सरकारले परीक्षा रोक्ने निर्णय गर्दा अपरिपक्वता देखाएकै हो

( केशव तिमल्सिनासँग गरिएको वार्ताको सम्पादित अंश –सम्पादक)

१) यहाँ आजकाल कोरोनाले शैक्षिक सत्र २०७७ लाई एक्कासी अवरोध पु¥याएको बेला के गरिरहनु भएको छ ?

लकडाउनका सुरूवाति दिनहरूमा त पारिवारिक तथा व्यक्तिगत काममै व्यस्त भइयो । पछिल्लो अवस्थामा भने स्कूलको प्रशासनिक काममा केही व्यस्त भइएको छ । चालू शैक्षिक सत्रको शैक्षिक योजनाको काम भैरहेको छ ।

२) एस्इई, कक्षा ११ र कक्षा १२ का परीक्षा बारेमा विभिन्न व्यक्तिहरू विभिन्न प्रकारका अड्कलबाजी गरेर आआफ्नो प्रकारले रोटी सेकिरहेका छन् । लामो समयदेखि शैक्षिक संस्थाको नेतृत्व सम्हालेको व्यक्तिका नाताले तपाईंका विचारमा समस्याको सही समाधान चाहिँ के हुन सक्ला ? कृपया उपायहरू समेत बताइदिनुहोस् न ।

यस वर्षको एसईई का विद्यार्थीका लागि कारोना संक्रमण ठूलो दुर्भाग्य भएर आयो । परीक्षाको मुखमा पुगेर परीक्षा स्थगित हुनुजस्तो दुर्भाग्य विद्यार्थीका लागि अरू के हुनसक्ला र ! सरकारले पनि परीक्षा रोक्ने निर्णय गर्दा अपरिपक्वता देखाएकै हो । परीक्षा रोक्नुपर्ने अवस्था विकसित भैरहेको अगृम जानकारी पाएको सरकारले समयमै परीक्षा रोक्ने निर्णय दिनुपर्थ्यो वा आवश्यक साबधानी अपनाएर तालिका बमोजिम नै परीक्षा गराएको भए हुन्थ्यो । अब जे हुनु भैसक्यो, केही सामान्य अवस्था बनेपछि परीक्षा गर्नुपर्छ । अहिले परीक्षा नलिइकनै सर्टिफिकेट दिने हल्ला जुन आईरहेको छ, त्यो उचित बाटो होइन । यसो गर्दा जेहेन्दार विद्यार्थीको मेहनत माथि अपमान हुनुको साथै गलत संस्कारको नजिर बस्न सक्छ । अनि बिना स्कोर ११ कक्षामा कसरी भर्ना लिने स्कूलहरूले । आशा गरौँ, लकडाउन चाँडै सामान्यिकरण भएर विद्यार्थीले सहज तरिकाले परीक्षा दिन पाउनेछन् ।

तर लामो समय एसईईका परीक्षार्थी पढाइ र स्कूलसँग कनेक्ट नभएकोले यो वर्षको नतिजामा ठूलै क्षति हुने जोखिम छ । स्वअध्ययन गर्नेखालका विद्यार्थीको लागि भने यो समय बलियो तयारीको मौका समेत हो । अहिले ११ र १२ को भन्दा १० को परीक्षालाई बढी मर्का परेको जस्तो लाग्छ ।

३) लकडाउन खुल्यो नै भने पनि स्कुल, क्याम्पस, सिनेमा हल, डिपार्टमेन्टल स्टोर्स, हाटबजार र मानिसको धेरै जनसंख्या एकै स्थानमा भेलाजम्मा हुने स्थानहरू चाहिँ धेरै पछि मात्र खुलाउने भनी सरकारका जिम्मेवार मन्त्री र मानिसहरू नै भनिरहेका छन् । यो बारेमा चाहिँ यहाँको धारणा जान्न सकिन्छ कि ?

