नेपाली जनता “गाई मारेर गधा पोस्ने” उखान चरितार्थ गर्न तयार छैनन्

(होटल तथा पर्यटन ब्यवसायी संघ महोत्तरीका सचिव समेत रहेका नारायण कुमार घिमिरे गौरीशंकर होटल एण्ड गेष्ट हाउस बर्दिबासका सञ्चालक हुन । देश नै लकडाउनमा रहेको बेला ब्यापार व्यवसाय चौपट छ । यहि बन्दाबन्दीको चपेटाबाट होटल व्यवसायिहरू पनि अछुतो रहने त कुरै भएन । तसर्थ होटल व्यवसाय सँग जोडिएर आजको जनता स्पेशल अपडेटमा होटल तथा पर्यटन ब्यवसायी संघ महोत्तरीका सचिव तथा गौरीशंकर होटल एण्ड गेष्ट हाउस बर्दिबासका संचालक नारायण कुमार घिमिरे सँग गरिएको कुराकानीको संपादित अंश प्रस्तुत  गरेका छौँ ।)

– अहिले होटल व्यवसायहरू सबै बन्दाबन्दीमा छन् ? यो बेलामा के गर्दै हुनुहुन्छ ?

संसार भरका होटेल तथा पर्यटन ब्यावसाय धराप भएको बखत मुलुकका होटेल तथा पर्यटन ब्यवसायले फस्टाउन सक्ने कुरै भएन। ब्यवसायीमैत्री कानुनको अभावमा थिलथिलो बनेका ब्यवसायिहरु बन्दा बन्दिको मारले झनै दुखी भएका छन। यो बेला पर्ख र हेरको मनस्थितिमा बस्नुको बिकल्प छैन।

– अहिले जस्तो बन्दाबन्दीयहाँको जीवनमा कहिल्यै भएको थाहा छ त ?

संसार एकैपटक एकै कारणले चौतर्फी रुपमा ठप्प भएको सायद यो पहिलो घटना होला। यो मानव जातिकै लागि साझा पाठ हो।

–अहिले त देशको अवस्था झन् खराब भएर गएको छ । तपाईंहरूको व्यवसाय नै धराशायी भएर गयो हैन त ?

हो, पुरै ब्यवसाय धरासयी भएको छ। ब्यवसायीहरु ब्यवसाय रहने की नरहने भन्ने त्रासमा छन। यो बन्दाबन्दी धेरै समय लम्बिदा घरभाडा र दैनिक खर्च धान्न सक्ने अवस्थामा छैनन् । हाम्रो मुलुकको अर्थब्यवस्थाले उचित कदम नचालेको खण्डमा यो ब्यवसाय टिक्न कठिन छ।

– के गरी उठ्नु हुन्छ ? के गरी यसको क्षतिपूर्ति गर्नु हुन्छ ?


यो बेला कोभिड १९ को कारण पुरै धर्ती शोकमग्न भएको छ। आजको आवश्यकता भनेको बाँच र समाजलाइ पनि बचाउ भन्ने नै हो। हामीसग यतिखेर एकातिर कोभिड १९ को त्रास छ भने अर्का तर्फ चुर्लुम्म डुब्दै गएको ब्यवसायको चिन्ता छ। यसको परिपुर्ती गर्न स्वयम् राज्य लागिपर्नु पर्दछ। राज्यका नीति नियमले हामीलाई कता लैजान्छ सोही अनुरुप आफ्ना योजना बनाउने हो। अहिलेनै यसै हुन्छ भन्ने अवस्था छैन।

– कोरोनापछि कस्तो अवस्थाको कल्पना गर्नु भएको छ ?

अवस्था जे जस्तो भएपनि सामान्य रुपमा सहजीकरण गर्नु युगको आवश्कता हुन आँउछ। मानिसमा लामो समय सम्म कोभिड १९ को त्रास रहि रहन्छन् । यस्को मतलव यो हैन हामी सधै यो महामारी सँग हारी रहन्छौ। हामी मध्य जति रहन्छौ पुरै धर्तीलाई नयाँ युगमा लाने बिजेता रहने छौ। यस अर्थ कोभिड १९ को अन्त्य पछि मानव नयाँ युगमा प्रबेश गर्छ भन्दा अतियुक्ती नहोला।

– नेपालले यो समस्यालाई कसरी लिनु पर्दथ्यो ? कसरी लिइरहेको छ ?

