बारीको डिलबाट लडेर एकको मृत्यु

वैशाख,०३

रामेछाप । रामेछापको मन्थली नगरपालिकाको चिप्लिसेमा एक वृद्धको लडेर मृत्यु भएको छ । मन्थली नगरपालिका ३ स्थित कठजोरका ५७ वर्षीय पुस्कल थापाको लडेर ज्यान गएको हो ।

मन्थली नगरपालिका २ स्थित चिप्लिसेमा छोरीको घरमा आएका थापाको घरमाथि बारीको डिलमा घाम तापेर बसेको ठाउँबाट लडेर मंगलबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रवक्ता टेकेन्द्र पौडेलले जानकारी दिनुभयो ।

बारीको डिलबाट तल खसेका थापाको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शव प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा ल्याइएको थियो । प्रहरीका अनुसार पोष्टमार्टमपछि मृतक थापाको शव केहीबेर अघि उनका आफन्तलाई जिम्मा लगाइएको छ ।