुको महामारी फैलियो ।

नभन्दै साउन मसान्त र भदौ पहिलो हप्तासम्म तीन जनाको ज्यान जाँदा डेंगुबाट प्रभावित हुने बिरामीको संख्या झण्डै चार हजार पुगेको छ । यसबीचमा संघ, प्रदेश र पालिकाहरुले गरेको डेंगु नियन्त्रणको प्रयास पनि सफल भएन ।

हेटौंडामा डेंगु सार्ने लामखुट्टे नियन्त्रणको अभियान चलाएका अभियान्ता नै बिरामी परे । हेटौँडा उपमहानगरपालिका ४ कमलडाँडामा लामखुट्टे नियन्त्रणका लागि अभियान चलाउँदा केही स्थानीय र टोल सुधार समितिकै सदस्य पनि बिरामी परेका थिए ।

स्थानीय टोल सुधार समिति कमलडाँडाकी मौसमी श्रेष्ठ डेंगु नियन्त्रणका लागि घरदैलो अभियान चलाए पनि प्रभावकारी हुन नसकेको बताउनुहुन्छ ।

‘स्थानीय चिकित्सक, नेपाल प्रहरी, नेपाली सेना, नगर प्रहरी, जनप्रतिनिधि, टोल सुधार समिति सदस्य सबै मिलेर लामखुट्टे नियन्त्रणको अभियान चलाएका हाैँ’ टेकु अस्पतालमा भेटिएकी उहाँले भन्नुभयो, ‘बहिनी बिरामी भएपछि म यता आए । उता अभियान चले पनि डेंगु नियन्त्रण भएको छैन । झन् फैलिएको छ ।’

संघ, प्रदेश र पालिकाबीच समन्वय भएन

डेंगुको प्रकोप झन फैलिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भदौ पहिलो हप्ता सबै सरोकारवालाहरुको बैठक बोलायो । बैठकमा सातै प्रदेशका क्षेत्रीय स्वास्थ्य निर्देशनालयका प्रमुख समेत सहभागी थिए ।

बैठकले डेंगु नियन्त्रणका लागि सातै प्रदेश र सबै पालिकालाई साथमा लिएर अभियान चलाउने निर्णय गरेको थियो । तर त्यसको असर देखिएन । डेंगु नियन्त्रण हुनुको साटो झन् झन् बिरामी बढ्न थालेपछि स्वास्थ्य अधिकारीहरु चिन्तित छन् ।

‘विगतमा भएका स्वास्थ्य निकायका संरचना अहिले छैनन् । पालिका सरकारसँग समन्वय गर्न सजिलो भए पनि स्रोत साधन प्रयोग गर्न सहज छैन’ इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका भेक्टर कन्ट्रोल निरीक्षक उत्तमराज प्याकुरेलले भन्नुभयो, ‘संघ, प्रदेश र पालिकाबीच समन्वय नहुँदा डेंगु नियन्त्रण हुन सकेको छैन ।’

उहाँका अनुसार स्वास्थ्य मन्त्रालयले डेंगु नियन्त्रणका लागि सम्बद्ध सबै मन्त्रालयका निकाय, संघ, प्रदेश र पालिकाका प्रतिनिधिसँग यसै हप्ता संयुक्त छलफलको तयारी गरेको छ । बैठकमा छलफल गरेपछि आवश्यक परे मन्त्रिपरिषदमा प्रस्ताव लिएर भए पनि डेंगु नियन्त्रणको अभियान व्यापक बनाउने उहाँले बताउनुभयो ।

‘डेंगु नियन्त्रणका लागि सरकारले अभियान जारी राखेको छ’ उहाँले भन्नुभयो, ‘सबै सरोकारवालासँग बैठक गरेपछि त्यसबाट आउने सुझाव समेट्दै आवश्यक परे मन्त्रीपरिषदमै प्रस्ताव लिएर अभियान व्यापक बनाएर पनि डेंगु नियन्त्रण गर्ने योजना छ ।’

साभार : ujyaaloonline