नेपाली युवतिहरुमा के कमि छ जस्ले नेपाली युवा हरुलाइ बिदेशी युवती बिवाह गर्न प्रेरित गरेको छ?

बिदेशी नागरिकलाइ बुहारी मानेर राज्यले नागरिकता ७ बर्ष पुरा गेरेपछी दिने सवालमा उब्जिएको बिबादले यतिखेर राज्य ताती रहेको छ। बिवाह दर्ता सगै नागरिकता पाउनुपर्ने माग राख्नेहरु सडकमा छन् भने सोची बुझी नागरिकता दिनुपर्दछ भन्नेहरु सरकारमा छन। आफू नेपाली नगरिक भएर पनि नेपाली नागरिकता नपाउँदा दुखी बनेका कैयौँ  छन।बिदेशी नागरिकलाई नेपाली नागरिकता दिने सवालमा कडाइ गर्दा वास्तविक नेपाली नागरिकलाइ परेको समस्या समाधान गर्न राज्य उद्दार हुनु पर्दछ।तर बिदेशी नागरिकलाइ सजिलै नागरिकता दिने कुरामा कठोरता अपनाउदा नेपाली नागरिकले आन्दोलन गर्नुको के अर्थ? नागरिकको आवाज राज्यले सुन्नु पर्दछ किनकी  राज्य हाम्रो अभिभावक हो ।नागरिकता बितरणको  सवालमा राज्य संयन्त्र चाहे जती चनाखो नहुदा गलत मानिसले फाइदा उठाएको कुरामा दुइमत छैन। सरकारले फर्जी नागरिकले नगरिकता लिन नपाओस भनेर गरेको कडाइलाई हामी नेपाली नागरिकले आफ्नो मान हानी भएको सम्झनु हुन्न।

जाँहसम्म नेपाली युवाले बिदेशी युवती बिबाह गर्दा नागरिकता प्रमाणपत्र बनाउन पर्खनु पर्ने समयावधि को कुरा छ यो नै निर्बिकल्प प्रावधान हैन। कुनै पनि नेपाली नागरिकले बिबाह लगायतको मुलुकलाइ दिर्घकालिन प्रभावपर्ने कार्य गर्दा आफ्नो मुलुकको नियम कानुन सुहाउदो कार्य गरे यो समस्या रहदैन थियो। राज्यले कानुन बनाउँदा आफ्ना अधिक नागरिकको सुविधालाई हेरेर बनाउने हो।आफ्ना नागरिकको मानमर्दन गरेर बिदेशी नागरिकलाई अनुकुल हुने कानुन बनाउन सक्दैन र हुदैन पनि।

बिवाह पछि तुरुन्त श्रीमतीको नागरिता चाहिनेहरुको लागि नेपाली युवती बिबाह गर्ने अवसर बाट नेपाली युवाहरु बन्चित छैनन्। यावत समस्याहरु जान्दाजान्दै पनि बिदेशी नागरिक बिवाह गर्न किन उत्साहित छन नेपाली युवा हरु? नेपाली युवतिहरुमा के कमि छ जस्ले नेपाली युवा हरुलाइ बिदेशी युवती बिवाह गर्न प्रेरित गरेको छ? नेपाल नागरिकता ऐन २०६३ संसोधनको बिरोध गरि रहदा उल्लेखित सवालको जवाफ कस्ले दिने। जस्ले नेपाली युवती बिवाह गर्दा आफ्नो अपमान भएको ठान्दछ, हो त्यसैलाइ यो नागरिकता सम्बन्धि प्रवधानले असर गर्दछ।जुन समाजले नारीलाई नागरिक हैन दाइजोको पोको मात्र ठानेको छ, हो त्यही समाजलाई यो कानुन असहज छ।

बंशजका आधारमा नेपाली नागरिकलाइ नागरिकता दिँदा पनि राज्यले आफ्ना खालको  विधि र प्रकृया पूरा गरेर मात्र १६ बर्ष पछि नेपाली नागरिकता दिने चलन छ। बैबाहिक अंगिकृत नागरिकताको सवालमा नेपाली नागरिकता ऐन २०६३ को दफा ५ मा भएको बैबाहिक अंगिकृत नागरिकता प्राप्त गर्ने  सम्बन्धी व्यवस्थाले नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध भएकी विदेशी महिलाले नेपालको नागरिकता प्राप्त गर्न चाहेमा तोकिएको अधिकारी समक्ष तोकिएको ढाँचामा निवेदन दिनु पर्नेछ ।

त्यसरी निवेदन दिँदा नेपाली नागरिकसँग भएको वैवाहिक सम्बन्धको र आफुले विदेशी नागरिकता त्याग्ने कारबाही चलाएको निस्सा पनि साथै पेश गर्नु पर्नेछ। भन्ने मौजुदा व्यवस्थामा बिवाह भएको मितिले समयावधि ७ वर्ष कायम गर्न लागिएको हो। यो अन्तर्राष्ट्रिय प्रचलन् लाई समेत आधार मान्दा आतिनु पर्ने आवस्यक्ता छैन।यो लेख मार्फत राज्यको हितलाई सर्वपरी राखेर गरिने मागलाइ वाधा पुर्याउन खोजिएको हैन। यो लेखमा उठान गर्न खोजिएको विषय मात्र सम्मानित नागरिक सहितको नेपाली नागरिकता हो।

