सम्भावनाहरूको जुलुस

आत्मपरक निबन्ध
पेशल आचार्य

सम्भावना नभएको भए संसार यस्तो हुने थिएन ।

संसारको अर्को नाम सम्भावना । आवश्यकता नै आविष्कारकी जननी । खाँचो नपरी मानिसले केही काम गर्न सक्दैन÷चाहँदैन । कि खुसीमा सिकिन्छ कि तनावमा । मध्यममा शान्त हुन्छ –चित्त । ब्रह्म खुसी हुन अर्धचेतन मनका फाटकहरू खोल्नु पर्दोरहेछ ।
विश्व विकसित हुनुका पछाडि सम्भावनाले काम गर्छ । जहाँसुकै सम्भावनालाई प्राथमिकतामा राखिन्छ । चाहे काम होस् कि नहोस् ।
नेपालको हिमाल दक्षिणतिर भएको भए के हुन्थ्यो ? उत्प्रेरणा दिने सन्दर्भमा कक्षामा मैले विद्यार्थीलाई सोधेँ तत्क्षण सबै विद्यार्थी उत्तरशून्य भए । निनानसेकमा एउटाले जानी नजानी भन्यो –‘यो सबै सम्भावनाको खेल हो ।’
नेपालको उत्तरतिर हिमाल हुँदा के भएको छ ? दक्षिणतिर हिमाल भएको भए के हुन्थ्यो ? मानिसका पखेँटा भएका भए ? मानिस बिलाउँन र फेरि आफूलाई चाहिएको आकारमा आकारिकृत हुन सक्ने भए ? यी यस्ता मायावी प्रश्नहरू थिए जो मैले कक्षामा सिकाउने सिलसिलामा विद्यार्थीहरूको ध्यान खिँच्न बल्छीझैँ हानेको थिएँ । हुन त हामीले जति सोचे पनि खम्बीर उत्तर फेला पार्न सक्दैनौ । हामीलाई ज्ञात भएकै कुरा हो सम्भावना हुन पनि सक्ने भयो नहुन पनि सक्ने भयो । मानिसजस्तो मानिस नभएर अरू कुनै प्राणी मानिस भएको भए ? या आकास माथितिर नभएर तल पातालतिर भएको भए ? यी यस्ता प्रश्नहरू हुन् जसले मथिङ््गल रिङ्ग्याउछन् ।
केवल सोच्ने अवकासचाहिँ चाहियो ।

पशुभाषा या पंक्षीभाषामा मानिस पारङ्गत भए ? कस्तो हुन्थ्यो संसारिक परिवेश । रूखहरू मानिसझैँ सम्वेदना निकालेर बोल्ने भए ? आफ्नो सुन्दरता बिगारीदिएका सन्दर्भमा नदीहरू मानिसलाई सत्तोसराप गर्दै गाली गर्न सक्ने भए ? प्रकृति मानिसले झैँ आफ्नो बुद्धि प्रयोग गरी भाषामा खराखरी काम चलाउने भएको भए ? मानिसलाई आवश्यकता परेका सारा चिजबिजहरू आफैँ आफ्नो गतिअनुसार घर, खेत या जमिनमा खुरूरू उपलब्ध हुने भए ? एउटा मानिसका इच्छाहरू अरू मानिसले उसको अनुहारै हेरेर थाहा पाउने भए ? किताबका अक्षरहरू सबै फटाफटी बोल्ने भए ? तृषित मानिसलाई नदीले आफैँ पिउन पानी दिने भए ? त्यस दिन मेरा सबै शिक्षार्थीहरू तीन छक्क परे । गुरु के भन्दैछन् ? मेसो नापाएर जिल्लिए । पछि कक्षा सुरु गर्ने बेलामा मैले यो तिमेरुको होमवर्क भयो । जाने लेखेर ल्याऊ । नजाने पनि कुनै अनिवार्यता छैन भनेपछि पाठमा प्रवेश गरेथेँ ।

कल्पनाका विषय सन्दर्भहरू जसको न आदि छ न अन्त्य । सिँङ पुच्छर दुवै हुँदैनन् ।
शास्त्रले बताएको छ –हिजोका आवाजहरू आज वायुमण्डलमा छरिएर रहेका छन् । विज्ञान त्यसलाई टिप्न खोज्दै छ । सक्छ÷सक्दैन भविष्यको गर्भमा छाडिदिऊँ । मानिसलाई मानिसले बुझ्न यावत् प्रसङ्गको निर्माण गरेको छ । विज्ञान होस् कि मनोविज्ञान त्यो मानिसले मानिस बुझ्न निर्माण गरेको शास्त्र हो । प्रत्येकको चाहना र क्षमता बुझ्न सक्ने भए मानिसले आजसम्म फोर्न नसकेका अविदितका किल्लाहरू फोरिसक्ने थियो । विकटापन्न अगम्य यात्राका पथहरू नापी सक्ने थियो । मानिसलाई अजरअमर हुने चाहना र लालसाले यतिबिघ्न लोभी बनाएको छ कि ऊ आफूमा भए नभएको सबै शक्ति प्रयोग गरेरै पनि आफ्नो धितधरान छाड्न चाहिरहेको छैन ।

