आमाबुबा

लेखक –सजना वाइबा सन्ध्या

कविता …………………………….

नौ महिना गर्भमा बोकेर

कालको पखेटाको छायांमुनि रहेर

रगत र पसिनाको भेलमा डुबेर

मृत्यु र जीवनको पैतालामुनी कराउँदै कराउँदै 

यो धर्तिमा मुटुको टुक्रा झैँ 

आफ्नो सन्ततिलाई जन्म दिने 

उनै हुन् मेरि आमा ।

धाजा फाटेका खेतहरु झैँ 

पट्टपट्ट फुटेका कुर्कुचा 

चिराचिरा परेका पैताला

बुढेसकालले चाउरिएर 

सर्वहारा पीडा बोकेका खस्रा

हत्केलाहरुको सहारा लिई

घम नभनी पानी नभनी 

हरेक मौसम सङ्ग जुधी दिने

उनै हुन् मेरो बुबा ।

त्यसैत्यसै कठ्याङ्ग्रीने पुसमाघको जाडोमा

कति काम्दो हो मुटु

जमिन पुरै डढ्लाजस्तो 

चैत बैशाखको टन्टलापुर घामले

कति पोल्दो हो कठै

वर्षयामको झरीसङ्गै कति निल्दो हो

अमिलो आँसु

तरपनी पिडाहरुलाई पिडाले थिचेर

सगरमाथा झैँ मुस्कुराइदिने

उनै हुन् मेरि आमा ।

अभावको हतियारमाथी पाइला टेकेर

मनमा दुखको अजङ्गको पहाड बोकेर

आफ्ना रहरलाई सिमलको भुवासङ्गै कतै उडाएर

निर्मम पिटेर फलामलाई हतियार बनेझैँ 

दुखै दुख र अभावले पिटिएर थिचिएर आफू

मलाई सफलताको सिढी चढाईदिने

उनै हुन् मेरो बुबा ।

कयौं दिनदेखी मलजल नपुगेको 

बिरुवा झैँ शरीर बोकेर

मेरो स्याहारमा लिप्त रहेर

मेरो हर मुस्कानसङ्ग जीवन खोज्दै

मेरो प्रत्येक स्वासप्रस्वासमा 

आफ्नो प्राण खोज्दै

भोको र रित्तो पेट भर्न अमिलो आँसु पिउँदै

मलाई अमृत पिलाउने 

उनै हुन् मेरि आमा ।

खियाएर दस नङ्ग्रा

चुहाएर निधारबाट पसिनाको धारो

वनपाखासङ्ग मितेरी गाँसेर

ढुङ्गामाटोसङ्ग युद्ध लडेर

जीवनभर हलो र कोदालो समाएका हातले

मेरो हातमा कलम कापी थमाइदीने

उनै हुन् मेरो बुबा ।