असारे विकास : अलकत्राको सत्यानाश

प्रख्यात हिन्दी सिनेमा ‘सोले’ मा असरानी भन्ने पुलिस पात्रले सानका साथ एउटा डाइलग भन्छ –‘हम् अङ्ग्रेजोँ के जमानेका पुराने हबल्दार हेँ । आधा इधर जाओ । आधा उधर जाओ और बाँकी मेरे पिछे आयो ।’ अपराधी पत्ता लगाउनका लागि हाफ पैन्ट लगाएर आएको सो जोकर पात्रले यति भनेपछि उसका पछि कोको रहेछन् भनेर यसो हेर्छ त कोही पनि हुँदैनन् । आधालाई दायाँ जाने आदेश, आधालाई बायाँ जाने आदेश अनि बाँकी रहे शून्य । शून्यलाई आदेश दिँदा हात लाग्यो महा शून्य ! यो आफैँमा व्यङ्ग्य गरिएको सिन हो ।


सन्दर्भ बजेट र विकासको हो । पहिले साउनमा बजेट भाषण हुन्थ्यो । कार्तिकमा प्रथम चौमासिक रकमको खर्चको अख्तियारी तयार हुन्थ्यो । जिल्लामा बजेट पुग्दा फागुन लाग्थ्यो । चैत, बैशाख र जेठको शुरुआतसम्म विकासे अड्का हाकिमहरु कानमा तेल हालेर सुत्थे । जब जेठमध्य हुन्थ्यो अनि तात्थे । अहिले संविधानले नै जेठ १५ गतेलाई बजेट ल्याउनै पर्ने बाध्यकारी बनाएको छ । साउन १५ मा बजेट आएको पनि लगातार ५ वर्ष भैसक्यो । यतिका परिवर्तन भैसक्दा पनि यो असारे विकासको शैली र सोच परिपर्तन चाहिँ किन नभएको होला ? सोचिल्याउँदा ताज्जुब लाग्छ ।


अहिले बजेट ल्याउने समय परिवर्तन भैसकेको छ । साउन १ गतेदेखि नै अख्तियारी दिने हो भने अहिलेको डिजिटल जमानामा एक हप्तामा देशैभरि यो सूचना पु¥याउन सकिन्छ । अझ कहिलेकाहीँ त एक क्लिकमा पनि सूचना हाम्रोजस्तो देशमा १० फन्का लगाउन सक्छ । अहिलेको विश्व भनेकै ‘क्लिक द स्वीच ओपन द वल्र्ड’ हो ।
यो कुरा ‘जान्नेलाई श्रखण्ड नजान्नेलाई खुर्पाको बिँड’ जस्तो भएको छ तर मानिस बुच पचाउँछ । सत्तामा हुँदा सुनेको नसुनेझँैँ गर्छ भने प्रतिपक्षमा हुँदा कुकुर भुकेझैँ ख्याउँख्याउँ गर्छ । भुकाइबाटै थाहा पाइन्छ । मानिस पक्ष र प्रतिपक्ष के हो भन्ने ।


एकजना पुराना शिक्षक यो लेखकसँग सधैँ चिया गफमा भन्ने गर्नुहुन्थ्यो –‘हामी इमान्दार भएका हैनौं । हामीले बेइमानी गर्ने ठाउँ नपाएर मात्र इमान्दार जस्ता भएका हौं । जब हामीले बेइमानी गर्ने स्थान पाउँछौं, हामी आपसे आप बेइमान हुन्छौं ।’ यो भनाइमा गहिरो व्यङ्ग्य लुकेको छ । कर्मचारी होस् कि ठेकेदार, राजनीतिक कार्यकर्ता होस् कि शिक्षक, पुलिस होस् कि सेना, पत्रकार होस् कि समाजसेवी सबैसबै यही भाँतीमा आआफ्ना छेपारे रङ बदलिरहेका हुन्छन् ।
अहिले त झन् कुनै कुनै मानिसहरुसँग परिचय गर्नु पर्छ कि राजनीति पनि पेसा भन्ने गर्छन् । समाजसेवालाई पनि माझ मुखबाटै पेसा नै भन्छन् । यस्तो जमाना आइसक्यो कि मानिसहरु जोगी हुन हामीले पेसा गरेका हैनौं भन्छन् । हो, भन्नेहरुको भन्नु पर्ने बाध्यता होला तर के राजनीति र समाजसेवा जस्ता सेवा पनि पेसा हुन्छन् त ? युरोप र अमेरिकातिरका चलन हेर्ने हो भने कहिल्यै हुँदैनन् । अएका पनि छैनन् ।

