सम्झनामा आदिकवि

नेपाली भाषा साहित्यका सदास्मरणीय प्रतिभा भानुभक्त आचार्यको २०७ औँ जन्म दिवस आज देश विदेशमा रहेका नेपाली भाषीहरुले विशेष कार्यक्रमका साथ मनाउँदै छन् । वि.सं.१८७१ मा गण्डकी अञ्चल तनहुँ जिल्लाको रम्घामा जन्मेका भानुभक्त धनञ्जय आचार्य र धर्मावती देवीका छोरा हुन् । वनारसमा बसेर संस्कृत साहित्यको अध्ययन गरेका भानुभक्त पूर्वीय संस्कार र धार्मिक चिन्तनको सेरोफेरोमा हुर्केका हुन् र उनको सृजनात्मक चिन्तन पनि मूलतः पौरस्त्य दर्शनकै दार्शनिक मान्यतामा केन्द्रित भएको छ ।

तीर्थराज जोशी

भानुभक्तको लेखनमा अध्यात्मवादी जीवन दर्शन ओतप्रोत भएको छ । नैतिक, औपदेशिक शिक्षा सम्प्रेषण गर्ने उनका रचनाहरुमा जीवनलाई आलोकित पार्ने सुन्दर विचार, चेतना र भावनाको त्रिवेणी छ । आत्मा, परमात्मा, मोक्ष जस्ता पूर्वीय दार्शनिक मान्यताहरु, समाज सेवा, पर हित, लोक कल्याणका कुराहरु, व्यङ्ग्य चेतना तथा परिवर्तनगामी चिन्तन अनि उपदेशमूलक जीवन दर्शन तथा नीति चेतना प्रकट भएका उनका कृतिहरु अमूल्य सम्पत्तिका रुपमा रहेका छन् । छन्दवादी कवि भानुभक्तको कवितात्मक योगदान सदास्मरणीय रहेको छ ।

दुई शताब्दी अघिको नेपाली समाज, नेपाली संस्कृति र नेपाली भाषालाई प्रतिबिम्बित

भक्तमाला, प्रश्नोत्तर, रामगीता, बधुशिक्षा लेखेर नेपाली वाङ्मयमा देदीप्यमान कविको लोकप्रिय कृति रामायणले दुई शताब्दी अघिको नेपाली समाज, नेपाली संस्कृति र नेपाली भाषालाई प्रतिबिम्बित गरेको छ । रामकथालाई नेपाली जनजीवन र सांस्कृतिक मूल्यमान्यताअनुरुप प्रस्तुत गरेका कविको लेखनीले नेपाली पनलाई झल्काएको छ । रामायण केवल साहित्यिक कृतिका रुपमा मात्र देखा नपरी नेपाली समाज र भाषाको महत्वपूर्ण दस्तावेजको रुपमा रहेको छ अनि भानुभक्त एउटा सशक्त कवि त हुँदै हुन् अर्कोतर्फ उनी नेपाली भाषाका एकीकरणकर्ताका रुपमा पनि सम्बोधित हुने गरेका छन् ।

नेपाली समाज, नेपाली संस्कृति र नेपाली मनको प्रतिबिम्ब भानुभक्तीय रामायण सबै नेपालीका लागि साझा सम्पत्ति

काल विभाजनका हिसावले हेर्दा चर्चित प्रतिभा कवि आचार्य नेपाली साहित्यको प्राथमिक कालका कवि हुन् । वीर धारा र भक्ति धारा गरी दुई भागमा विभक्त गरिएको प्राथमिक कालको भक्ति धारा र त्यसमा पनि राम भक्ति धाराका सशक्त प्रतिभाका रुपमा देखिएका भानुभक्तको काव्यिक चेतनाले नेपाली भाषा साहित्यमा महानतम् उपलब्धि प्राप्त भएको छ । नेपाली समाज, नेपाली संस्कृति र नेपाली मनको प्रतिबिम्ब भानुभक्तीय रामायण सबै नेपालीका लागि साझा सम्पत्ति बनेको छ । संस्कृत भाषाको आधिपत्य कायम रहेका बखत नेपाली भाषा साहित्यको गुञ्जायमान ध्वनि सहित भाषिक एकताको विगुल फुकेका भानुको योगदान अनुपम रहेको छ । विराट र विशाल नेपालका महाजाति नेपालीको मन मष्तिष्कलाई नेपाली भाषाका माध्यमबाट जोड्ने कुशल शिल्पीकारको अतुलनीय योगदान नेपाली भाषा साहित्यमा जीवित छ ।