हाम्रो जस्तो बिकासोन्मुख मुलुकले बिश्व जगतको प्रकोपलाइ विश्लेषण गरेर आर्थिक सुरक्षा र मानवीय सुरक्षाको पाटोमा बिभाजन गरेर नीति नियम बनायको भए अझ राम्रो हुने थियो। आजको अवस्थाले त कि रोगले मर कि भोकले मर जस्तो बनाएको छ। राज्य बन्दाबन्दिमा छ राजनेता कहिले सत्ताको लडाइमा छन कहिले सिमनाको लडाँइमा छन । आन्तरिक खिचातानिले थिलथिलो भएको सकारको ध्यान कोभिड१९ को प्रकोप नियन्त्रणमा भन्दा पनी राज्यसत्ता जोगाउनमै खर्च गर्नु पर्यो। स्वाथ्य पुर्वधारको बिषयमा कमजोर हुदाहुदै पनि सामाग्री खरिदका बीषयमा उठेका प्रश्नले जनताको अत्त्याआवस्क स्वाथ्य सामाग्री खरिदमा ढिलाइ भयो परिणाम यथेष्ट मात्रमा स्वास्थ्य जाँच गर्न सकियन फलत कोभिड १९ समाजमा फैलन सफल भयो। अबका दिनमा यो प्रकोप नियन्त्रण गर्न नागरिक समाज र स्थानिय सरकारले मिलेर जनचेतना सहितको सम्पुर्ण नागरिककोस्वाथ्य परिक्षण गर्न जरुरी छ।

– अर्थमन्त्रीले राहतका लागि कर धेरै तिर्नुस् भनिरहेका छन् । अहिले नेपालमा यति धेरै पैसाको समस्या पर्दा हामीले बुद्धि नपु¥याएर ल्याएको संघीयता अझ त्यसमा पनि यो प्रदेशलाई खारेज गरी अर्थतन्त्रलाई टिकाउन सकिँदैन र ?

अर्थमन्त्री ज्युले राज्यको ढिकुटिमा राजस्व जम्मा गर्न खोज्नु आफैमा राम्रो कुरा हो तर नेपाली जनता अब “गाई मारेर गधा पोस्ने” उखान चरितार्थ गर्न तयार छैनन् । करको दायरा कस्लाइ केको लागि बढाउने ? अत्यावश्यक स्वाथ्य सामाग्री खरिदमा बदनाम बनेको सरकारका अर्थमन्त्री ज्युले कर बढाउने कुरा अप्ठेरोलाइ निम्ता दिने काम मात्रै हो।अर्थमन्त्री ज्युले राज्यको फजुल खर्च रोकेर आर्थिक सुधारका योजना बनाउन जरुरी छ। बिपदमा राज्य हाम्रो लागि हुन सकेन भने कर के को लागी? यो बेला हाम्रो कर हाम्रै लागि खर्चने बेला हो।यो बेला कर हैन स्वास्थ सामग्री बढाएर नागरिकको जीवन रक्षा गर्ने बेला हो।

– अब यो बन्दाबन्दीपछि होटल व्यावसाय मै फर्किनु हुन्छ कि पेसा परिवर्तन गर्नु हुन्छ यहाँले ?

पेशा परिर्बर्तन समस्याको समधान हैन। आज ब्यवसायिहरु घरकान घाटका भएका छन। राज्यले ब्यापारिलाइ करतिर्ने पात्र मात्र संझने हैन मुलुक बिकासको साझेदार पनि सम्झनु पर्छ।मुलुक बिकासको मेरुदण्डको रुपमा रहेको होटल तथा पर्यटन ब्यवसाय जीवन र मृत्युको संघारमा छ ।यो बेला राज्यले संरक्षण दिनु पर्छ। घरभाडा लगायतका कारणले साना तथा मझौला खालका लगानी गर्ने ब्यवसायी खालिहात ब्यवसाय बाट फर्कने अवस्था आएको छ । यस्तै अवस्था रहेमा साना तथा मझौला खालका ब्यवसाय पलायन हुने खतरा छ।

– नेपालको होटल र पर्यटन व्यवसायलाई बचाउने कुनै ५ तरिकाहरू बताइदिनुहोस् न ।

यो ब्यवसायलाइ पुनर्जीवन दिनेहो भने राज्यले निम्न कुरामा ध्यान दिन जरुरी छः

१) बन्द अवधिभरको घरभाडाको लागि बिना धितो न्यून ब्याजदरमा बैंक तथा बित्तिय संस्थाबाट ३बर्षको लागि घर भाडा सरल कर्जा उपलब्ध गराउनु पर्दछ।

२)ब्यवसाय धितो राखी बैंक अथवा बित्तिय संस्थाबाट न्यून ब्याज दरमा ५ बर्षको लागि ब्यवसाय पुनर्जीवन कर्जा उपलब्ध गराउनु पर्दछ।

३)अब राज्यले पर्यटक मैत्री कानुनको निर्माण गरि आफ्ना नीति तथा कार्यक्रममा होटल तथा पर्यटन ब्यवसायलाइ रुग्न उद्योगको सेवा सुबिधा भित्र राखिनु पर्दछ।

४) आगमी दिनमा पर्यटकिय स्थलको खोजी,सम्रक्षण र संबर्दन गरि सरकार , ब्यवसायि र बिज्ञ सहितको संयन्त्र निर्माण गरि पर्यटक पर्वर्द्धन गने कार्य गर्नु पर्दछ।

५)आन्तरिक पर्यटनलाई बढवा दिन नागरिक भ्रमण कोषको स्थापना गरि नागरिकलाइ मुलुक भ्रमणको लागि प्रोत्साहित गर्ने। लगायतको कार्य गरेमा पुन ब्यवसाय गर्न सहज हुने छ।