नेकपा सचिवालयको बैठक आज अपराह्न ४ बजे बस्ने, नेताहरु परामर्शमा व्यस्त

वैशाख २०,

फोटो सु्र्य थापाको टुइटरबाट (यसअगिको बैठकको )

काठमाडौं ।

काठमाडाैं-नेकपा सचिवालय बैठक आज साँझ ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ। १७ वैशाखमा स्थगित भएको बैठक आज बेलुका ४ बजेका लागि बोलाइएको पार्टी महासचिव विष्णु पौडेलले जानकारी दिनुभयो ।

सचिवालय बैठकका विषयमा छलफल गर्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार प्रधानमन्त्री केपी ओलीलाई भेट्न बालुवाटार र वरिष्ठ नेता माधव नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए।

नेपाल निवासमा भएको छलफलमा प्रचण्ड–नेपाल समूहका नेताहरुले प्रधानमन्त्री ओलीको तत्काल राजीनामा माग्ने निष्कर्ष निकालेका थिए । प्रधानमन्त्रीले राजीनामा दिए आपसी सल्लाहमा प्रधानमन्त्री चयन गर्ने निर्णय भएको एक नेताले बताए।

यसअघि बसेको सचिवालय बैठकमा अध्यक्ष प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतमलगायत नेताहरुले प्रधानमन्त्री ओलीको राजीनामा मागेका थिए। प्रतिउत्तरमा ओलीले आफूले कोरोना भाईरस संक्रमण कम भएलगत्तै गाैतमलाई प्रधानमन्त्री र नेपाललाई पार्टी अध्यक्ष छाड्ने वचन दिएका थिए।

प्रधानमन्त्रीको राजीनामाका विषयमा ओली समूह र नेपाल–प्रचण्ड समूहबीच विवाद देखिने भएकाले आजको सचिवालय बैठकलाई चासाेपूर्ण रुपमा हेरिएको छ।