नारायणगढ–मुग्लिन सडकखण्डमा फेरि पहिरो

पछिल्ला केही दिन यता वर्षाको कारणले सडकहरुमा पहिरो खस्ने क्रम जारी छ । यस्तै नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका वडा नम्बर ६को चार किलोमा आज बिहान फेरि पहिरो खसेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गएराति खसेको पहिरो पन्छाएर एकतर्फी सवारी सञ्चालन भएको केही समयमा नै फेरि पहिरो खसेर सडक अवरुद्ध भएको हो ।

निरन्तरको वर्षाका कारण पहिरो खस्ने क्रम जारी रहेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए । ‘पहिरो ठूलो भएकोले कतिखेर पन्छाएर सकिन्छ भन्न सकिन्न ।’ सोही स्थानमा गत सोमबार पनि पहिरो खसेको थियो । सो पहिलो ३६ घण्टा लामो समय लगाएर पन्छाइएकोे भएपनि फेरि पहिरो खसेको कारण दुईतर्फी सडक अवरुद्ध भएको हो ।