ओली–देउवा भेटघाट, के छलफल भयो त भेटमा ?

साउन ९, काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेका छन् ।


बिहीबार दिउँसो बालुवाटार पुगेका देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लकडाउन अन्त्य भएको अवस्थामा कोरोना नियन्त्रणका लागि रणनीति बनाउन आग्रह गरेका हुन् ।

१ सय २० दिने लकडाउनलाई सरकारले मंगलबार रातिदेखि अन्त्य भएको घोषणा गरेको थियो । यस्तो घोषणा गरेपनि कोरोना संक्रमित कम भएका छैनन् ।

सभापति देउवाले प्रधानमन्त्रीलाई भेटेर कोरोना नियन्त्रणका लागि रणनीति बनाउन र बाँढी पहिरोका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।


कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले भने ‘कोरोना संक्रमित को संख्या २० हजार पुग्न लागेको र ४३ जनाको मृत्यु भइसकेको अवस्थामा चुनौति सामना गर्न नयाँ र विशेष रणनीति अपनाउनु पर्ने देउवाको भनाइ छ ।’ कोरोना संक्रमितहरुलाई पिसिआर विधिबाट परीक्षणको दायरा वृद्धि गर्न पनि प्रधानमन्त्री ओलीसँग आग्रह गरेको पौडेलले जानकारी दिएका छन् ।

विदेशमा रोजगारीको गुमाएर अलपत्र भएका नेपालीहरुलाई उद्धार गर्न सभापति देउवाले प्रधानमन्त्रीको ध्यानाकर्षण पनि गराएका थिए ।