काठमाडौँ । सभापति शेरबहादुर देउवा र दुई उपसभापति अनुपस्थित भएपछि बुधबार बोलाइएको नेपाली काँग्रेसको पदाधिकारी बैठक महामन्त्री गगन थापाको अध्यक्षतामा बसेको छ ।
बुधबार दिउँसो सुरु भएको बैठकमा सभापति देउवा र उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ अनुपस्थित छन् । १४ औँ महाधिवेशनबाट महामन्त्री निर्वाचित भएपछि थापाले पहिलो पटक काँग्रेसको बैठक अध्यक्षता गरेका हुन् ।
सभापति देउवा कार्यव्यस्तताका कारण बैठकमा नआएका उनको सचिवालयले जनाएका छन् । त्यस्तै उपसभापति खड्कालाई कोरोना संक्रमण भएको र अर्का उपसभापति गुरुङ अस्ट्रेलिया भ्रमणमा रहेका काँग्रेसका एक पदाधिकारीले जानकारी दिए ।
स्थानीय तहमा पार्टीबाट निर्वाचित जनप्रतिनिधिका लागि ३० र ३१ साउनमा गर्ने तय भएको अभिमुखीकरण कार्यक्रमको तयारीका लागि बैठक बसेको एक पदाधिकारीले जानकारी दिए ।
काँग्रेसमा सभापति, २ जना उपसभापति, २ महामन्त्री, ८ जना सह महामन्त्री र प्रवक्ता गरी १४ जना पदाधिकारी छन् । सभापतिले नियुक्ति गर्ने कोषाध्यक्ष पद खाली छ ।
हङकङ । हङकङबाट बेलायतका लागि उडेको विमानमा एक महिलाको आफ्ना छोराछोरी र श्रीमानका अगाडि नै मृत्यु भएको छ । गो फन्ड मी पृष्ठका अनुसार हेलेन रोड्स १५ वर्षसम्म हङकङमा बसेपछि आफ्नो परिवारसँग ‘नयाँ साहसिक कार्यको लागि बेलायत फर्किन पाउँदा उत्साहित थिइन् ।
तर, लामो दूरीको उडानको केही घण्टापछि रोड्स अगस्ट ५मा संसारबाटै बिदा लिइन् । ‘उडानको बाँकी ८ घण्टा हेलेन चीर निन्द्रामा रहिन । उक्त क्षण परिवारको लागि अत्यन्तै पीडादायी भए पनि तिनीहरू सबैले उनलाई के भन्न आवश्यक छ भन्ने समय पाएका थिए’, गो फन्ड मी पृष्ठमा लेखिएको छ ।
‘यो हानि अकल्पनीय छ । हेलेन एक समर्पित पत्नी र आमा थिइन् । उहाँ आफ्नो परिवारलाई एकसाथ राख्ने व्यक्ति हुनुहुन्थ्यो’ अगाडि भनिएको छ । उनका छोराछोरीहरू विमान अवतरण नहुन्जेल बाँकी समय आफ्नी आमाको छेउमा बसेका थिए, जुन परिवारका लागि निकै पीडादायी क्षण थियो ।
काठमाडौँ । सशस्त्र प्रहरीले पर्सामा १४३ किलो गाँजा बरामद गरेको छ । वीरगन्ज महानगरपालिका ड्राइपोर्ट परवानीपुर सडकखण्डबाट सो गाँजा बरामद गरिएको हो ।
रोकिराखेको भारतीय नम्बर प्लेटको मालवाहक ट्रकबाट सो गाँजा बरामद गरिएको सशस्त्रले जनाएको छ ।
ट्रक र गाँजा नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको छ ।
काठमाडौं । काठमाडौं महानगरपालिकाले थापाथलीस्थित नर्भिक हस्पिटललाई नियमविपरीत बनाइएको संरचना हटाउन समय दिने भएको छ । सोमबार २४ घण्टाभित्र संरचना हटाउन निर्देशन दिएको महानगरले मंगलबार प्राविधिको सुझावअनुसार संरचना हटाउन समय दिन सहमति जनाएको हो ।
काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)ले सोमबार नर्भिक हस्पिटल परिसरको अवलोकनपछि २४ घण्टाभित्र सरकारी जग्गामा नियमविपरीत बनाइएका संरचना हटाउन निर्देशन दिएका थिए ।
तर, मंगलबार दिउँसो नर्भिक हस्पिटलले सरकारसँग सम्झौता गरेर जग्गा भाडामा लिएर संरचना बनाएको बताएपछि अपरान्ह मेयर साह पुनः नर्भिक हस्पिटल पुगे । सो क्रममा मेयर बालेनसहित महानगर प्रतिनिधि र हस्पिटलका प्रतिनिधिबीच दुवै पक्षका प्राविधिकले दिएको सुझावका आधारमा संरचना हटाउने सहमति भएको हो ।