हो, स्कुल कलेज जस्ता धेरै मानिसहरू जमघट हुनुपर्ने स्थानहरू स्वास्थ्य जोखिमका हिसाबले अलि बढि संवेदनशील हुन्छन् । लकडाउन खुलेपछि भने यो ग्यापलाई अनावश्यक लम्ब्याउनु उचित हुँदैन । बरू आवश्यक साबधानी अपनाएर शैक्षिक गतिविधि र पठनपाठनलाई अगाडि बढाउनु पर्छ । धेरै भिडभाड गर्दा जोखिम हुने भएकोले थोरै थोरै विद्यार्थी बोलाएर कक्षाहरू शिफ्टमा चलाउन पनि सकिन्छ नि ! तर यहाँ त यस्ता अनेक बहानामा गर्नुपर्ने काम टार्ने र सार्ने परिपाटी पनि छ । संक्रमण व्यापक फैलिँदै गयो भने त बन्दाबन्दी थप कडा गर्नु र सिमानाहरू सिल गर्नुको विकल्पै छैन । सबैभन्दा ठूलो त जीवन हो नी ! त्यस पछि पो अरू कुरा । फेरि यो हाम्रो मात्र समस्या पनि त हैन । विश्व नै तहसनहस भएको बेला अहिले मानव सभ्यता नै संकटमा छ नी !

४) लकडाउन अझै २÷३ महिना याने कि असार÷साउन सम्म गयो भने सरकारलाई यहाँ केकस्तो व्यवहारिक सल्लाह दिनु हुन्छ ? त्यसो हुँदा शैक्षिक सत्र नै गोलमाल हुने अवस्था आउँदैन र ?

लकडाउन कति लामो हुनसक्छ भन्नेबारे ठोस उत्तर त कसैसँग छैन होला तर अहिले नेपालको परिवेश हेर्दा केही संवेदनशील स्थानहरू बाहेकका क्षेत्रमा लकडाउनलाई खुकुलो बनाउँदा हुने देखिन्छ । अहिले पनि प्रहरी र प्रशासनको आँखामा पर्ने सहरी क्षेत्रबाहेक गाउँहरूमा कहाँ कडाई छ र ? जिल्लाका नाकाहरू पूर्णरूपमा शिल गरेर आन्तरिक गतिविधिहरू खुल्ला गर्दा हुने हो । मान्छेहरू हिँड्दैमा र भेट्दैमा आफै रोग बन्ने हो र ? अन्तबाट रोग बोकेर आउने बाटो बन्द गर्ने हो भने केही फरक पर्दैन । शैक्षिक सत्रकाे सुरूवाति दिनमा पर्ने शैक्षिक क्षतीलाई त त्यसपछिका बिदाहरूको सदुपयोग गरेर वा परीक्षाहरूको संख्या घटाएर वा शैक्षिक सत्रको समाप्तिलाई केही पर धकेलेर पनि पूरा गर्न सकिन्छ । तर यथार्थमा जनजीवन सामान्य नभएसम्म पठनपाठन सुरू गर्न सक्ने अवस्था छैन र त्यस्तो जोखिम लिन कोही पनि चाहँदैन सायद ।

५) एकथरी सहरमा बस्ने, सुकिलामुकिला र खान लाउन पुग्ने भनौं न राशनपानी घरमा थुपारेर घरमा राख्नेहरू ‘प्रि क्लास’ देखि ‘एम्फिल्’ सम्मलाई अनलाइन कक्षा भनेर पूर्वाधार विनाको अत्तो न पत्तोको राग अलापिरहेका छन् । के नेपालमा अहिलेकै अवस्थामा अनलाइन कक्षा लिन सम्भव छ र ? अथवा तपाईंको शिक्षालयमा अनलाइन कक्षाका लागि कत्तिको पूर्वाधारहरू तयार गरिएका छन् ? मावि र आधारभूत तहमा रहेर कृपया नढाँटीकन भनिदिनुहोस् न ।

