असार १४
रामेछाप । नेपाल भित्रिएका सलह किरा रामेछापको सदरमुकाम आइपुगेका छन् । शनिबार प्रदेश ५ का विभिन्न स्थानमा देखा परेको किरा बागमती प्रदेशको रामेछाप आइपुगेको हो । आइतबार बिहान सदरमुकाम मन्थलीका केही स्थानमा यो किरा देखा परेको हो । यो किराले बालीबाली सख्खाप पार्ने गर्दछ । प्रदेश १ मा भने यो किरा देखिएको छैन । तर, सम्भावित जोखिम नियन्त्रणका लागि गृहकार्य सुरु गरेको प्रदेश १ भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता डाक्टर राजेन्द्र उप्रेतीले बताए ।
यो किरा सोमबारदेखि पश्चिमतिर सर्दै जाने अनुमान गरिएको छ । मौसमविद प्रतिभा मानन्धरले भनिन्, ‘सोमबारबाट अझ आज रातिबाट नै पूर्वतिरबाट हावा पश्चिमतर्फ बहने देखिएको छ । पूर्वबाट पश्चिम हावा बग्न थालेपछि सलह पनि हावासँगै उड्ने किरा भएकाले सलहको यात्रा पनि पश्चिमतिर हुने सम्भावना बढी छ ।
केही दिनयता दक्षिणतिरबाट हावा बगेको छ । प्रदेश २ सरकारले भने सलह किरालाई लिएर बढी चिन्ता नगर्न किसानसँग आग्रह गरेका छन् । प्रदेशका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले प्रेस विज्ञप्ती जारी गर्दै किराले पुर्याउने हानी नोक्सानी नियन्त्रणप्रति सचेत र सतर्क रहन प्रदेशका सम्पूर्ण किसानसँग आग्रह गरेका हुन ।





