मान्छे पोल्ने मान्छे

कविता ।

घाटमा मान्छे पोलेर उस्ले
चलाउँछ आँफ्नो जिविका
कोहि खरानी हुनु भनेको
उस्को भोको पेट भरिनु हो ।

उस्ले चिन्दैन
धनी गरीब मान्छे भनेर
उच्च ओहोदाका मान्छे भनेर
संसार जीतेका मान्छे भनेर
उस्ले कयौँ मान्छेका सपनाहरू जलाएको छ
आफ्ना सपनाहरू पुरा गर्नलाई ।

हरेक बिहान् ऊ घाटको यात्रा गर्छ
र जलाउँछ कयौं मान्छे
भरे फर्किन्छ घरमा
श्रीमतीको लागी सिन्दुर बोकेर
छोराको लागी कलम लिएर ।

उस्ले घाटमा मान्छे नपोलेको दिन्
उस्को घरमा सानो छोराले मासु पोल्न पाउँदैन
उस्ले मान्छे नपोलेको दिन्
उस्को घरमा श्रीमतीले चुलो पोल्न पाउँदिन
उस्ले नपोलेको दिन्
उस्लाई अभावले मन पोल्छ ।

उस्ले मान्छे पोल्दै गर्दा
नियतिले आँफ्नै श्रीमती घाटमा ल्याउँछ एकदिन
कसरी पोल्छ होला उस्ले
अरूको चित्कारले नछुने उस्लाई
उस्ले चित्कार गर्छ कि गर्दैन् होला
आँशु झार्छ कि झार्दैन होला?

सकिन् बाँकि सबै सकिएपछि
आँफ्नै जिन्दगीको एउटा पाटो जलाएपछि
ऊ अझैं घाटमा मान्छे पोल्न बस्छ होला?

कृष्ण-कञ्चन