दैनिक उपभोग्य सामाग्रीको अभाव हुन थालेपछि सिन्धुलीमा घुम्ती पसल

चैत, १७

रामेछाप । लकडाउनले उपभोक्ताको घरमा दैनिक उपभोग्य सामाग्रीको अभाव हुन थालेपछि सिन्धुलीको कमलामाई नगरपालिकाको आयोजना, सिन्धुली उद्योग वाणिज्य संघको संयोजन र कमलामाई सप्लायर्सको सहयोगमा कमलामाई क्षेत्र भित्र सुपथ मुल्यको घुम्ती पसल संचालनमा ल्याएको छ । नगर भित्र लकडाउनको समयमा उपभोक्ताको घर–घरमा दैनिक उपभोग्य सामाग्री पुर्याउन सुपथ मूल्यको घुम्ती पसल संचालन गरेको संघका बरिष्ठ उपाध्यक्ष अर्जुन कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

नगर क्षेत्रका भित्री गाँउलाई लक्षित गरी उक्त पसल सञ्चालनमा ल्याएको उहाँको भनाई छ ।

घुम्ती पसल आइतबार कमलामाइ नगरपालिकाको मिलन चौक, सांगबाले, खट्टार, कुडुले र डाडी क्षेत्रमा सञ्चालन गरिएको सिन्धुली उद्योग बाणिज्य संघले जनाएको छ । कमलामाई नगरपालिकाका १४ वटै वडामा घुम्ति पसल सञ्चालन हुने नगरपालिकाका सूचना अधिकारी सागरकुमार ढकालले जानकारी दिनुभयो ।

संघले आफ्ना उपभोक्ताहरुलाई सामान खरिद गर्न आवह्वान पनि गरेको छ ।