अवैध लागूऔषध सहित ६ जना पक्राउ,ठूलो परिमाणमा लागूऔषध बरामत

असार २३,

काठमाडौं । देशमा विभिन्न ठाउँबाट अवैध लागूऔषध सहित ६ जना पक्राउ परेका छन् । उनीहरुले अवैध लागूऔषधको कोरोबार गरेको, लुकिछिपी ओसारपसार गरेको भेटिएकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा सप्तरीको बोदेबर्साई नगरपालिका-९ देउरी सिमराहाबाट २ जना, सिरहाको सखुवानान्कारकट्टी गाउँपालिका-३ महदेवाका १ जना र पर्साको वीरगंज महानगरपालिका-१९ बरवा टोलबाट १ जना रहेका छन् ।

सिमराहाबाट नियन्त्रित लागूऔषध नाईट्रोभेट-१० ट्याब्लेट १ पाता सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा शम्भुनाथ नगरपालिका-१२ बस्ने २३ को सतिस साह र २० वर्षीय अतोश साह रहेका छन् । प्रहरी चौकी देउरीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आईरहेको स. ८ प २५३२ नम्बरको मोटरसाइकल जाँच गर्दा मोटरसाइकलमा सवार सतिसको साथमा उक्त लागूऔषध फेला पारी मोटरसाइकल चालक अतोशलाई समेत पक्राउ गरेको हो ।

सिरहाबाट २८ वर्षीय कृष्णदेव यादवलाई नियन्त्रित लागूऔषध डाईलेक्स डिसी १ सय एमएलको ४७ थान सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बरियारपट्टी गाउँपालिका-१ बडहरीमा भारतबाट टाउकोमा बोरा बोकी नेपालतर्फ आउँदै गरेको अवस्थामा प्रहरी चौकी कचनरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

त्यस्तै पर्साबाट लागूऔषध कोरेक्स १ सय २० थान सहित बारा बिश्रामपुर गाउँपालिका-५ नकटुवा बस्ने ४५ वर्षीय बीरेन्द्र कुमार लगायत ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ०५ एन ८१८५ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । 

यसैगरी पर्सा ठोरी गाउँपालिका-४ मालिबस्तिबाट अवैध लागूऔषध गाँजा करिब ५ केजी सोमबार राति प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय ठोरीबाट मोटरसाइकल गस्तीमा गएको प्रहरीलाई देख्नासाथ एक अपरिचित व्यक्ति बोरा फालेर फरार भए पश्चात् बोरामा पलाष्टिकमा बेरीएको अवस्थामा उक्त लागूऔषध फेला परेको हो ।

घटना बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ। file Photo