बा-आमा कै अंशबण्डा

कविता…..

बाँदर लाग्ने मकैबारी
दुम्सीले माडेको खोरिया घारी
बँदेलले उदिन्या तरुल बारी
आँगनीको हाँस, परेवाका खोर
माहुरीको रित्ता डुँडहरू
बुन्दा-बुन्दै छोडेको डोका र पाटका बरिया
दलिनको टोड्के ढिकी र कोप्चे जाँतो
रित्ता दाम्ला अनि खाली किल्लाहरू
घुर्यान मै छिरेको खहरेको ढुङ्गा
अनि दुई मुट्ठी सुकेका बाँसका चोया
बस् यति नै छ बाँकी हाम्रो सम्पत्ति
छोरा, तिमीहरूले यही अंश लैजानु ।

घरभित्रका हाम्रा अनमोल यिनै जिनस
चम्का भत्किएको माटे–अगेनो
बिट भाँचिएको सिलाबरको डेक्ची
कान लुछिएको थोत्रे कुँडे र जरु
कब्जा उक्किएको बुढो सन्दुक
मुग्लानबाट हजुरबाले ल्याएका पानसोनिक रेडियो
आमाले सिन्दूर टीका लाउने बिर्के ऐना
र लट्टा फुटाउने बाँसको काइँयो
तेरी आमा अन्माउँदा मैले दिएको
चाराना भरीको काला मारवाडी
खोरियाबाट अधियाँमा आएको साँढे तीन पाथी मस्याङ
अनि मान्द्रोले छोपेर सोलीमा राख्या कागुनोको बीउ
बस् यत्ति नै छ बाँकी हाम्रो सम्पत्ति
छोरा, तिमीहरूले यही अंश लैजानू ।

आकाश गङ्गा छर्लङ्ग देखिने खरको छाना
टाटीको माटो उक्किएका बनमाराका चार भित्ता
धमिराले मक्किएका खुट्टे खाट
र धुल्या लाग्या काठे–दराज
बार्दलीमा झुण्डिएका सुकेका मखमली
हजुरबाले पहिला ओडेको यो कालो मण्डी
अँगेना माथिको ध्वाँसो लागेका यी बाँसका कप्टेरा
नुन राख्ने सोली र तीनवटा फिपी
अनि तिमीहरू सहरमा पढ्दा घ्यु पठाउने ठेकी र हर्पे
मोतियाविन्दुले धमिल्याएका हाम्रा चार आँखा
सौच जान नसक्दाका कोपरा
बस् यत्ति नै छ बाँकी हाम्रो सम्पत्ति
छोरा, तिमीहरूले यही अंश लैजानु ।

आगनको त्यो बुढो खनिउको रुख
करेँसामा उम्रिएका नाबो लुँडे र बेथेका साग
एकदशी पछि नलिपिएको तुलसी मोठ
काँक्रा, फर्सी बेरिन नपाएर ठिङ्ग्रिएका थाङ्ग्राहरू
गोरु नभए पनि पहिलाकै हल्लुडोँ, अनौ र हरिशका ठुटाहरू
कुखुरा र हाँस बस्ने खाली पेरुङ्गो
वर्षौंदेखि बगेका मेरा अमिला पसिना
अनि पुर्खौं देखि मैले लुकाएर राख्या हाम्रा अभाव र सपना
बस् यत्ति नै छ बाँकी हाम्रो सम्पत्ति
छोरा, तिमीहरूले यही अंश लैजानु ।

बाँकी यत्ति नै छन बचेका हाम्रा जायजेथा
जे जति थिए,सबै बेचिए सबै सकिए
तिमीहरू लाई सहराँ पढाउँदा
घँघराका लौरी झैँ ठेला उठेर फुटेका यी ‘कुरूप’ हात
तिम्रा शिरमा राखी आशीर्वाद सहित विन्ती गर्छु
जे जति छन्, बाँडेर सबै लैजाओ
बाँडीचुँडी मिलेर खाओ ।

जम्ल्या हात जोडी पुनः एक बिन्ती गर्छु बाबै
पुर्खौली जेथाका लागि कलह नमच्चाओ
भए भरका जे छन्, सबै लैजाओ
तर ……
तिम्री आमा र मलाई चाहिँ अंशबण्डा नगरिदेओ
बरु हामी थोरै नै खाइदिउँला तिम्रा हबेलीमा
हामी बुढेश्सकालमा सँगै रही मर्न चाहन्छौँ
हामीलाई दुईतिर पर्ने गरी अंश नलगाइद्याओ ।
दुईतिर पर्ने गरी अंश नलगाइद्याओ ।

✍️ निर्मल घिमिरे 

बालगङ्गा हरिवन–१०, सर्लाही 

हाल जापान