अवैध लागूऔषध सहित तीन जना पक्राउ

असार १८

बाँके । छुट्टा छुटै दुईस्थानबाट लागु औषधसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत उत्तर प्रदेश बहराईच थाना रुपैडिहा बस्ने २५ वर्षीय मुन्ताज अहिमद सिद्धिकी रहेका छन् । उनलाई गएको बुधबार दिउँसो बाँकेको नेपालगंज उपमहानगरपालिका-१५ पिपरहवाबाट अवैध प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनको साथबाट लागूऔषध ब्राउनसुगर करिब २४ ग्राम बरामत भएको छ । ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले लुकाई छिपाई ल्याउदै गरेको उक्त परिमाणको लागूऔषधसहित उनलाई पक्राउ गरेको हो ।

यसैगरी नेपालगंज उपमहानगरपालिका-१० ट्राफिकचोकबाट नियन्त्रित लागूऔषध १ सय एम एलको ११ सिसि कोरेक्स सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही उपमहानगरपालिका-८ बस्ने २३ बर्षीय राजु राई र सोही उपमहानगरपालिका-११ बस्ने ३० वर्षीय अखिल अहमद जसगड रहेका छन् । जमुनाहबाट नेपालगंजतर्फ आउँदै गरेको भे.३ प ३४१२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

घटनाबारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।