ललितानिवास जग्गा प्रकरण : आरोप लागेका व्यक्तिको सम्पत्तिबारे अनुसन्धान सुरु

माघ,२३,
काठमाण्डौ – सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बालुवाटारको सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गरेको अभियोग लागेका उच्च तहका व्यक्तिको सम्पत्तिबारे अनुसन्धान थालेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितानिवासको जग्गा हिनामिना प्रकरणमा एक उपप्रधानमन्त्रीसहित तीन जना पूर्वमन्त्री र उच्च तहका प्रशासकसहित १ सय ७५ जनाविरुद्ध मुद्दा दायर गरेपछि सम्पत्ति शुद्धीकरकण विभागले बिहीबारदेखि उनीहरुको सम्पत्तिबारे अनुसन्धान थालेको हो ।


विभागका अनुसार यो प्रकरणमा जोडिएका पूर्वमन्त्री, सचिव र व्यवसायमा संलग्न ठूला घरानाका व्यक्तिको अनुसन्धान थालिएको हो । विभागले यस अघिदेखि नै पूर्वसचिव तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातको सम्पत्ति छानबिन गरिरहेको थियो ।

अख्तियारले पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार, मन्त्रीहरु डम्बर श्रेष्ठ, चन्द्रदेव जोशी, पूर्व निर्वाचन आयुक्त सुधीर शाह र उहाँकी पत्नी उर्मिला, पूर्वसचिवहरु दिनेशहरि अधिकारी, सहसचिव गेहनाथ भण्डारी, उहाँकी पत्नी भुवनकुमारी चापागाईँ लगायत १ सय ७५ जनाविरुद्ध मुद्धा दायर गरेको छ ।