सनसिटीका कोरोना संक्रमितसँगै आएका थिए १५३ यात्रु

बैशाख ०३,निरोज कुमार थापा,

काठमाडौँ। काठमाडौँको पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका २ जना (आमा÷छोरा) मा कारोना भाइरसको संक्रमण पुष्टि भएसँगै राजधानीमा त्रास बढेको छ ।

८१ वर्षीया वृद्धा महिला र ५८ पुरुषमा कोरोनाको संक्रमण पुष्टि भएपछि उनीहरुसँगै काठमाडौँ आएका अन्य यात्रुको खोजी कार्य तीब्र पारिएको छ । संक्रमित २ जनासँगै अन्य १५३ जना यात्रु कतार एयरवेजको क्यूआर ६४४ नम्बरको विमानमार्फत चैत्र ४ गते काठमाडौं आएका थिए ।

बेलायतबाट कतारको दोहा ट्रान्जिट भएर काठमाडौं उत्रिएका उनीहरुको प्रहरीले खोजी कार्य तीब्र पारेको छ । लकडाउन घोषणा हुनु पहिले नै काठमाडौँ आएका उनीहरुको खोजी कार्य तीब्र बनाईएको प्रहरीले जनाएको छ ।

सरकारले संक्रमित २ जनासँग सम्पर्कमा रहेका र उनीहरुसँगै एउटै जहाजमा आएकाको अनिवार्य खोजी गर्न प्रहरीलाई निर्देशन दिईसकेको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कार्यालय र कतार एयरवेजले उक्त उडानमा आएका सबै यात्रुको व्यक्तिगत विवरण प्रहरीलाई दिईसकेको छ ।