अर्थ समितिले भन्यो, ‘१७ खर्ब बजेट ल्याउनु, जिडीपीको ५ प्रतिशत राहत दिनु’

जेठ ९ निरोज थापा,

काठमाडौँ । प्रतिनिधि सभाको अर्थ समितिले सरकारलाई बजेटका सम्बन्धमा सुझाव दिएको छ । समितिले छलफलपछि सरकारलाई प्रतिवेदन बुझाउँदै कुल १७ खर्बको बजेट ल्याउन सुझाव दिएको छ ।

समितिले प्रतिवेदनमा कोभिड–१९ रोकथाम तथा नियन्त्रण, कृषि, रोजगारी र श्रम ब्यबस्थापन, उद्योग पुनर्स्थापना र प्रबर्दन, राहत ब्यबस्थापन र गत वर्षहरुका कार्यक्रमलाई प्राथमिकतामा राखेर आगाम आर्थिक वर्षका २०७७÷०७८ को बजेट ल्याउन सुझव दिएको छ । समितिले कुल ग्राहस्थ उत्पादन (जीडीपी)को ५ प्रतिशत राहत प्याकेज ल्याउन पनि सुझाव दिएको छ ।

समितिले बजेटको आकार जिडीपीको ४५ प्रतिशत कायम गर्दै कुल बजेटको १० प्रतिशत स्वास्थ्यको लागि छुट्याउन सुझाएको छ ।

१७ खर्ब आकारको बजेट ल्याउन सुझाव दिएको समितिले १० खर्बको राजश्व संकलन लक्ष्य लिन, १ खर्ब बैदेशिक अनुदान परिचालन गर्न, जिडीपीको ६ प्रतिशतसम्म अन्तरिक ऋण उठाउन र अपुग रकम बैदेशिक ऋण लिन भनेको छ । समितिले राष्ट्रिय योजना आयोग, अर्थविद, बैंकर्स, निजि क्षेत्र, उद्योगी, आर्थिक क्षेत्रमा कलम चलाउने पत्रकारसँगको छलफलपछि प्रतिवेदन तयार पारेको हो ।