सभ्यताहरू सम्भावनाका खेल हुन् । युगहरू सम्भावनाका दायराहरू हुन् । जीवनजगत, कला, साहित्य, सम्पदा, शिक्षा, स्वास्थ्य र चेतना सबै सम्भावना कै हाताभित्र पर्दछन् । हुने या नहुने, सम्भव या असम्भव, सकिने या नसकिने सबै कुरामा सम्भावनाहरूकै दाउन मिसाउने गरेको पाइन्छ । मानिसले समयलाई जसरी दोहन गरेको छ त्यसमा सम्भावना नै अग्रपङ्क्तिमा आउँछ । अति सौविध्यताको यात्रा सम्पन्न गरिसकेपछि बेलायती वैज्ञानिकहरू के निचोडमा पुगे भने –मानिसलाई सिकाइने जुन विधि र शास्त्र छ त्यो अँध्यारामा छामछामछुमछुम गरेझैँ मात्रै सिद्धान्त सिकाएको भान गर्छ रे ! सबै मानिसलाई एउटै शैलीले न केही सिकाउन सकिन्छ । न त यसरी सिकाउन सकिन्छ भनेरै कसैले ठोकुवा गर्न सक्छ रे !

यो सभ्यता जानेर यहाँसम्म आइपुगेको कहाँ हो र ? अज्ञानता नै शक्ति हो । जो जान्दैन उही प्रयत्नका पहाडहरू चढ्ने कोसिस गर्छ । सिसिफस यत्न त्यसै भनिएको होइन । यत्नका सन्तान प्रयत्न हुन् । जसरी सन्धानकी पुत्री अनुसन्धान । जान्ने त फुलेर बसिरहन्छ । टुकुटुकु हिँड्ने जमर्कोमा कति असमेल प्रयत्नका नदनदीहरू तर्ने गर्छ एउटा बालक ? वाणी प्रशारणका लागि नवागत मानव नामको जीवलाई नजाने कति व्योमका दुर्गहरू चाहर्नु पर्दो होला आवाजको दुनियाँसम्म आउनका लागि ? मैले एउटा बालकलाई एकपटक कदेखि ज्ञसम्म सिकाउने जिम्मेवारी पाएँ । हप्ता दिन लगाएर सिकाएँ पनि । अन्त्यमा उसलाई लेख्न लगाउँदा उसले जानेजति सप्पै अक्षर लेखेर देखायो तर म अचम्ममा परेँ । भयो के भने –उसले सबै अक्षर त लेख्यो तर जम्मै उल्टैउल्टा । विचराको दिमागले उल्टा फोटो खिचेको रै’छ । म भने त्यहाँ अन्जान भएँ । मैले सिकाएको त सुल्टो थियो । कसरी सबै उल्टा अक्षर लेख्न सक्यो ? पछि मैले ऐना देखाएर सबै अक्षरलाई सुल्टा बनाइदिँदा त्यो बालक यति खुसी भयो कि भोलिपल्ट देखि ३६ वटै अक्षर सरासरी सुल्टो लेख्ने भयो । दिन, महिना र वर्ष बितेपछि अहिले ऊ खोटाङ्मा ओभरसियरको जागिर गरेर बसेको छ । बेलाबेलामा भेट हुँदा ऊ आफैँ ‘नमस्कार’ गरी उल्टा अक्षरको प्रसङ्ग झिकेर मैले विस्मृतिमा लगिसकेको त्यो अक्षर पुराण हँसाउँदै सम्झाउँछ ।

