लकडाउनको मोडालिटीबारे छलफल गर्न उच्चस्तरीय समन्वय समितिको बैठक बस्दै

बैशाख,२२,

काठमाडौँ । लकडाउनको मोडालिटीबारे छलफल गर्न कोरोना रोकथाम तथा न्यूनीकरण उच्चस्तरीय समन्वय समितिको बैठक बस्दै छ । लकडाउनको समीक्षा गर्न प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बैठक सुरू हुन लागेको हो ।

आजको बैठकले लकडाउनको मोडालिटी कस्तो बनाउने भनेर खाका तयार पार्ने बताइएको छ । पछिल्लो पटक थपिएको लकडाउनको समय वैशाख २५ गते सकिँदैछ । नेपालमा हालसम्म कोरोनाका ७५ जना संक्रमित भेटिएका छन् भने त्यसमध्ये १६ जना निको भइसकेका छन् । निको भइसकेकोमध्ये दुईजना फेरि अस्पताल भर्ना भएका छन् ।

चैत ११ गतेबाट जारी लकडाउन वैशाख २५ गते सकिने मिति नजिकिएसँगै समितिमा लकडाउनका विकल्पबारे छलफल हुने भएको हो । लकडाउन जारी राख्ने कि आंशिक खोल्ने भन्ने विषयमा सुरक्षा निकायले तयार पारी समिति र गृह मन्त्रालयमा बुझाएको प्रतिवेदनमा संक्रमण जोखिमका आधारमा उच्च जोखिम क्षेत्रलाई रातो, आंशिक जोखिम क्षेत्रलाई पहेंलो र न्यून जोखिम क्षेत्रलाई हरियो गरी तीन क्षेत्रमा ७७ जिल्लालाई छुट्याइएको छ ।फाइल फोटो