अनलाइन शिक्षा आफैमा प्रभावकारी र आवश्यक भए पनि हाम्रो मुलुक र समाजको लागि उपयुक्त छ भनेर म भन्दिनँ । अधिकांश विद्यार्थी र अभिभावक इन्टरनेटको पहुँचमा छैनन् । भएपनि नेपालमा इन्टरनेटको क्षमता र स्पीड कति छ सबैलाई थाहा छ । पहुँचमा हुनेका लागि यो ठीकै हो तर यसरी त हुने र नहुनेबीच विभेद भएन र ? असम्भव क्षेत्रमा पनि अनलाइन शिक्षाको बिगुलै फुक्नुचाहीँ काम गरिरहेका छौँ है भनेर कृत्रिम सकृयता देखाउन गरेझैँ लाग्छ मलाई । तर पहुँचमा छ र सम्भव छ भने यस्तो प्रविधिको प्रयोग गर्नु राम्रो कुरा हो । अनलाइनबाट शिक्षण गर्न भनेको र सुनेको जस्तो सजिलो छैन । हाम्रो सबै अभिभावकहरू अनलाइनको पहुँचमा छैनन् । त्यसमाथि आर्थिक सामाजिक र अन्य व्यवहारिक कठिनाईका कारण यस विषयमा धेरैको ध्यानै गएको छैन । तत्कालिन अवस्थामा आधारभूत तहसम्म अनलाइन शिक्षा प्रभावकारी हुने सम्भावना म देख्दिन तर मेरो स्कुल केब्स स्कूलले एसईई दिने सबै विद्यार्थीहरूलाई चाहिँ अनलाइन कक्षा संचालन गरिरहेको छ र त्यो प्रभावकारी पनि भैरहेको छ । शिक्षकहरूले अभ्यासका लागि विद्यार्थीलाई प्रश्न पठाउनुहुन्छ र विद्यार्थीले उत्तर लेखेर स्क्यान कपी पठाउँछन् । शिक्षकले परीक्षण गरेर आवश्यक फिडब्याक दिने गरेका छौँ । विद्यार्थीले पनि एक अर्काको उत्तर हेरर र शिक्षकलाई नबुझेका प्रश्न सोधेर आवश्यक अभ्यास गरिरहेका छन् । अब यही अवस्था रहिरह्यो भने चाहिँ बैशाख अन्तिमबाट सबै कक्षाका विद्यार्थीका लागि हुनेगरि उपयुक्त याेजना बनाएर अगाडी बढ्नेछौँ ।

६) एस्इई र कक्षा ११ को परीक्षा त लौ विद्यालयले तिनीहरूका आन्तरिक परीक्षाका ग्रेडहरूका आधारमा मिलाएर लेलान तर कक्षा १२ को परीक्षा त राष्ट्रिय स्तरबाटै लिनु पर्ला होइन र ? कि कक्षा १२ को परीक्षा पनि आन्तरिक ग्रेडिङ् अनुसार नै लिन मिल्छ ?

खास भन्ने हो भने त हाम्रो परीक्षा प्रणाली नै सही ट्र्याकमा छैन । वर्षभरि पढेर सिकेको ज्ञानसिप २/३ घन्टाको परीक्षाले निर्धारण गर्न सक्दैन । यहाँ त के जान्यो भन्दा पनि कचि नम्बर ल्यायो भन्ने कुरालाई महत्व दिइन्छ । मान्नुस्, कक्षा गतिविधिमा अत्यन्तै सकृय र क्षमतावान एउटा विद्यार्थी परीक्षाको समयमा बिरामी पर्यो । ऊ फेल हुन्छ र फेलकै सर्टिफिकेट थमाइन्छ । के यो जायज हो त ? यस्तो प्रकारको निर्णायक मूल्याङ्कन पद्धतिको सट्टा निरन्तर विद्यार्थी मूल्यांकनको आधारमा विद्यार्थीको स्तर निर्धारण गरिनु पर्छ । यो शिक्षा नीति बनाउने टाउकाहरूले सोच्नुपर्ने कुरा हो । सबै कक्षाको परीक्षा त आन्तरिक ग्रेडिङ प्रणालीबाटै लिनुपर्ने हो तर हाम्रोमा इमान्दारिताको अभाव छ, अनुशासन र विधिको अभाव छ । अनि संकटका बेलामा मात्रै सजिलो विधि खोजेर भएन नी ! राम्रो विधि त सँधै लागू हुनुपर्छ ।

७) दसैँसम्म पनि कोरोनाको भयावह अवस्थामा केही कमि आएन र स्कुलहरू लकडाउन मै रहिरहे भने राज्य र स्थानीय तहले के उपाय अपनाउनु व्यवहारिक हुन्छ होला ?

त्यस्तै हालत त नहोला तर भैहाल्यो भने त सामान्य अवस्थाको प्रतीक्षा गर्नु र सुरक्षित बस्नु बाहेक के उपाय होला र ! बरू तपाईँसँग उपाय भए भन्नुस् । राज्य छ, विज्ञ छन्, केही उपाय त निकाल्लान् नी ! फेरि हामीले हाम्रै तालको योजना बुनेर पनि त काम लाग्दैन । हेरौँ, जे होला ।

८) शिशु कक्षादेखि कक्षा ः ९ सम्म चाहिँ के गरी चलाउने रणनीति बनाउनु भएको छ यहाँले ? कि सरकार कै मुख ताक्नुहुन्छ ?

