कोरोना परीक्षणमा थप तीव्रता

बैशाख २५

रामेछाप । सरकारले कोरोना परीक्षणलाई थप तीव्रता दिएको जनाएको छ । उदयपुर, नेपालगन्ज र वीरगन्जमा कोरोना सङ्क्रमित धेरै भेटिएपछि त्यहाँ परीक्षणलाई तीव्रता दिइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले नेपालगन्ज र वीरगन्जमा एक-एक हजार गरी दुई हजार तथा उदयपुरमा थप ५ सय जना गरी २५ सय जनाको कोरोना परीक्षण गर्न घाँटीको स्वाब संकलन गर्न टोली खटिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिलेसम्म ५४ हजार ९३ जनाको आरडीटी र १४ हजार ५ सय ९ जनाको पीसीआर गरी ६८ हजार १ सय ५२ जनाको कोरोना परीक्षण गरिएको छ । जसमध्ये ९९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

त्यस्तै नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले परीक्षणको दायरा नबढाउने हो भने कोरोना संक्रमितको दर बढ्नसक्ने बताउनुभएको छ । नेपाल चिकित्सक संघ सरकारलाई सहयोग गर्न तयार रहेको छ भन्दै उहावले चिकित्सकलाई आवश्यक पर्ने सुरक्षा सामग्रीहरु भने उपलब्ध गराउनुपर्ने बताउनुभएको हो  ।