बाटो विस्तारले ढलेका रुखहरुको व्यवस्थापन अलपत्र, D.F.O.भन्छन् सडकले नै व्यवस्थापन गर्नुपर्छ (भिडियो सहित)

असार १८, जनता भ्वाइस संवाददाता, रामेछाप
रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका वडा नं. ४ पकरवासमा रहेको सल्लेनी सामुदायिक वनमा सडक कालोपत्रे गर्नका लागि विस्तार गर्ने प्रयोजनका कारण त्यहाँको सल्लाका रुखहरु बेवारिसे भएका छन् । सडक विस्तार तथा कालोपत्रे गर्नको लागि चौडा गर्दा सडक वरपर भएका ठूलाठूला रुखहरु ढालिएको थियो । तर रुख ढालिएको करिब २ वर्ष हुँदा पनि ढलेका रुखहरुको व्यवस्थापनको लागि न सडकले चासो दिएको छ, न त सम्बन्धीत सामुदायिक वन उपभोक्ता समूहले नै ।
देशैभरिका अधिकाँश राष्ट्रिय वनहरुलाई सामुदायिक वनको अवधारणा बनाई नेपाल सरकारले संरक्षण, संवद्धन र सदुपयोग गर्ने प्रयोजनले समुदायस्तरमा उपभोक्ता समूह बनाई हस्तान्तरण गरेको निकै करिब साँढे ३ दशक भन्दा बढी सयम भइसकेको छ ।

हिजो अर्थात् सामुदायिक वनको अवधारणा आउनु भन्दा पहिले जति आफूले उपभोग गर्ने वनहरु प्रति उपभोक्ताहरुको चासो थियो, पछि सामुदायिक वनको अवधारणा आएपछि समुदायस्तरमा आप्का धन की बाप्का धन भन्ने जस्तो लापर्वाही भएको छ ।
समाजको अलि धुर्त र बाठोटाठो व्यक्ति सामुदायिक वनको अध्यक्ष बन्ने र आफ्नो मनोमानी सामुदायिक वनको आर्थिक पाटोलाई हिनामिना गर्ने गरेको तथ्य अब कसैका सामु पनि लुकाउनु पर्दैन । एक गिलास लोकल खोयाबिर्के या दुई चार सय पाएको भरमा सामुदायिक वनका वन पैदावारको सहज पूर्जी दिने परिपाटीका कारण यस्ता सामुदायिक वनहरु विनाशको संघारमा पुगेका छन् ।


खाँडादेवी गाउँपालिकाको यो वनमा पनि यस्तै परिदृष्य देखिएको छ । राज्य पुर्नसंरचना पछि आएको विखण्डनको चपेटामा परेको हिजोको जिल्ला वन कार्यालय डिभिजन वन कार्यालयको रुपमा देखिएपछि त झनै यस्ता सामुदायिक वनहरुमा मनोमानीको श्रृङ्खला बढ्न थालेको हो ।
यहाँहरुले भिडियोमा हेर्दै हुनुहुन्छ, यहाँ सल्ला प्रजातिका धेरै रुखहरु लडाइएको छ । यो सामुदायिक वनका अध्यक्ष हुन् शान्तीप्रदास पौडेल । उनी हामीले यो विषयमा जिज्ञासा राख्दा कहिल्यै पनि सम्पर्कमा आएनन् । पटक पटक फोन गर्दा फोन काट्ने र सम्पर्कमा आउन नचाहेको अवस्थालाई मूल्याङ्कन गरेर हामीले सहजै के अनुमान लगायौं भने उनी समाजको यस प्रकारको वनजन्य सम्पत्ति प्रति कुनै रुपमा पनि जिम्मेवार छैनन् ।


यी ढलेका रुखहरु वन क्षेत्रबाट जेठ महिनाको १५ गतेसम्म निकाली सक्नु पर्छ र वन क्षेत्रबाट निष्चित दूरीमा घाटगद्दी गर्नुपर्छ । तर यहाँ त २ वर्ष भन्दा बढी समय भइसक्दा पनि यी ढलेका रुखहरुको व्यवस्थापन हुन नसक्नुले सामुदायिक वन मात्रै होइन, यो वन क्षेत्रमा रहेको सब डिभिजन वन कार्यालय र स्वयं डिभिजन वन कार्यालय समेत यो विषयमा नाङ्गो नाच नाचिरहेको छ । अनुमानित ३ हजार क्युविक फिट भन्दा बढी सल्लाप्रजातिका काठ बेवारिसे अवस्थामा वनमा नै कुहिने अवस्थामा पुगेका छन् ।


मन्थली–गाल्पा सडक खण्डामा पर्ने यो सल्लेनी सामुदायिक वनमा सडक विस्तार गर्न विभिन्न ठेकेदारहरुले ठेक्का पारेका छन् । आफूले सडक विस्तार गर्दा १ रुखमा क्षति पुर्यायो भने त्यसको बदलामा १० वटा विरुवा रोप्नु पर्छ भन्ने वन सम्बन्धी कानुनले बोलेको छ भन्ने कुरा यी ठिकेदार महाशयहरु कस्सैलाई पनि ज्ञान छैन । ज्ञान हुनुपर्ने सम्बन्धीत सामुदायिक वनका अध्यक्ष नेतागिरी र ठूला ठूला गफ चुट्दै हिँड्नमा व्यस्त छन् । यी काठहरुलाई मन्थली तथा काठमाडौंमा लगेर नियमानुसार बेच्ने हो भने पनि निकै मोटो रकम समूहको कोषमा आउने पक्का छ तर उल्फाका धन फूपुको सराद्दे भन्ने उखान यो सामुदायिक वनको कार्यशैलीमा प्रष्ट देखिएको छ ।

समुदायस्तरमा फाइदा हुने देखिएपछि न त सामुदायिक वनका अध्यक्ष यो कुरामा गम्भिर छन् न त स्थानीय उपभोक्ताहरु नै । यहाँ कसैलाई पनि यी रुखहरुको बारेमा मतलब भएको देखिएको छैन । उपभोक्ता समूहको खातामा सिधा रकम पर्नेभए विभिन्न हतकण्ठा मच्चाई बिल भरपाइ बनाएर सामुदायिक वनका अध्यक्ष महाशय त्यो रकमको दुरुपयोग गर्न पछि पर्दैनथे । यहाँ त रुखको जिनिशै त्यत्तिकै छ, उनलाई के मतलब यो विषयमा ।


यो सामुदायिक वनको क्षेत्रमा लडेका रुखहरुको व्यवस्थापन कस्को जिम्माको विषय हो डिएफओ साब् भनेर हामीले डिभिजन वन कार्यालयका डिभिजन वन अधिकृत कृष्ण न्यौपानेलाई सोधेका थियौं । उनले भने त्यो मेरो पालामा भएको घटना होइन । सडक विस्तारको जिम्मा जसले लिएको हो, ती रुखहरुको व्यवस्थापनको जिम्मा पनि उसैले लिनुपर्छ ।
डिएफओ साब्को यो भनाइले समुदायस्तरका सामुदायिक वनहरुको जिम्मेवारी लिने र नियमन गर्ने विषयमा झन गैरजिम्मेवारीपना देखिएको छ ।