लोकतन्त्र नभने हुन्न र ?

कविता,तीर्थराज जोशी

कुटपिट गरी राख्छौ कूटतन्त्र भने भयो ।
गुट मात्रै बुनी बस्छौ गुटतन्त्र भने भयो ।।

चुट्नलाई सिपालु छौ चुटतन्त्र भने भयो ।
जे गर्दा नि छुटेकै छौ छुटतन्त्र भने भयो ।।

जाली,भ्रष्ट जुटेका छौ जुटतन्त्र भने भयो ।
साँचो बोल्न नसक्नेले झुटतन्त्र भने भयो ।।

मिल्न कैल्यै नसक्नेले फुटतन्त्र भने भयो ।
बुट मात्रै बजार्नेले बुटतन्त्र भने भयो ।।

जनतालाई भुटेका छौ भुटतन्त्र भने भयो ।
लुटपाट छ सत्तामै लुटतन्त्र भने भयो ।।