अक्सिजन प्लान्ट र एमआरआई कक्ष रहेकाले यी संरचना हटाउन प्राविधिकले दिने समयभित्र हटाउन नर्भिक राजी भएको हो । नर्भिकका प्रतिनिधिसँग मेयर बालेनले मन्त्रिपरिषद्बाट जग्गा र संरचना बनाउन अनुमति दिनेगरी निर्णय गराएर नक्सा पास गरेको महामनगरलाई आपत्ति नरहेको बारम्बार बताए । आफूले नियमसंगत खोजेको र कानुन कार्यान्वयन तथा कानुनले कसैले विभेद गर्न नहुने पक्षमा रहेको मेयस बालेनको भनाइ थियो ।
नर्भिक हस्पिटलले भाडामा लिएको एक रोपनी ८ आना जग्गाको पश्चिमतर्फ सम्झौताविपरीत र नक्सा पास नगरी टहरा बनाएकोले भत्काउनुपर्ने महानगरको अडान छ ।
नर्भिक पुगेका मेयर बालेनले सरकारी जग्गामा नक्सा पास नगरिकन संरचना बनाउन नपाइने भन्दै हस्पिटलका प्रतिनिधिलाई बारम्बार सम्झाएका थिए । त्यसपछि नक्सा पास गर्न आफूहरु तयार रहेको हस्पिटलका प्रतिनिधिले पनि बताए । यसका लागि समय दिन माग गरेपछि दुवै पक्षका प्राविधिकले भनेअनुसार समय उपलब्ध गराउन मेयर बालेन सहमत भए ।
काठमाडौं । पशुपतिनाथको मन्दिर जानेहरुमध्ये धेरैजसोको उद्देश्य फोटो खिच्ने, टिकटक बनाउने र सामाजिक सञ्जालमा पोष्ट गर्ने प्रवृत्ति बढेपछि पशुपति क्षेत्र विकास कोषले फोटो र भिडियो खिच्न निषेध गरेको छ । दर्शनार्थी तथा तीर्थयात्रीहरूले अटेर गरी भिडियो वा फोटो खिचे त्यस्ता मोबाइल, स्मार्ट वाच तथा अन्य उपकरण जफत गरेर जरिवाना तिराउने चेतावनी दिइएको छ ।
कोषले फोटो वा भिडियो खिचेको थाहा भएमा जरिवाना शुल्क सम्बन्धित बैंकमा बुझाएपछि उक्त फोटो भिडियो हटाएर मात्रै दर्शनार्थी, तीर्थयात्रीहरूलाई सम्बन्धित उपकरण फिर्ता गराउने भएको छ । तर जरिवाना नतिर्नेको ती उपकरण नै जफत गर्ने निर्णय गरिएको हो ।
कोषले जारी गरेको सूचनामा भनिएको छ, ‘पशुपतिनाथ मन्दिर र मन्दिर परिसर समेतको फोटो खिच्न नपाइने सम्बन्धी सूचना नेपाली–अंग्रेजी भाषामा र सांकेतिक रुपमा समेत पर्याप्त मात्रामा मन्दिर परिसरमा सूचना टाँस गरिएको छ ।’
काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई बालुवाटार पुगेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न मंगलबार साँझ भट्टराई बालुवाटार पुगेको उनको सचिवालयले जनाएको छ ।
दुई नेताबीच अहिले छलफल जारी छ । समसामयिक राजनीतिक विषयदेखि गठबन्धन, चुनावी तालमेल लगायतका विषयमा छलफल भैरहेको बालुवाटार पुगेका एक नेताले जानकारी दिए ।
छलफलमा नेपाल समाजवादी पार्टीका अर्का अध्यक्ष महेन्द्र यादव पनि सहभागी छन् ।
काठमाडौं । जापान भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र लिवरल डेमोक्रेटिक पार्टीका शीर्षनेताबीच भेटवार्ता भएको छ ।
अध्यक्ष प्रचण्ड र लिवरल डेमोक्रेटिक पार्टी जापानका वरिष्ठ नेता तथा जापानी प्रतिनिधिसभाका सदस्य एवं नेपाल जापान संसदिय समितिका सभापति तोसिहिरो निक्कईबीच भेटवार्ता भएको भएको प्रचण्डकी छोरी गंगा दाहालले जानकारी दिइन् । तोसिहिरो निक्कइ पूर्व अर्थ, व्यापार र उद्योगमन्त्री पनि हुन् ।
सो भेटका क्रममा दुई देशबीचको आपसी सम्बन्धलाई अझ सुदृढ गर्न उच्च तहका भ्रमणहरुको आदानप्रदानदेखि स्थानीय सहर/नगरहरुबिच भगिनी सम्बन्धको विकास गर्ने, नेपालको कृषि, जलविद्युत, भौतिक पुर्वाधार लगायतमा जापान सरकारको सहयोगलाई अझ वृद्धि गर्दै जाने लगायतका विषयमा छलफल भएको दाहालले जानकारी दिइन् ।