वि.सं. १९४८ मा उनलाई आदिकविको उपाधिले विभूषित गरियो । भानुभक्तको जीवनी प्रकाशमा ल्याउने र उनलाई आदिकविको संज्ञा दिने काम मोतीरामले गरे । साहित्यिक क्षेत्रका विलक्षण प्रतिभा भानुभक्त राष्टिय विभूति हुन् । नेपाली जातिका श्रद्धेय व्यक्तित्व यिनको उल्लेख्य योगदानको कदरका लागि भानु जयन्तीमा विशेष कार्यक्रमसहित संस्मरण गर्न भनेर केवल औपचारिकता पूरा गर्ने र भानुको नाम लिएर आफू चर्चा कमाउने मेलोमा नलागी हामी सम्पूर्ण नेपालीहरुको पहिचान नेपाली भाषाप्रतिको गौरवलाई घट्न घटाउन दिनु हुँदैन ।

नेपाली मानसिकतामा प्रकाशमान कविको सालिक फाल्ने ध्वंसात्मक चरित्र र तोडफोडको मानसिकताले उनको जीवन चरित्र

नेपाली भाषा र साहित्यप्रतिको सम्मानजनक विचार र व्यवहार भानुप्रतिको सच्चा श्रद्धाञ्जली हो । हामीभित्रको देखावटी र बनावटी चरित्रले उपलब्धिभन्दा पनि उपहासको.कुरालाई मलजल नगरोस् । एकताका प्रतीक पृथ्वीनारायणको सालिकमा अबिर मालाले सिँगार्ने तर एकता र समताको राजनीतिक चेतना विकास नगर्ने, शहीदको सालिकमा फूलको भारि बिसाउने तर शहीदको सपनामा लात बजार्ने, गमलामा धान रोपेर कृषि क्रान्तिको नारा घन्काउने, भाषणमा दिनभर भ्रष्टाचारको निन्दा गर्ने तर स्वयम् यसमा लिप्त रहने जस्ता प्रवृत्तिको बोलवाला रहेको हाम्रो समाजमा भानुको सालिकमा माला चढाउने तर आफ्नै भाषा संस्कृतिको निन्दामा रमाउनेहरु अग्रसर नहोलान् भन्न सकिन्न । भाषालाई केवल बोलीचालीको माध्यमका रुपमा मात्र नलिई यसले हाम्रो मन र माटोलाई जोडेको कुरा बिर्सनु हुँदैन ।

सञ्चारका हिसाबले र सूचना प्रवाहका दृष्टिले त संसारका सबै भाषा जान्नु राम्रो हो तर हाम्रो भाषासँग हाम्रो अस्तित्व र संस्कारसमेत जोडिएर रहेको हुन्छ । यसको संरक्षण नभए हाम्रो भाषिक अस्तित्व धराशायी बन्न पुग्छ । तसर्थ पर पहिचानमा गर्व गर्दै आफ्नो भाषाको उपहास गर्ने मानसिकताबाट टाढा रहनु जरुरी छ । कहिले भानुभक्तको आदिकवित्वमाथि प्रश्न उठाउने ,कहिले उनको सालिक उडाउनेजस्ता विध्वंसकारी चरित्रले अनौठो प्रवृत्ति मौलाउन थालेको देखिन्छ । नेपाली मानसिकतामा प्रकाशमान कविको सालिक फाल्ने ध्वंसात्मक चरित्र र तोडफोडको मानसिकताले उनको जीवन चरित्र र योगदानको मूल्य अनि महत्तालाई भने घटाउन सक्दैन ।

तिर्थराज जोशी ,

            एल.आर.आई स्कुल, कलंकी, काठमाडौँ