किन छिमेकी गिद्दहरुको आँखा नराम्ररी गाडियो सीमानामा ?

सम्माननीय प्रधानमन्त्रीज्यूलाई खुला पत्र

सम्माननीय प्रधानमन्त्रीज्यू,
नमस्कार ।

यो भन्दा बेसी सम्बोधन र चाकडी गर्न जान्दिन । गाउँको कुनामा यो भन्दा बेसी संस्कार मैले सिक्नै पाइँन । मेरा गाउँमा बसेर दश नङ्ग्रा खियाउँदै घेरा फाटेको टोपी लगाएर लाहुरी भैंसीको गोबरमा रमाउन चाहने र आङ् फाटेको चोली लगाएर पत्पती धुवाँ आउने चुल्होमा फोक्सोको पम्पलाई दबाउँदै आगो फुक्ने मेरी आमा, उहाँहरुले मलाई दिएको संस्कार यस्तै हो । लाग्छ, यो सम्बोधनबाट मेरो र म जस्तै गाउँका ‘म’ हरुको बुझाई यहाँले पक्कै बुझ्नु भयो होला ।


प्रधानमन्त्रीज्यू,
मृगौला फेर्नुभएको छ रे । आँटीमा बसेर बाले कान थापेर सुन्ने एफएम रेडियोमा झलक्क सुनेथें । यति धेरै भाका मिलाएर कसैको मृगौला फेरेको समाचार चिच्याउने एफएमहरुमा अरुको कुरा गरे होलान् भन्ने मैले विश्वासै गर्न सकिँन र पत्याइदिएँ । साँच्चै हो रहेछ । सदरमुकाम चामलको धोक्रो खेप्न झर्दा पो वास्तविकता थाहा पाएँ ।
आशा, छ सन्चै हुनुभयो होला ।

नारायण थापा


प्रधानमन्त्रीज्यू,
म त गाउँमा छु । यसपाली त पानी राम्रै परेकोले खेतीमा नै व्यस्त छु । तपाईंंको जस्तै यो मुलुकको स्वास्थ्य पनि त राम्रै होला नि हैन ? किन छिमेकी गिद्दहरुको आँखा नराम्ररी गाडियो सीमानामा ?
होइन होइन, यहाँ जस्तो राष्ट्रवादी सरकार प्रमुख होउञ्जेल मेरी आमाको छातीमा बैरीले कुल्चिनै सक्दैन नि ।
म ढुक्क छु ।
मेरो दौंतरीहरुले हिजो जंगलमा घाँसदाउरा गर्न जाँदा मलाई यही जिज्ञासा गर्दै थिए, मैले निकै जानिफकार भएर भनिदिएँ, ‘राष्ट्रवादी प्रधानमन्त्रीज्यू सरकारमा हुँदाहुँदै यस्तो कार्यको कल्पना गर्न पनि सकिँदैन ।’
मेरा दौंतरीहरु मेरो कुरा कुनै पनि नपत्याउने भन्ने नै हुँदै हुँदैन । म नै हो मेरो दौंतरीहरुको सबैभन्दा ठूलो सूचनाको स्रोत । तर प्रधानमन्त्रीज्यू, मेरो यो जानिफकारीमाथि भोलि मेरा दौंतरी हाँसेर म लज्जित त हुनु पर्दैन नि हैन ?


