अस्ताए बर्मन बुढा, पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान

७ साउन, काठमाडौं । रोल्पाको थवाङ घर भएका पुराना कम्युनिष्ट नेता बर्मन बुढाको निधन भएको छ । ललितपुरको पाटन अस्पतालमा विगत एक वर्षदेखि आन्द्राको क्यान्सरको उपचार गराईरहेका उनको बुधबार बिहान ९० वर्षको उमेरमा निधन भएको हो ।

२०४८ सालमा जनमोर्चाका विजयी ९ सांसदहरुमध्ये एकजना बर्मन बुढा थिए । त्यतिबेला संसदमा जनमोर्चाको नेतृत्व कृष्णबहादुर महराले गरेका थिए ।

तत्कालीन नेकपा (माओवादी)को जनयुद्धमा समेत होमिएका बर्मन बुढा माओवादी पार्टीमा आएको विभाजनप्रति असन्तुष्ट थिए ।

उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले बर्मन बुढाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान गरेका छन् । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिएका छन् ।अन्तिम श्रद्धाञ्जली दिन नेकपाका उल्लेख्य नेता कार्यकर्ता पशुपति आर्यघाट पुगेका थिए ।