आगलागीबाट ३ घर जल्दा ६० लाख भन्दा बढिको क्षति

चैत,२०, प्रविण मुनाल,
ओखलढुंगा । ओखलढुंगाको श्रीचौरमा विद्युत सर्ट भएर आगलागी हुँदा करिब ६० लाख बराबरको क्षति भएको छ । मोलङ गाँउपालिका ६ श्रीचौरका जाङ्बु शेर्पाको घरबाट सुरु भएको आगोले छिमेकी टेकमान तामाङ र पदम तामाङको घरमा पनि क्षति पुगेको हो ।

आगलागीबाट जाङ्बु शेर्पाको ढुंगा माटो र काठले बनेको २ तले घर होटल अन्नपात, भाँडावर्तन, तत्ताकपडा, घरमा रहेको नगद २ लाख ६० हजार, १ लाख ६० हजार बराबरको पसलको समान गरि ६० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरिक्षक मिलन सिंह बस्नेतले जानकारी दिनुभएको छ ।
यस्तै छिमेकी टेकमान तामाङको घरको बरण्डा र झ्यालमा क्षति पुग्दा १० हजार बराबरको क्षति भएको छ । अर्का छिमेकी पदम तामाङको पनि घरको बरण्डामा आगोले क्षति पुर्याउदा ७ हजार बराबरको क्षति भएको छ । प्रहरीको अनुसन्धानबाट शेर्पाको घरमा विद्युत सट भइ आगलागी भएको पाइएको छ ।
आज बिहान ६ : ३४ बाट सुरु भएको आगो प्रहरी चौकी श्रीचौरबाट खटिएको प्रहरी टोली र स्थानीयबासीको सकृयतामा बिहान ९ बजे नियन्त्रणमा लिइएका प्रहरीले जनाएको छ ।