बहुमतका आधारमा कांग्रेसको म्याद एक वर्ष थप, १४ औं महाधिवेशन २०७७ फागुन ७ मा

१२ पुष

वरिष्ठ नेता रामचन्द्र पौडल समूहको बहिस्कारका बीच बसेको नेपाली कांग्रेस केन्द्रीय समिति बैठकले १४ औं महाधिवेशनको मिति तोकेको छ । शुक्रबार पार्टी कार्यालय सानेपामा बसेको बैठकले बहुमतका आधारमा आफ्नो म्याद एक वर्ष थप गरेको छ । र, १४ औं महाधिवेशन २०७७ फागुन ७, ८ ९ र १० गते गर्ने निर्णय गरेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । बैठकले अन्तरिम संरचनाको काम पुस मसान्तभित्र सम्पन्न गर्न निर्वाचन समितिलाई भनेको छ । माघबाट क्रियाशील सदस्यता वितरण तथा नविकरण हुनेछ ।

यस्तै तरुण दलको म्याद ६ महिना थप गर्ने निर्णय भएको छ भने पार्टीको केन्द्रीय विभागहरु २८ बाट बढाएर ४१ र्पुयाउने प्रस्ताव पनि पास भएको छ । त्यसअघि काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले महाधिवेशनको कार्यतालिकासहित प्याकेजमा सहमति नभएसम्म केन्द्रीय समिति बैठक बहिस्कार गर्ने निर्णय गरेको छ ।

पौडेल समूहका वार्ता टोली संयोजक प्रकाशमान सिंहको निवासमा बसेको पौडेल समूहको बैठकमा वार्ता टोलीले अहिलेसम्म भएका छलफलबारे व्याख्या गरेको थियो ।