एडिबीले नेपाललाई ३१ अर्ब सहुलियत ऋण दिने

बैशाख १८,

काठमाडौं :  एशियाली विकास बैंक,एडीबीले ३ लाख अमेरिकी डलर बराबरका स्वास्थ्य सामग्री र २५० मिलियन अमेरिकी डलर अर्थात करिब ३१ अर्ब सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ । अर्थमन्त्री डाक्टर युवराज खतिवडा र एशियाली विकास बैकका अध्यक्ष मासाचुगु आसाकावाबीच कोभिड–१९ का कारण परेको असर र त्यसमा बैंकले गर्न सक्ने सहयोगबारे बुधबार भएको टेलिफोन वार्तामा बैंकले त्यस्तो जानकारी दिएको हो । वार्तामा अर्थमन्त्री र बैंकका अध्यक्षबीच कोभिड–१९ ले अर्थतन्त्रमा पार्ने प्रभाव, एशियाली विकास बैंकले नेपाललाई गरिरहेको सहयोग र आगामी दिनमा नेपालको विकासका प्राथमिकताका क्षेत्रमा बैंकले गर्नसक्ने थप सहयोगका विषयमा छलफल भएको थियो ।

अर्थमन्त्रीले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि नेपालले लिएको रणनीतिबाट ठूलो सङ्क्रमण हुन नपाएको जानकारी गराउँदै कोरोना महामारीको असरलाई सम्बोधन गर्न बैंकले अनुदान सहयोगमा ३ लाख अमेरिकी डलर बराबरका स्वास्थ्य सामग्री र २५० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण बजेट सहायताको रुपमा प्रदान गर्न लागेकामा आभार व्यक्त गर्नुभएको अर्थ मन्त्रालयले जनाएको छ।