भक्तपुरमा बस्ने रामेछापका मिनी ट्रक चालकको आरडीटी रिपोर्ट पोजेटिभ

जेठ ०४

रामेछाप । रामेछाप स्थायी घर भएका एक जना मिनी ट्रक चालकको द्रूत विधि परीक्षण (आरडीटी) मा कोराना भाइरस पोजिटिभ देखिएको छ । भक्तपुर नगरपालिका १ सल्लाघारी बस्दै आएका ती युवा भक्तपुरमा रहेका विभिन्न गोदामबाट सामान ढुवानी गर्ने मिनिट्रकका चालक रहेको भक्तपुर प्रहरीले जानकारी दिएको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सविन प्रधानले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य केन्द्रमा शनिबार बिहान गरिएको आरडीटी परीक्षणको ती चालकको कोरोना भाइरस पोजिटिभ देखिएको पुष्टि जानकारी दिनुभयो ।

उनलाई भक्तपुरको च्याम्हासिंहस्थित जनस्वास्थ्य केन्द्रबाट सीधै काठमाडौंको टेकु अस्पताल लगिएको छ । टेकुमै उनको पीसीआर प्रविधिबाट कोरोना परीक्षण गरिएको प्रहरी उपरीक्षक प्रधानले बताउनुभयो । ‘भक्तपुर नपाको जनस्वास्थ्य केन्द्रमा आरडीटी परीक्षणमा पोजिटिभ देखिएपछि तत्कालै टेकु अस्पताल पठाएका छौं उहाँले भन्नुभयो- ‘टेकुमा पीसीआर प्रविधिबाट कोरोना परीक्षणपछि त्यहींको आइसोलेसन वार्डमा राखिएको छ ।’

अहिले उनको सम्पर्कमा आएकाहरुको पनि खोजी भैहेको र उनी डेरा गरिबसेको घरलाई पनि सिल गरिएको प्रहरी उपरीक्षक प्रधानले बताउनुभयो । फाइल फोटो/ indepth.com