      छोरी जन्माउनु भनेको बिपत निम्त्याउनु हो भनेर मात्र बुझ्ने हाम्रो समाजले पहिला नारिलाई बिपत निम्त्याउने साधन हैन सृष्टिको संरक्षक हो भनेर स्वीकार गर्न सक्नु पर्दछ। हाम्रो समाजमा नारिलाई भोग बिलासको साधन मात्र ठानेर विभिन्न बहानामा अपमानित गर्दै आत्महत्या गर्न बाध्य पारिन्छ। जुन समाजमा दाईजोको नाममा महिला हरुलाई जिवितै आगो सल्काइन्छ। जुन समाजमा महिलालाई कथित बोक्सी भनिन्छ र आफूलाई सभ्य भन्ने समाज बाट नै प्रताडित गरिन्छ।

जुन समाजमा बाबुले दिएको युवक सँग बिवाह गर्न युवती बाध्य हुनुपर्दछ , युवतिले बाबु आमाले दिएको युबक सँग बिवाह नगर्दा दाइजोको रकम त गयो नै उल्टै युवतिको बाबुले युबकको परिवारलाइ जरिवाना तिराउने समाजमा छोरिका बाबू आमाहरुले आर्थिक भार थेग्न नसकेर आत्माहत्या गरेको कारुणिक दृश्य टुलु टुलु हेर्नुसिवाय केही गर्न सकिएको छैन। आज भोलि बिवाह सामाजिक उत्सव बाट आर्थिक लेनदेनको थलोको रुपमा रुपान्तरित भएको छ। दाइजो माग्नुलाई आफ्नो अधिकार संझने युवाहरुले हाम्रो समाजलाई कता लागि रहेका छन। राज्यले निषेध गरेको दाइजो प्रथालाई मलजल गर्न लागि परेको हाम्रो समाजको बैवाहिक अंगिकृत नागरिकताको भित्र लुकेको गाँठो कुरा के हो?

अब हाम्रो समाजमा नारी भन्दा ठूलो  नागरिकता हैन भन्ने मान्यता स्थापित हुन जरुरी छ । हामिलाइ चाहिएको नागरिकता भन्दा पहिला नारी हो। जुन घर र समाजमा नारिलाइ जन्मने अधिकार सम्म छैन, तिनै घर र समाजमा विदेशी नारीको अंगिकृत नागरिकताको लागि किन यति धेरै रुवाबासि? हाम्रो समाजका नारी हरुले आफुलाइ दाइजोको पोको हो कि नारी शक्ति हो भन्ने फरक छुट्याउन सक्ने अबस्थाको सृजना कहिले हुने? हालको रोइ कराइ बुहारिको नागरिकताको लागि मात्र हो कि दाइजोमा आउने विदेशी रकमको लागि पनि हो?

जुन भूमिमा नारिको अपमान हुन्छ  त्यही भूमिमा नारिको नागरिकताको लागि आन्दोलको के काम? पहिले नारिलाइ सम्मान दिन सिकौँ अनि नागरिकता। पहिले नारिलाइ जन्मको अधिकार दिउँ अनि नागरिकताको। पहिले नारिलाइ सम्मान दिउँ अनि पहिचान। जुन समाजमा नारिको सम्मान हुन्न त्यो  समाजमा अरु कुराको के अर्थ? नेपाली समाजमा मौलाउँदै गएको दाइजो प्रथाले घर घरमा लैंगिक विभेद जन्माएको छ। घर घरमा महिला हिंसा बढाएको छ। के ठूलो के सानो, के धनी के गरिव, को पढालेखा भएको को अनपढ, सबैमा हाक्का हाक्की दाइजोको नाममा सरकारी नाकै नजिक  मोलमोलाइ हुन्छ मानिसको।

मानवताको नामो निशाना मेटाएर हुने यस्ता खाले मोल मोलाइले हाम्रो समाजको कति हित होला?  सरकार हाम्रो मूलूकमा सामाजिक चेतना सहितको नागरिक उत्पादनमा जोड  देउ र नेपाली नारिकता देउ।अबको हाम्रो माग भनेको पहिला हाम्रै घर गाउँ टोल छर छिमेकमा नारिलाइ सम्मान सहितको नागरिक हुनेअधिकार दिन जरुरी छ अनि मात्र नेपाली नागरिक हुने अधिकार। नागरिक मन मनको आवाज बुलन्द गरौँ । कुनै विदेशिले नेपाली नागरिकता नपाओस, कुनै पनि नेपाली नागरिकले नागरिकता बाट बन्चित हुन नपरोस्।