हामी सबै सरकारकै जनता भएकोले सरकारको कार्यक्रमको उल्टो गएर पार पक्कै लागिन्न होला । लाग्न पनि नमिल्ला । अहिले तत्काल स्कूलमै पठनपाठन खुल्ने अवस्था छैन । चाँडै नै गत वार्षिक परीक्षाको रिजल्ट निकालेर विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउने योजनामा छौँ । कम्तिमा विद्यार्थीले किताब पाएभने घरमै बसेर पनि स्वअध्ययन गर्न पाउँछन् । यसो गर्न अब धेरै ढिला हुँदैन । सकेसम्म अबको एकहप्ता भित्रै विद्यार्थीलाई किताब उपलब्ध गराउँछौँ र लकडाउन खुलेपछि उपयुक्त बिधिबाट भर्ना र कक्षा चलाउँछौँ ।

९) कोरोना भाइरसको प्रभाव कम हुनका लागि अझै १÷२ वर्ष पनि लाग्न सक्ने कुराहरू विज्ञहरूले गरेका छन् । यदि यस्तो अवस्था साँच्चै भयो भने के उपाय अवलम्बन गरेर यहाँ आफ्नो स्कुल खोल्नु हुन्छ ?

कुनै पनि समस्या स्थायी हुँदैन । यसको पनि चाँडै समाधान निक्लेला । कोरोना संक्रमण महिनौँ वा वर्षौँ लम्बियो भने त हाम्रो दैनिक जीवन निर्वाह नै असम्भवप्राय हुनेछ । शिक्षा भन्दा पहिलो प्राथमिकता जीन्दगी हो नी ! यस्तो अवस्थामा स्कुल खोल्ने वा नखोल्ने भन्ने विषयले कुनै महत्व राख्दैन । हाम्रो क्षेत्रमा ठूलो प्रभाव परेन भने स्कुल सञ्चालन गर्न सकिन्छ । तर शिक्षाको सवाल राष्ट्रिय सवाल भएकोले सरकारको निर्णय अनुसार नै अगाडि बढ्ने हो ।

१०) अहिले एस्इई, कक्षा ११ र १२ को परीक्षा दिने मानसिक तयारीमा बसेका परीक्षार्थीहरूको मानसिकता कस्तो होला ? शिशुदेखि कक्षा ९ सम्मका विद्यार्थीहरू घरमा के गरी बसेका होलान् ? विद्यार्थी भएर सोच्नु भएको छ कहिल्यै ? यदि यो अवस्थामा तपाईं निर्णय गर्ने स्थानमा हुनु भएकोे भए के गर्नु हुन्थ्यो होला ?

हामी अधिक समय तिनै विद्यार्थीहरूसँगै घुलित भएर बस्ने भएकोले बिद्यार्थीहरूको मानसिकतासँग हाम्रो समसोच हुनेगर्छ । विद्यार्थीको मानसिकता र चिन्ता हामीले पनि महशुष गरिरहेका हुन्छौँ । लकडाउनको केही दिन त सहज नै थियो धेरैका लागि, तर लम्बिदै गएपछि विद्यार्थीहरू पनि मोनोटोनस भएका छन् । स्कुल जान पाए हुन्थ्यो भन्ने सोचमा छन् । शिक्षकहरूको पनि त्यही अवस्था छ । तर बाध्यता यस्तो छ कि न त हामी खुल्ला हृदयले घरबाहिर जान सक्छौ न त कसैलाई विश्वास नै गर्न सक्छौँ । यस्तो अवस्थामा स्कुल पढ्न जाने कुरा सान्दर्भिक हुन सक्दैन ।

तर उनीहरू कुनै न कुनै रूपमा घरमै एडजस्ट भएर आफ्नै गतिविधि गरेर अल्मलिएका छन् । यस्तो अल्मल्लाई लम्बिँदै गयो भने यसले घातक परिणामहरू लिएर आउँछ । आशा गरौँ हामी चाँडै सामान्य जीवनमा फर्किने छौँ ।

राज्यले हालको परिस्थितिमा अनावश्यक कुरामा अल्झिने भन्दा पनि सशक्त भएर कारोना संक्रमणको बिरूद्धमा जनताको ढाल भएर उभिनुपर्छ ।

धन्यवाद