समवेत

कविता
पेशल आचार्य


वाणी वाग्विलासको समय होइन यो
यतिखेर विचारका पवटाहरू
देखाएर एकर्कालाई हियाउनु भन्दा
परिवेश सन्धान गरेर
आग्रह, पूर्वाग्रह र विग्रह त्यागेर
मनहरूका सङ्ग्रह खातिर
समवेत स्वरहरू सुसेल्नु राम्रो,

स्वीकारोक्ति छ
विम्ब शिविर
अलिकति तिमीले भत्कायौ
अलिकति मैले भत्काएँ
सकार्नै पर्छ
आमालाई
अलिकति तिमीले रुवायौ
अलिकति मैले रुवाएँ
जसरी तिमी नवजात हुँदा
हुर्किसकेको म
एकातिरबाट तिमीले आमाको लाम्टो चुस्दा
अर्कोतिरबाट म स्तनपान गर्थें,

सहोदर दाजुभाइ हामी
स्वार्थका सर्वतमा आमालाई
गरल घोलेर नपियाऔं
निम्छरा, निमुखा सगोत्रीहरूलाई
वाणीमा खसालेर
नभनौं नबोलौं
अह्म तुष्टिको समय होइन यो
यतिखेर सगोलको घर थर्किरहेछ,

मनका भित्ताहरूमा
नयाँ लिउनहरू लिप्नु छ अझै
पेटहरू भोका छन्
मनहरू तृषित छन्
सुखी हुने शरीर चाहनाका खातहरू उरूङउरूङ छन्
अचाढुपन कोरलेर
अझै मन दुखाउने समय होइन यो,

अनादर पाकेका छन्
रविबाली झैँ कोसा कोसामा
पूर्वाग्रह झुलेका छन्
चैते धानझैँ गह्रागह्रामा
हामी कुद्नका लागि निकै कुद्यौं
धपेडीमय म्याराथन यो विधानको
अलिकति विधान तिमीले नाघ्यौ
अलिकति विधान मैले नाघेँ
मिलापत्र गर्ने दिन
फेरि वकालतनामा भरेर
नयाँ वकिल राख्ने समय होइन यो,

तिम्रा छन् भने कुनै आग्रह
खुलस्त मलाई राख
म आफ्नो निवेदनको मजबुन
तिमीमा पोखौंला
बिन्ती छ बन्धु
हामी दुईको विचारको तारबारले
आमालाई टुक्राटुक्रा पा¥यो भने
दीक्षित भनिएका तिम्रा र मेरा ज्ञानहरू
अझै अधुरा हुनेछन्
स्वयम्मा अपूरा हुनेछन् ।