जाग माटो जोगाउनका लागि

कविता
राजेन्द्रबहादुर जिसी, तनहुँ ।
भत्किएको छ आफ्नै आँगन, टाल्दैनौ किन?
चुहिएको छ आफ्नै छानो, छाउँदैनौ किन ?
बस्तीले नियालेको छ तिमीलाई, उठ्दैनौ किन?
माटोले खोजेको छ तिमीलाई बुझ्दैनौ किन?
हामीले छाउनु छ नेपालीका, घरका छाना
यही धर्तीमा खोज्नु छ, छरिएका तीलका दाना
भूमि मिचिएको छ जहाँ, गाड्नु छ जंगे किल्ला
भात्तृत्वको सेवामा लागे, आत्म शान्ति मिल्ला ।
उठ!ठाहिँला दाई तिमी जागरुक भई, उठ्दैनौ किन?
भत्किएको छ आफ्नै आँगन टाल्दैनौ किन ?
अर्काको अहंकारलाई सहजै सहन्छौ किन?
सीमाना लुटिएको छ पाईला, सार्दैनौ किन?
मातृभूमि रोएको छ चित्कार, सुन्दैनौ किन ?
हातेमालो गर्नु छ मस्त निन्द्रामा, हुन्छौ किन?
धर्तीले रोजेको छ तिमीलाई, बुझ्दैनौ किन?
भत्किएको छ आफ्नै आँगन, टाल्दैनौ किन?
न्याउलीले स्वर फेरेकोछ, आज बुझ्दैनौ किन?
घाउ लागेको छ मुटुमा, कुर्सी मोह किन?
मर्द र बहादुर छन् पार्टीमा मात्र किन?
देश चिन्तामा छ तिमी, निःशव्द हुन्छौ किन?
जाग हे देशभक्त जन हो, बिलम्व किन?
उठ ! ठाइँली दिदी,
औंसीको पल रात मै उज्यालो भइसक्यो,
उठ्दिनौ किन
देशको लागि बन्नु छ नयाँ शहिद्
यसमा आनाकानी किन?
भत्किएको छ आफ्नै छिँडी लिपपोत छैन किन ?
भत्किएको छ आफ्नै आँगन, टाल्दैनौ किन?
चुहिएको छ आफ्नै छानो छाउँदिनौ किन ?