राहातमा किवीका विरुवा,खाडल खन्न २५ सय दिने

जेठ ०६,

रामेछाप । खाँडादेवी गाउँपालिकामा विपन्न कृषकहरुका लागि फलफूलको बिरुवा वितरण गरिएको छ । उक्त गाउँपालिकाको वडा नं ७ मा मंगलबार एक कृषकका लागि २५ वटाका दरले किवीका बिरुवाहरु वितरण गरिएको खाँडादेवी गाउँपालिकाका प्रमुख प्रेमबहादुर तामाङ्गले जनता भ्वाइसलाई जानकारी दिए ।

बिरुवा वितरण कार्यको बारेमा जानकारी दिँदै तामाङले भने, ‘यो पालिकामा विपन्न वर्ग पहिचान भएका कृषकहरुका लागि वितरण गरिएको बिरुवाहरु हो । यसले वडास्तरका विपन्न कृषकहरुको आर्थिक अवस्थालाई माथि उठाउनका लागि गरिएको कार्य हो ।’

प्रति कृषक २५ वटा बिरुवा रोपणको खाडल खन्न लगाइएको र सो खाडल खने बापत १ सय रुपैयाँका दरले २ हजार ५ सय रुपैयाँ समेत दिइएको अध्यक्ष तामाङले जानकारी दिएका छन् । कुराकानीकै क्रममा थप प्रष्ट पार्दै तामाङले भने, ‘यसैपनि यस गाउँपालिकामा विपन्न वर्गको रुपमा पहिचान भएका कृषकहरुका लागि २ हजार ५ सय रुपैयाँ दिने नै कार्यक्रम थियो । यसै सन्दर्भमा आफ्नै जग्गामा २५ वटा खाडल खनेबापत भनेपनि वा यो विषम परिवेशमा राहत जे भनेपनि २ हजार ५ सय रुपैयाँ रकम दिइएको हो ।’

बिरुवा वितरणको कार्य सहजीकरण सामुदायिक विकास समाज (सिडिएस)ले गरेको हो । पहिलो चरणमा ८७ घरधुरीलाई वितरण गर्न बताएको छ । jv फोटो