मैले त्यहाँ सम्भावनालाई अर्कोपटक नमन गर्ने सुअवसर पाएँ । निरक्षर बाबुआमाका सन्तानले नचिताएका विषयहरूमा तरक्की गरेका हुन्छन् । बास्तवमा यो भवसागरमा सिकाउने मानिसले होइन रहेछ । प्रकृतिले सिकाउने÷सदाउने रहेछ । जीवनभर कविता लेखेका एक कविलाई जिज्ञासापरक प्रश्न सोध्दा ‘मैले कविता लेख्न जानेकै छैन’ भन्दा म तीन छक्क परेको छु । कसरी भयो त उनको लेखन यात्रा ? जीवनमा धेरै कुराहरू जानेर भन्दा पनि नजानेर गरिँदो रहेछ । अर्को एकपटक विश्व विद्यालयका प्राडा हामीलाई थेसिस सिकाउन आए । सिकाए । गए । तिनले त्यहाँ भनेका नानागरी दिमागमा कुनै पनि रहेनन् । एउटा मात्र बाँकी छ –‘थेसिसमा कुनै पनि थ्योरीले काम गरेनन् भने आफैँलाई सोध्नु । रोकिएका अनुच्छेद र परिच्छेद शततः अघि बढ्नेछन् । आफैँ प्राश्निक र आफैँ उत्तरदाता हुँदा जति सपाट जवाफ मिल्छ त्योभन्दा आनन्द कहिल्यै नमिल्ने रहेछ ।’

जटिलताका गुत्थीहरू आफूले जति कसैले खुलाउन नसक्ने रहेछन् –यहाँ ।
हजारौं वर्षको आरोहअवरोह यात्रा गर्दै नजान्दा नजान्दै मानिसहरू यहाँसम्म आइपुगेका हुन् । अझ कतिकति अगम्य यात्रा गर्नु छ मानवले ? त्यो पनि अविदित छ । संसार भनेकै पछारिँदै उठ्दै गर्ने हो । जोकोही त्यसै गर्छन् । गरिने कामहरू अनवरत हुने हुँदा नदोहोरिने भएपछि मानिसलाई अघिल्लो कामको अनुभवै हुँदैन । मैले यति जानेको छु । उति जानेको छु । यति पढेको छु । उति पढेको छु । मेरो योग्यता उसको भन्दा यतिले बढी छ । या छ त्या छ भनेर मानिस आफ्नो मुखबाट आफ्नै प्रशंसा गर्छ । दुनियाँका मपाइँत्व सबै फत्तुर मात्रै हुन् । आफैँले आफ्नो नाम काड्ने त कागले हो । कोइलीहरू कहिल्यै आफ्नो नामोच्चारण गर्न मन पराउँदैनन् । दाउनका चुरो नहुनेहरू काग दर्शनका अनुयायी हुन् ।

चेला हुन सजिलो छ । गुरु हुन गारो । गुरुहरू कहिले आफू रनभुल्लमा पर्दा गुगलका साम्राज्यमा भौंतारिएका देखिन्छन् । हामीले गुरु मानेकाहरूका गुरु अर्थात् महागुरु त गुगुल पो रहेछ । ती हराएका छन् –असमेल ज्ञानका सिन्धुमा । विन्दु पक्रिनका लागि जीवन न्योछावर भैसक्छ । आखिरमा हात लाग्यो सून्य । निबन्धका माहिर खेलाडी मानिने एकजना निबन्धकारलाई सोधेँ –निबन्धको सामल के हो ? कसरी निबन्ध मार्गमा यायावर पथिक हुन सकिन्छ ? जवाफमा उनले भने –‘भ्रान्तीका पर्दा नचिरी निबन्धका विषय र वासनाहरू निखन्न मुस्किल पर्छ बाबै ! गद्यमा चबाउन मिल्ने सबै ज्ञान खारेर नौनी पगाल । निबन्धका लागि यायावर हुन सिक । आफैँलाई बिर्सेर खोज धुइँपात्ताल ।’ त्यसदिन देखि मैले पुस्तकभन्दा प्रकृतिका चित्रहरू यायावरीय शैलीमा पढेको छु । अभावका झरीमा रुझेर अभिव्यक्ति पोख्न सिकेको हूँ । जाडोले जीवनका जडौरी कविताहरू मलाई सिकाएको हो । पारिवारिक विछोडमा गीतका स्थायी र अन्तराहरू फुत्तफुत्त कृष्ण विवरबाट निस्कन्छन् । खल्ती रित्तिएपछि कथाहरू जन्मन्छन् । अन्जान सहरमा एक्लै पर्दा उपन्यासका संकथनहरू मित्र बनेर ढोका नक गर्दै संवादार्थ आइपुग्छन् । कति उम्दा विषयहरू मैले कक्षामा सहिद बनाएको छु । मलाई चिया पसलमा बसेर नाहकमा गरेका गफहरू प्रति अहिले मिठो दुखेसो छ । जहाँ मैले सयौं आत्मपरक निबन्धका सन्दर्भलाई त्यसैत्यसै छोडिराखेर हिँडेको छु । बसमा यात्रा गर्दा झ्यालबाट देखिएका गतिशील दृश्य फालकहरूले कविताका श्लोक गुच्छीहरू पछि छोडिराखेको भान हुन्छ ।

