कोरोना महामारी अन्त्य हुन नपाउदै डेंगु र स्क्रबटाइफसका बिरामी फेला

बैशाख ११,

म्याग्दी । विश्व नै कोरोनो भाइरस (कोभिड १९) को संक्रमणबाट आक्रान्त भैरहेको अवस्थामा हिमाली जिल्ला म्याग्दीमा भने डेंगु र स्क्रबटाइपसको संक्रमित बिरामी देखिएका छन् ।

उच्च ज्वरो आउने, जाडो हुने र जोर्नी दुख्न थालेपछि चेकजाँच गर्ने क्रममा त्यहाँका एक युवामा डेंगु रोगको संक्रमण भेटिएको बेनी अस्पताल म्याग्दीले जनाएको छ । मंगला गाउँपालिका–५ अर्मनका ३२ वर्षीय युवामा डेंगुरोग र स्क्रबटाइफस संक्रमण देखिएको अस्पतालका मेडिकल अधिकृत डा.अजय गौतमले बतागनुभयो ।

१०४ डिग्री फरेनहाइटसम्म ज्वरो आएका ती युवाको अहिले चिकित्सकको निगरानीमा उपचार भइरहेको र उनको स्वास्थ्य अवस्था सामान्य रहेको डा.गौतमले वताउनुभयो ।

गत वर्ष म्याग्दीमा १२ जनामा डेंगु तथा एक महिलामा स्क्रबटाइफस संक्रमण भएको थियो। दुवै रोगबाट उच्च ज्वरो आउनेलगायत लक्षण देखिने भएकाले पनि अहिलेको समयमा कोरोनाको जोखिम भन्दै त्रसित हुने गरेका छन्।