सांसदले पाउने बजेट कोरोना कोषमा राखिने

वैशाख, ०२ निरोज कुमार थापा,

काठमाडौँ। प्रतिनिधिसभाका सांसदहरुले पाउँदै आएको बजेट कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा राखिने भएको छ ।

स्थानीय पूर्वाधार विकास कार्यक्रमअन्तर्गतको चालु आर्थिक वर्षको खर्च हुन बाँकी र आगामी आर्थिक वर्ष २०७७/२०७८ को बजेट कोरोना रोकथाम कोषमा राख्नेबारे आज सहमति जुटेको हो ।

मंगलबार दिउँसो झण्डै ५ घण्टा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रतिनिनिधसभामा प्रतिनिधित्व गर्ने दलहरुका प्रमुख सचेतक, सचेतक, सभामुख, संघीय संसद्‍का कार्यवहाक महासचिव, सचिवलगायत उपस्थित थिए ।

प्रतिनिधिसभामा निर्वाचित १६५ जनालाई चालु आर्थिक वर्षमा ६ करोडको दरले बजेट छुट्याइएको थियो । यो बजेट एकमुष्ट रुपमा हिसाब गर्दा करिब १० अर्ब जति हुन आउँछ ।