मैले नलेखेको भए आदरणीय पाठकहरू यहाँ पाठक हुन पाउनु हुने थिएन । यहाँ पनि सम्भावना कै खेलले काम गरेको छ । जीवनमा हरेकका उमेरमा एकपटक न एकपटक भाग्य नामको चिजले दस्तक दिएर जान्छ रे ! कोहीले तुरुन्तै अनुभूत गर्न सक्छन् कोहीले त्यसलाई हेक्कै गर्न सक्दैनन् । जो अनुभूत गर्न सक्छन् ती जीवनमा तरक्की गर्न सक्ने हुन्छन् जो सक्दैनन् सत्तोसराप मात्र गर्छन् –भाग्य नामको पक्षीलाई । मानिस हातको चरा उडाएर अर्को चरा पक्रने अनर्गल प्रयास गर्छ –जीवनमा ।

बाँच्दै गएपछि मात्र पत्तो पाइँदो रहेछ । जीवन भनेको जुवामा च्याँखे थापेजस्तै रहेछ । थाप्यो पर्छ । फेरि थाप्यो फेरि पर्छ । धेरै लालसा राखेर धेरै राशि थाप्यो त्यसपछि पर्दैपर्दैन । च्याँखे पर्ने पनि सम्भावना नै हो । यतिका दिनका पुच्छर समातेर जीवनरूपि नौकामा चढेपछि मैले थाहा पाएँ हामीले पाएका र गरेका सबै चिजहरू सम्भावनाका जेब्राक्रसबाटै आउनेजाने गर्दा रहेछन् ।
विषयी र वासनाजस्तै यी सम्भावनाका पुतलीहरू हाम्रा जीवनभर हामी अगाडिपछाडि उडेरै हामीलाई लोभ्याउने रहेछन् । यसरी जीवन भित्रको सम्भावना र सम्भावना भित्रको जीवनलाई हामीले सम्भावना भित्रै रहेर भोगचलन गरेका रहेछौं ।
शास्त्रलाई निचोरेर दर्शन बनाइयो । व्यवहारलाई पकाउन दाउन बनाइएको छ । वासनालाई अनेक विषयमा रूपान्तरित गरेर मानिस साखुल्ले बन्न खोज्दैछ । ससाना नानीहरूका किताबदेखि पिएच्डीसम्मका अध्ययन र खोजीमा विषयका नामाकरण गरिएका छन् । ती सबै सम्भावनाहरू हुन् ।

रमाइलो कुरा त के छ भने सामाजिक शिक्षा विषयमा पारङ्गत भएको भनिएको ज्ञाता असामाजिक देखिन्छ । अनुज र भान्तेमा आफ्नो उपस्थिति खोज्ने लालसा प्रत्येक उँचा भनिएका व्यक्तित्वमा हुन्छ तर ‘वैद्यका छोराछोरी गलगाँड’ भनिएझैँ कसैको पनि पुस्ता दरपुस्तामा एउटै क्षेत्रको विज्ञता संसारले पाउन सकेको छैन । माक्र्सका सन्तानहरू माक्र्सका पथालम्बी भएनन् । गान्धीका वंशस्थहरूले ज्ञानीको कर्पोरेट छवि देखाउन सकेको पाइएन् । सेली, न्यूटन, रवीन्द्र बाबा, देवकोटा, भूपी, लामिछाने जोकोही होस् सन्तान बाउका बाटामा हिँडेको छैन । किन ? अविदित र सम्भावनाका मार्गमा हिँड्न कोही कसैलाई गुरु थापेर गुरुदक्षिणा दिनु पर्ने दरकार रहँदैन रहेछ । एकलव्य आफैँ एक्लो हिँडे । रवीन्द्र बाबाले भनिनै हाले –‘एकला चलो रे । एकला चलो रे । एकला चलो रे ।’
लामो फेहरिस्त प्रकट हुन जान्छ –यहाँ ।

विषयका सम्भावना । वासनाका सम्भावना । केवल सम्भावना । मात्र सम्भावना । आदि सम्भावना । अन्त्य सम्भावना ।
संसार नै फगत् सम्भावनाहरूको जुलुस मात्र रहेछ ।

(यो निबन्ध आचार्यको हालै प्रकाशित एवम् चर्चित ब्याक बेन्चर निबन्धसंग्रहबाट लिइएको हो ।)