काठमाडौँ । प्रतिनिधि सभा सांसद हृदयेश त्रिपाठीले नेपालको निजामती कर्मचारीको बनावट र वितरण त्रुटिपूर्ण रहेको बताएका छन् ।
मंगलवार (आज) प्रतिनिधि सभाको बैठकमा समय माग गर्दै सांसद त्रिपाठीले नेपालको निजामती कर्मचारीको बनावट र वितरण त्रुटीपूर्ण रहेको बताएका हुन् ।
उनले नयाँ निजामती कर्मचारी ऐन नल्याएसम्म कुनैपनि सरकार लोकप्रिय नहुने दाबी गरेका छन् । सांसद त्रिपाठीले कर्मचारी समायोजन भएर गएका कर्मचारीलाई कर्मचारी मान्ने की नमान्ने कुरामा समेत दुविधा रहेको बताए ।
उनले निजामती ऐन नबनेसम्म यस्तो दुविधा रहिरने जिकिर गरे । त्रिपाठीले प्रदेश सचिव प्रशासकीय अधिकृत खटाउने व्यवस्था हचुवा भएको बताए।
उनले शासन प्रसाशनको महत्वपूर्ण ऐन,निजामती कर्मचारी ऐन कहाँ अल्झिएको हो भन्ने कुरा अहिलेसम्म खोजी हुन नसकेको बताए । निजामती कर्मचारी ऐन जारी नभएकाले सुशासन भन्दा पनि शासन गर्न समेत अफठ्यारो भएको उनले बताएका छन् ।
काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिका–४ मच्छेगाउँ चम्पादेवी बस्ने ७५ वर्षीय नारायण बस्नेतको घरबाट मंगलबार विहान गरगहना र नगद चोरी भएको छ ।
अपरिचित व्यक्तिहरूले धारिलो हतियार देखाई दराजभित्र रहेको नगद १ लाख ५० हजार रूपैयाँ, करिब २९ तोला बराबरको सुन तथा ५ थान हिराका गरगहनाहरू चोरी गरी फरार भएको प्रहरीले जनाएको छ ।
प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
काठमाडौं । बाँके, झापा र नवलपरासी (पूर्व) अवैध लागूऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बाँकेको खजुरा गाउँपालिका–६ सिमलघारी प्रतिक्षालयबाट करिब २ सय ५० ग्राम गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने १९ वर्षीय प्रेम बिक लगायत छन् ।
इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी मंगलबार राति पक्राउ गरेको हो ।
झापाको अर्जुनधारा नगरपालिका–११ स्थित चिया बगानबाट ४ ग्राम ब्राउनसुगर र २ ग्राम १३ मिलिग्राम गाँजासहित सोही ठाउँ बस्ने ३५ वर्षीय लाल बहादुर दर्जीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
अस्थायी प्रहरी पोष्ट बुट्टाबारीबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
नवलपरासी (पूर्व)को देवचुली नगरपालिका–१६ बाट नियन्त्रित लागूऔषध ३३ एम्पुल नुफिन, ३२ एम्पुल प्रोमेथाजाईन र ३३ एम्पुल डाईजेपामसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तनहुँ भानु नगरपालिका–२ बस्ने ३१ वर्षीय ईन्द्र बहादुर बाचेँ मगर रहेका छन् । उनलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।
ग.१४ प ६५०८ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय रजहरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक मगरलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
नुवाकोट । नुवाकोटको लिखु गाउँपालिका–१ ढिकुरेमा आज बिहान पहिरो खसेको छ ।
वर्षातको कारण खसेको पहिरोले टोखा छहरे सडकखण्डमा चल्ने सवारी साधनको आवागमन रोकिएको छ ।
पहिरो पन्छाई अवरुद्ध सडक सुचारु गर्न प्रहरी खटिएको छ ।
सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४
लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com
सल्लाहकार : शेरबहादुर तामाङ्ग
प्रकाशक/ सम्पादक : कुमार श्रेष्ठ