एक हजार कुखुरा जलेर नष्ट-सात लाख बराबरको क्षति

२०७७ बैशाख १३ शनिबार

तनहुँ । भानु नगरपालिका–२ स्थित भकुन्थोकको एक कुखुरा फार्ममा शुक्रबार आगलागी हुँदा खोरमा रहेका एक हजार ब्रोइलर कुखुरा जलेर नष्ट भएका छन् । आगलागीबाट भौतिक संरचना तथा कुखुरा गरी करिब रु सात लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

विद्युत चुहिएर आगलागी भएको कुखुरा व्यवसायी हरि बस्यालले जानकारी दिए । प्रहरी नायब निरीक्षक पूर्णबहादुर अधिकारीको नेतृत्वमा गएको प्रहरी टोलीले घटनाको मुचुल्का तयार गरी ल्याएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।

खरको छानो रहेकाले कुखुराको खोर सजिलै जलेर पूर्ण नष्ट भएको भानु– २ का वडाध्यक्ष अर्जुनबहादुर अधिकारीले जानकारी दिए । ती कुखुरा ३७ दिनका थिए । खोरका कुखुरामध्ये १५/२० मात्रै  जीवित  भएको  उनले  कृषकलाई  क्षतिपूर्तिका लागि नगरपालिकाका तर्फबाट पहल गरिने आश्वासन दिए । रासस