गुम्देलमा एक जनासहित रामेछापमा १ सय ७९ जनाको र्‍यापिड टेष्ट रिपोर्ट नेगेटिभ

वैशाख, १७,

रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका वडा नं १ गुम्देलका ४७ जनाले नियमित सेवन गर्ने औषधि पाएका छन् ।

उनीहरुले गाउँपालिकाले उपलब्ध गराएको नियमित औषधि १ महिनाको लागि निशुल्क पाएका हुन । साथै बुधबार पालिकामा औषधि बितरण संगै चैत्र महिनामा बिदेशबाट नेपाल फर्केका नागरिकहरुको कोरोना परिक्षण पनि गरिएको छ । परिक्षण गुम्देलमा गरिएका हो ।

गाउँपालिका अध्यक्ष शेर बहादुर सुनुवारको उपस्थितिमा भएको कार्यक्रममा उपाध्यक्ष उर्मिला कार्की बस्नेत, प्रमुख प्रशासकीय अधिकृत ईश्वरी प्रसाद सुवेदी, स्वास्थ्य शाखा संयोजक दिपेन्द्र कुमार पैकरा, गाउँपालिकाको कर्मचारी तथा स्वास्थ्य कर्मिहरु र ईलाका प्रहरी कार्यालयका इन्चार्ज प्रेम कुमार मिश्रको पनि सहभागिता रहेको थियो।

परिक्षणमा १ जनाको कोरोना परिक्षण भएकोमा रिपोर्ट नेगेटिभ आएको  स्वास्थ्य शाखा संयोजक दिपेन्द्र कुमार पैकराले बताउनुभयो।

 त्यस्तै रामेछाप जिल्लामा हालसम्म १ सय ७९ जनाको र्‍यापिड टेष्ट गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ देखिएको छ । जिल्लामा बुधबारसम्म ३९ जना महिला र १ सय ४० जना पुरुष गरी १ सय ७९ जनाको र्‍यापिड डायग्नोस्टिक टेष्ट (आरडीटी) प्रविधिबाट कोभिड-१९ को परीक्षण गरिएको र सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला अस्पताल रामेछापका प्रमुख जितेन्द्र कर्णले जानकारी दिनुभयो ।