३९ पुग्यो कोरोना संक्रमणले ज्यान गुमाउनेको संख्या : थप एकको मृत्यु

असार ३१

रामेछाप । बितेको २४ घण्टामा थप एक जनाको कोरोना संक्रमितको मृत्यु भएको पुष्टि भएको छ । यो संगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्व गौतमले रौतहटका एक ३६ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको बताए । रौतहटको पर्रोहा नगरपालिका- ७ का ३६ वर्षका पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए । वीरगञ्जको नारायणी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिएका उनको बुधबार दिउँसो साढे २ बजे मृत्यु भएको हो । यो सँगै कोरोना संक्रमणका कारण नेपालमा मृत्यु हुनेको संख्या ३९ पुगेको छ ।

ती युवकका दाजुको कोरोना सं‌क्रमणका कारण भारतमा मृत्यु भएको थियो । युवकसहित परिवारका अन्य सदस्य हालै भारतमा दाजुको अन्त्येष्टिमा सहभागी भएर फर्किएका थिए ।

नेपाल आएर क्वारेन्टिनमा बसेकै बेला युवकमा रुघाखोकी, ज्वरो र स्वासप्रश्वासमा समस्या भएपछि असार २९ गते नारायणी अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो ।

उनको स्वाब संकलन गरेर परीक्षणका लागि हेटौंडास्थित प्रयोगशालामा पठाइएको थियो । उनमा बुधबार नै कोरोना संक्रमण पुष्टि भएको हो । file Photo