मन पर्यो त पर्यो केको जात केको धर्म ?प्रेममा कसले बेद् पढ्छ र ?(भिडियो सहित)


असार २६ । जनता भ्वाइस संवाददाता रामेछाप
जातजाति, वंश समुदाय वा पेसाका आधारमा गरिने भेदभाव वा छुवाछुत हाम्रो समाजमा लामो समयदेखि वंशाणुगत रूपमा चलिरहेको छ । परापूर्व कालदेखि नै कामको आधारमा माथिल्लो जात र तल्लो जात भनेर वर्गीकरण गरिएको थियो । काटे रगत सबैको रातै आउँछ मान्छे एउटै हुन् भन्ने जनचेतनाको कमीका कारण हाम्रो नेपाली समाजमा अझै पनि जातीय छुवाछुतले जडो गाडेर बसेको छ । माथिल्लो जात वा वर्गले तल्लो जातका व्यक्ति र समुदायलाई अझै पनि हेप्ने र गाली गलौज गर्ने चलन छ । यसलाई उन्मूलन गर्नका लागि सबैमा जनचेतना जगाउन जरुरी छ ।


विगतका दिनहरुमा दलितहरुलाई मान्छेकै व्यवहार नगर्ने गैर दलित भनाउदाहरुको व्यवहार निकै मौलाएको थियो । त्यो समयमा दलितहरुलाई झन अन्तर जातीय विवाह गर्ने भनेको त निकै नै असम्भव कुरा हो । यस्तो अवस्थामा पनि २०५१ सालको समयमा रामेछापको रामपुरमा ज्ञानबहादुर रसाइली र देवकुमारीले अन्तरजातीय विवाह गरे । देवकुमारी स्थानीय सुनुवार जातिकी छोरी थिइन् भने ज्ञानबहादुर पनि स्थानीय नै । तर उनी जातमा देवकुमारी भन्दा माथि थिएनन् । उनी थिए कथित समाजले बिल्ला भिराउने गरेको दलित समुदायका प्रेमका पारखी ।


मायाको अघि कसको के लाग्दो रहेछ र ? एउटै गाउँका तरुना तन्नेरी भएपछि मेलापात, घाँस दाउरा, देउराली चौतारी गर्दागर्दै दुबैको मन एकर्कामा टमक्कै मिल्यो र एकर्कामा अलग्गिनै चाहेन । फलस्वरुप आजभन्दा २७ वर्ष अघि उनीहरुले यो समाजको जातीय परम्परा र मान्यतालाई चुनौति दिँदै विवाह गरे । आज ३ सन्तानका अभिभावक भएका ज्ञानबहादुर र देवकुमारीसँग सबै थोक छ । दुई दम्पती बिचको माया, समाजको उचित सम्मान, रहरलाग्दो घरव्यवहार । झन सन्तानका ठाउँमा २ छोरी र १ छोराले उनीहरुको जीवनलाई वसन्तमय बनाइदिएको छ ।


गत असार २४ गते रामेछाप नगरपालिका वडा नं. ५ वडा कार्यालयले गरेको जातीय छुवाछुत मुक्त वडा प्रोत्साहन कार्यक्रममा अन्तरजातीय विवाह गर्ने २ जोडी दलितहरुलाई सम्मान गरिएको थियो । यिनै सम्मान पाउने मध्येका एक जोडी हुन् ज्ञानबहादुर र देवकुमारी रसाइली ।
उनीहरुका जीवनका विविध आरोह अवरोहहरु समेटेर हामीले छोटो कुराकानी गरेका थियौं ।
ज्ञानबहादुर र देवकुमारी जस्तै रामपुरमै अर्का १ जोडिलाई समेत जातीय छुवाछुत मुक्त वडा प्रोत्साहन कार्यक्रममा ५ नं. वडा कार्यालयले सम्मान गरेको थियो । विष्णुहरि रिसाल र देविका रिसाल रामपुरकै बासिन्द हुन् ।


करिब ३ वर्ष अघि विष्णुहरि र देविका बिच गहिरो माया बस्यो । रोजगारीको सिलसिलामा देविका काठमाडौंमा रहेकी थिइन् भने विष्णुहरि विदेशबाट ठाँटिएर नेपाल फर्केका युवा थिए । आँखा आँखा जुध्यो माया बस्यो । मायाको अघि यी दुई मनको केही लागेन । दुबैले दुबैको मन छामे मुटु पहिल्याए, आफू अट्ने ठाउँ पाए र सुन्दर घर बनाए । तर देविकाको घरमा विष्णुहरिले आफू नेवार जातिको हूँ भनेर ढाँटेका थिए । ढाँटेको काटेर कहाँ मिल्थ्यो र ? अन्त्यमा उनको असली जात खुल्यो तर देविकाको परिवारले त्यसलाई कुनै आपत्ति मानेन । ज्वाँइ स्वीकार्यो ।


रौतहटकी तामाङ समुदायकी चेली देविका यतिबेला आफू दलितसँग विवाह गरेकामा केही पछुताएको बताउँछिन् । घरमा जोइपोई बिचमा कहिलेकाँही ठाकठुक पर्दा चाहिँ उनलाई आफूले दलितसँग विवाह गरेकोमा पछुतो लाग्दो रहेछ । तर उनले त्यसलाई सहजताका साथ स्वीकारेकी छिन् । यी दुईको प्रेमको निशानी स्वरुप छोरीले झन यिनीहरुको घर संसारलाई सुरम्य बनाइदिएकी छिन् ।


समाजमा एकादुईले जातीय विभेदको पर्दा च्यातेर अन्तरजातीय विवाह गरेपनि अझै सम्म गैर दलित र दलित तथा दलित दलित बिचमा नै जातीय छुवाछुत कायमै छ । जातीय छुवाछुत अन्त्य गर्नका लागि पहिला त अशिक्षित व्यक्तिहरूलाई शिक्षित बनाउन जरुरी छ । मान्छेमा जबसम्म चेतना र शिक्षाको कमी हुन्छ तबसम्म छुवाछुतको अन्त्य गर्न सकिदैंन । व्यक्तिहरूमा चेतना फैलाउन समय–समयमा सचेतनामूलक कार्यक्रमहरू गर्न सकेको खण्डमा जातीय छुवाछुत अन्त्य गर्न सकिन्छ । मान्छे मान्छे बीचको यो भेदभावलाई अन्त्य गर्नका लागि पहिला व्यक्तिको सोच परिवर्तन गर्न जरुरी छ । बाहुन होस् वा क्षेत्री वैश्य होस् वा शुद्र सबै जाति र धर्मावलम्बीहरूमा रहेको विभेदको खाडललाई अब पूर्णको लागि दलित तथा गैरदलितहरू एकजुट भएर लाग्न जरुरी छ ।