खान पाउनेहरु त चुप लाग्लान् बरै तर खान नपाउने र विरोध गर्नेहरुले भने यसको उछित्तो नकाढेको वर्ष र महिना हुँदैन ।


नेपालमा पञ्चायत कालदेखि नै जेठ र असारमा विकासको मूल फुटेको देखिन्छ । गाउँ होस् या सहर सबैतिर उधूमै विकास चम्केको हेर्न मन छ भने पानी परेपछिका जेठ र असार महिनालाई नै लिनु पर्छ । विदेशी मित्रहरु छन् भने त लाजकै पसारो हुन्छ । तर हामीकहाँ भने यो चलन चलेको छ । कसैलाई लाज, घिन र शरम हुँदैन । अझ ‘हग्नेलाई भन्दा देख्नेलाई लाज’ भनेझैँ यो विकासे कार्यमा सम्बन्धित आयोजना प्रमुख, अहिलेका सन्दर्भमा स्थानीय तहका प्रमुख, उपप्रमुख, लेखा अधिकृत र प्रमुख प्रशासकीय अधिकृतको रुचि र ठेकेदार तथा कटकिन्दार महोदयले चोचोमोचो मिलाएका हुन्छन् ।
उसो त नेपालीहरु अब चेतनशील भैसकेका छन् । यहाँ बच्चाबच्चाले असारे विकासलाई हेलाहाँसो र उपेक्षाको विषय तथा सन्दर्भ बनाएका हुन्छन् । स्कुल र कलेजमा पनि असारे विकासलाई काण्ड पुग्ने गरी व्यङ्ग्यवाण हानिएको हुन्छ । खान पाउनेहरु त चुप लाग्लान् बरै तर खान नपाउने र विरोध गर्नेहरुले भने यसको उछित्तो नकाढेको वर्ष र महिना हुँदैन ।

छातीमा हात राखेर भन्ने हो भने आदर्श, इमान, नैतिकता र विश्वासका लागि जति राणाशासन र पञ्चायतकालीन समय शुद्ध थियो त्यति यो २०४६ पछि र अहिले संघीय गणतन्त्रात्मक व्यवस्था पनि छैन । यति भन्न अब कुनै आइतबार पर्खनै पर्दैन ।


‘असारे विकास ः अलकत्राको सत्यानाश’ भन्ने उखान नै अब त नेपाली भाषामा जन्मिन लागिसक्यो । हामी नाति देखिको बल निकालेर राणाशासन र पञ्चायतलाई हियाउँछौं, गाली गलौज गर्छौं तर छातीमा हात राखेर भन्ने हो भने आदर्श, इमान, नैतिकता र विश्वासका लागि जति राणाशासन र पञ्चायतकालीन समय शुद्ध थियो त्यति यो २०४६ पछि र अहिले संघीय गणतन्त्रात्मक व्यवस्था पनि छैन । यति भन्न अब कुनै आइतबार पर्खनै पर्दैन ।


अहिले हरेक काम र कुरामा पार्टीकरण भएको हुन्छ । अहिलेको शासनमा राम्रो मान्छे भन्दा हाम्रो मान्छे नै चाहिन्छ । एक महिना अघि एउटा पार्टीमा रहेर घाँटी सुकुन्जेल भाषण गर्ने मानिस एक महिना पछि अर्को पार्टीमा लागेर कुनै राजनीतिक नियुक्तिको पद पड्काइसकेको हुन्छ । त्यसैले अहिले नैतिकता भन्ने कुरा नै छैन । मानिसहरु खुला र प्रतिस्पर्धात्मक समाजको डिङ हाँक्छन् तर अवस्था त्यस्तो होइन । यहाँ पार्टीले नचिनिकन कुनै पनि मानिस जन्मिन र मर्न पनि स्वतन्त्र छैन ।
असारे विकासले देशलाई नै बेसारे बनाई सकेको छ । अहिलेको समय भनेको कसैगरी पनि यो असारे विकासको प्रणालीलाई ध्वस्त बनाउनु नै हो । नयाँ पुस्ताले यस कार्यमा नेतृत्व लिनै पर्छ । जब देशबाट असारे विकास उन्मुलन हुन्छ तब देश तरक्कीको दिशामा अगाडि बढ्दछ । अहिलेलाई यही भनाइ नै काफी छ । बाँकी समयले देखाउँला ।