प्रधानमन्त्रीज्यू,
मेरो गाउँ कोरोना भाइरसबाट सुरक्षित छ । एउटा उखान यहाँनेर मलाई याद आयो भनें है ? ‘सित्ता खाने भित्ता लागे पाङ्दुर खाने जोदाहा’ भन्ने जस्तै छ मेरो गाउँ । म पाङ्दुर (कोदोको एक प्रजाति) खाएर हुर्केको हुँ । भनिन्छ नि, ‘छोटाछोटी मरुँ, मरुँ सँधै गर्जिन्छ बाघको डमरु’ ।
बस्, त्यस्तै हूँ म ।


प्रधानमन्त्रीज्यू,
कोरोना भाइरसको संक्रमण तपाईंको शहरमा व्याप्त भएको छ रे । यहाँ त केही फरक पर्दैन । हिजो धेरै ज्वारो, खोकी, रुघा, सास फेर्न समस्या र टाउको दु्खेर पल्लाघरे काँइली आमैको नाती मसानघाट गयो । मुग्लानबाट आथ्यो रे अस्ती फागुन तिर । सबैले कोरोना कोरोना भने । तर मैले पत्याउनै सकिँन । जब काँइली आमैको नाति मर्यो, अनि मैले माथि डाँढाको च्याङ्बा दाईकोमा गएर लामा हेराको, ‘संसारीले मरो’ भन्यो ।
तपाईं ढुक्क हुनुस्, काँइली आमैको नाति, कोरोनाले मरेकै होइन ।


प्रधानमन्त्रीज्यू,
हे भगवान ! तपाईंलाई केही नहोस् । तपाईंलाई केही भयो भने हाम्रो राष्ट्रवादको उँचो नारा कसले लगाउँछ । अलिअलि त मलाई पनि राष्ट्रवादको नारा लाउन आउँछ । तर के गर्नु ? आफू त गाउँमा छु । तपाईंको शहरमा मलाई पाखे पनि भन्छन् । म जस्तो सानो मान्छेले बोलेको कसले सुन्छ र ? भनिन्छ नि, ‘उठेर बोलुँ हावाले उडाउँछ, बसेर बोलुँ कसैले सुन्दैन’
हो, त्यस्तै अवस्था छ मेरो यहाँ ।


साँच्ची प्रधानमन्त्रीज्यू,
तपाईंको मृगौला त नेपालमै फेरेको रे है ? यस्तो जाबो देशमा पनि तपाईंको इलाज गर्ने डाक्टर उत्पादन भएका रहेछन् । मलाई अचम्म लाग्छ, मलाई ताज्जुव लाग्छ, यो देशका शासक प्रशासकहरुको इलाज पनि यहाँ गर्न मिल्ने अवस्था रहेछ । सायद यसपाली युरोप अमेरिका र सिँगापुर जान ‘चिलगाडीको टिकस’ मिलेनछ है । कस्तो बिडम्बना ?


अन्त्यमा प्रधानमन्त्रीज्यू,
तपाईंहरुले भर्खरै नयाँ नेपालको अनुहार सार्वजनिक गर्नुभएको छ रे । च्यूरीबोटे स्कुलका मोहनकाजी हेटमास्टर भन्दैथे । कता, लिपुलेक, लिम्पियाधुरा र कालापानी पनि अब त हाम्रो नै भयो रे है ? मैले यो खुशी फेरि उही मेरा दौंतरीहरुलाई सुनाइदिएको छु । उनीहरुले तपाईंको जयजयकार गरे वनमा दाउरा चिर्दैगर्दा । अझ चित्रेको छोरो बुचेले त नजिकै रहेको वनदेवीको थानमा गएर तपाईंको दीर्घ स्वास्थ्यलाभको कामना नै गरो ।
अरु त धेरै के भनुँ प्रधानमन्त्रीज्यू, ‘लोहोरो पकाएर पेट भरिने भए मरुभूमिमा पानी निकाल्न पनि त सम्भव भै हाल्थ्यो नि ।’ हामीले तपाईंलाई धेरै रुचाएर मनखुशीले भोट दिएर त्यहाँ सम्म पुराएका हौं । तल्ला गाउँका तिघ्रे र भुत्तेहरुले त्यो बेला खाएको रक्सी र मासु त उन्ताकै निकालिहाले होलान् नि है ?
उही,
यहाँको अग्र्यानिक राष्ट्रवादको अन्धो सर्पोटर
नारायण थापा